२६ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

एचआइभी संक्रमितमाथि गरिने भेदभावमा व्यापक सुधार

ललितपुरको जाउलाखेलमा बिहीबार एचआइभी एड्सविरुद्ध निकालिएको जनचेतनामूलक र्‍याली। तस्बिर: विजय राई/नागरिक

एचआइभी संक्रमितलाई गरिने भेदभावमा उल्लेख्य सुधार आएको एक अध्ययन प्रतिवेदनले देखाएकोछ। ३५औं विश्व एड्स दिवसको अवसरमा बिहीबार सार्वजनिक प्रतिवेदनका अनुसार एचआइभी संक्रमितलाई सन् २०११ मा घरबाहिर लगाइने लाञ्छना र गरिने भेदभाव ४९.७ प्रतिशत रहेकोमा २०२२ मा आइपुग्दा यस्तो व्यवहारमा सुधार निकै सुधार आएको छ। अहिले उनीहरूप्रति लगाइने लाञ्छना र गरिन भेदभाव ९.५ प्रतिशतमा झरेको छ।  

एचआइभी संक्रमितहरूमा स्टिग्मा इन्डेक्स (लाञ्छना सूचक) को दोस्रो प्रतिवेदन अनुसार विगतमा सबै प्रमुख जनसंख्यामा लाञ्छना र भेदभावसँग सम्बन्धित तीता अनुभवहरूमा कमी आए पनि ट्रान्सजेन्डर, पुरुषसँग यौन सम्बन्ध राख्ने पुरुष र महिला यौनकर्मीमा यो अझै क्रमशः ३०, २२ र २० प्रतिशत रहेको देखिएको छ। नेपालमा २२ हजारजतिले एचआइभीको औषधि नियमित सेवन गरीरहेको सरकारी तथ्यांक छ।  

राष्ट्रिय अध्ययनमा २१ जिल्लाका १८ वर्षमाथिका ९२७ जना उत्तरदाता सहभागी थिए। यसबाहेक, गुणात्मक अध्ययनका लागि २१ वटा ‘केस स्टोरी’ हरू संकलन गरिएको थियो। प्रशिक्षित एचआइभी संक्रमित गणकहरूले गरेको यो अध्ययनमा ४४६ महिला र ४८१ पुरुष संक्रमितलाई समेटिएको थियो। अध्ययनमा सहभागी हरेक ५ सहभागीमध्ये ३ जना अर्थात् ५९ प्रतिशतले आफू एचआइभी संक्रमित भएको बताउन कठिन हुने बताएका थिए। यसैगरी सहभागीमध्ये एक तिहाइभन्दा कम अर्थात् ३० प्रतिशतले आफूले योग्य नभएको महसुस गर्ने बताएका थिए। सहनशीलता अर्थात् आफैंले लाञ्छनाको सामना गर्ने क्षमताको आधारमा झण्डै आधा उत्तरदाता (४५ प्रतिशत) ले आफू एचआइभी संक्रमित भएपछि आफ्नो आत्मविश्वास र आत्मसम्मान प्रभावित भएको बताएका छन्। यसैगरी स्वास्थ्य सेवा प्रदायकहरूले संक्रमितहरूप्रति गर्ने लाञ्छना र भेदभावसम्बन्धी व्यवहार सन् २०११ को तुलनामा झण्डै आधाले घटेको छ। एचआइभी संक्रमित भएकै कारण स्वास्थ्य संस्थाहरूले स्वास्थ्य सेवा नदिने प्रतिशत सन् २०११ मा ७.३ प्रतिशत रहेकोमा २०२२ मा आउँदा यो ४ प्रतिशतमा झरेको छ। यसो हुँदाहुँदै पनि अध्ययन प्रतिवेदनका अनुसार २५ वर्षभन्दामुनिका उमेर समूहमा यो विभेद अत्यधिक (२७ प्रतिशत) रहेको र संक्रमितले आफ्नै कार्यस्थल, सहकर्मी तथा शिक्षकलाई आफू संक्रमित भएको जानकारी नगराएको बताएका छन्।  

उत्तरदातामध्ये दुई तिहाइले मात्र (६५ प्रतिशत) स्वेच्छाले एचआइभी परीक्षण गरेको र हरेक ५ उत्तरदातामध्ये ३ जनाले एचआइभी परीक्षण गर्ने निर्णय लिन ६ महिना वा कम समय लगाएको बताएका छन्। यसैगरी एक चौथाइभन्दा बढी (२७ प्रतिशत) ले आफू एचआइभी संक्रमित भएको पत्ता लागेपछि अन्य व्यक्तिले गर्ने प्रतिक्रियाका डरले परीक्षण गर्न हिचकिचाएको बताएका छन्।

यसैगरी अध्ययनले लगभग ५ मध्ये १ उत्तरदाता (१९ प्रतिशत) ले उनीहरूसँग सम्पर्क हुदा स्वास्थ्यकर्मीहरूले शारीरिक सम्पर्क हुनबाट जोगिन खोजेको वा दुईवटा पन्जा एकैसाथ लगाएर थप सावधानी अपनाएको बताएका छन्।

संक्रमितहरू खुला रूपमा आउँदा एचआइभी संक्रमण रोक्न महŒवपूर्ण हुने जनाउँदै सर्भेक्षणले समुदाय, स्वास्थ्य संस्था, सामाजिक सञ्जाल, सञ्चारमाध्यमलगायत औपचारिक शिक्षा प्रणालीमा यो विषयमा थप पैरवी र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखाएको छ। स्टिग्मा इन्डेक्स २.० नाम दिइएको यो अध्ययन एचआइभी संक्रमितको सञ्जाल, राष्ट्रिय एचआइभी तथा एड्स महासंघ नेपाल, एचआइभी संक्रमित महिलाहरूको राष्ट्रिय महासंघ, सेभ द चिल्ड्रेन तथा ग्लोबल फन्डको सहयोगमा गरिएको थियो। अनुसन्धानको सहजीकरण सेन्टर फर रिसर्च अन एजुकेसन हेल्थ एन्ड सोसियल साइन्स नामक संस्थाले गरेको थियो।

प्रकाशित: १६ मंसिर २०७९ ०१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App