१ पुस २०८२ मंगलबार
image/svg+xml
शिक्षा

ताप्लेजुङका ५८ विद्यालयमा के के गर्‍यो एचपीएफले ?

ह्युमन प्राक्टिस फाउण्डेसन(एचपीएफ)ले आफ्ना परियोजनाहरु स्थानीय सरकारलाई हस्तान्तरण गर्न थालेको छ । फुङलिङ नगरपालिकामा सञ्चालित परियोजना एचपीएफले नगरपालिकालाई हस्तान्तरण गरेको हो । नगरप्रमुख अमिर मादेन र एचपीएफकातर्फबाट शिक्षा व्यवस्थापक युवराज गौतमले परियोजना हस्तान्तरण सम्वन्धी द्धिपक्षीय सहमतिपत्रमा सोमवार हस्तान्तरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलाले जानकारी दिए ।  

एचपीएफका शिक्षा व्यवस्थापक गौतमका अनुसार अब ताप्लेजुङका सबै स्थानीय तहलाई सम्वन्धित स्थानीय तह क्षेत्रका परियोजनाहरु हस्तान्तरण गरिने छ । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतम,परियोजना सञ्चालन भएका क्याम्पस सहितका शिक्षण संस्थाका व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक सहितको उपस्थिति रहेको थियो ।  

ताप्लेजुङमा ह्युमन प्राक्टिस फाउण्डेसन (एचपीएफ) ले ६५ वटा विद्यालय भवन निर्माण गरी दिएको छ । ९ वटा स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी सदरमुकामस्थित फुङलिङ नगरपालिकामा १२ वटा विद्यालय भवन निर्माण भएको छ । यस्तै सिरिजङ्घा गाउँपालिकामा ९ वटा, आठराई त्रिवेणी र पाथीभरा याङ्वरक गाउँपालिकामा ८–८ वटा विद्यालय भवन निर्माण भएको एचपीएफका कार्यक्रम निर्देशक अमित श्रेष्ठले जानकारी दिए ।  

उनका अनुसार फक्ताङ्लुङ गाउँपालिकामा, सिदिङ्वा र मेरिङ्देन गाउँपालिकामा ६–६ वटा विद्यालय भवन निर्माण भएको छ । मैवाखोला गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा ५–५ वटा विद्यालय भवन निर्माण गरेको एचपीएफले जनाएको छ । शिक्षा क्षेत्रअन्तर्गत पूर्वाधार विकास, सिकाइ सुधार र आर्थिक सशक्तिकरणको काममा एचपीएफ सहयोग गरेको थियो ।  

जिल्लाभरका ५८ वटा विद्यालयमा कार्यक्रम सञ्चालन भएको र पूर्वाधार विकासतर्फ विद्यालय भवनसँगै शौचालय, खानेपानी निर्माणलगायतका काम गरिएको श्रेष्ठले बताए । निर्देशक श्रेष्ठका अनुसार विभिन्न विद्यालयमा ५१ वटा शौचालय निर्माण गरिएको छ । यस्तै इन्टेक र रिजर्भ ट्याङ्की तथा धारासहित ९ वटा विद्यालयमा खानेपानी निर्माण गरिएको श्रेष्ठले जानकारी दिए । सिकाइ सुधारतर्फ विद्यालयमा कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, पुस्तकालय र बालकक्षाको व्यवस्था गरिएको छ ।  

त्यस्तै एकीकृत पाठ्यक्रम, बाल सुरक्षा नीतिसम्बन्धी, आइटी लगायतमा शिक्षक, विद्याथी र अभिभावक समेतलाई विषयगत तालिमहरु प्रदान गरिएको एचपीएफले जनाएको छ । आर्थिक सशक्तिकरणतर्फ जीवनोपयोगी सीप तथा लघु उद्यमशीलतासम्बन्धी कार्यक्रमहरु कार्यान्वयन गरिएको एचपीएफले जानकारी दिएको छ । विभिन्न ३९ वटा विद्यालयमा केन्द्रित रहेर आर्थिक सशक्तिकरणका कार्यक्रम गरिएका छन् ।  

जसमा बाख्रा पालन, बङ्गुर र कुखुरा पालन साथै तरकारी खेतीसम्बन्धी २ सय ६६ जना उद्यमीलाई आवश्यक तालिम दिलाउनका साथै अन्य सहयोग गरिएको एचपीएफले जनाएको छ । एचपीएफले सूचना र प्रविधिसम्बन्धी कक्षा सञ्चालन गर्नेगरी फुङ्लिङमा एक आइटी एकेडेमीसमेत स्थापना गरी दिएको छ । पूर्वाधार विकाससहितका एचपीएफका अन्य कार्यक्रम अहिले ताप्लेजुङलाई बिट मार्दै पाँचथर, तेह्रथुम र धनकुटामा केन्द्रित भएका छन् । 

प्रकाशित: २९ मंसिर २०८२ १५:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App