तपाईं छोराछोरीलाई स्कुल वा कलेज पठाएर ढुक्क हुुनुभएको छ ? छैन भने आजैदेखि सचेत हुनुहोस्। किनभने छोराछोरीलाई स्कुल वा कलेज पठाएर, शुल्क तिरेर मात्र अभिभावकको जिम्मेवारी पूरा हुँदैन। आफ्ना छोराछोरी स्कुल वा कलेज गए कि गएनन् ? कस्ता साथी छन्? केके गर्दै छन्? खाजा खाए कि खाएनन्? कसरी व्यवहार गरिरहेका छन्? शिक्षकका व्यवहार केकस्ता छन्? अब उनीहरूका आनीबानीबारे अभिभावक र स्कुलका शिक्षक सचेत हुने बेला आएको छ।
पछिलो समय युवा तथा किशोर विद्यार्थीमा स्मरणशक्तिको कमी र कमजोर आत्मविश्वासले डर-त्रासको भावना बढ्न थालेको छ, जसका कारण विद्यालय सञ्चालकहरूले सचेत बन्दै विद्यार्थीको स्वस्थ जीवनका लागि विद्यालयमै माइन्ड म्यानेजमेन्ट तालिम सञ्चालन गर्न थालेका छन्।
आचार्य स्वामी ध्रुवका अनुसार ७० प्रतिशत विद्यार्थीमा एकाग्रताको कमी आएको र ६० प्रतिशतमा सम्झेका कुरा बिर्सने र ३० प्रतिशतमा स्मरणशक्तिमा कमी आएको तथ्यांक नै छ। उनका अनुसार असन्तुलित दिनचर्याका कारण युवा विद्यार्थीमा स्मरण शक्ति कमीको समस्या देखिएको हो।
काठमाडौंको तीनकुनेस्थित पेन्टागन स्कुलमा स्वामी ध्रुवले सञ्चालन गरेको माइन्ड म्यानेजमेन्ट तालिममा विद्यार्थीको उल्लेख्य उपस्थिति देखियो।
तालिममा कोहीले पढेका कुरा याद नहुने, कोहीले राती अबेरसम्म निद्रा नलाग्ने त कोहीले मन र मस्तिष्क अस्थिर भएका कारण विभिन्न खाले डर–त्रास आदि समस्या साझा गरे। पछिल्लो समय बढ्दो प्रविधि प्रयोगले युवा विद्यार्थीमा निद्रा नलाग्ने समस्या देखिएको स्वामी ध्रुवले बताए।
विद्यार्थीका दिनचर्याबारे बताउँदै उनले भने, ‘तपाईंहरू आआफ्नो दिनचर्या सन्तुलित गर्नुस्। पर्याप्त निदाउनुपर्छ। निद्रा पुगेको छ भने ९० प्रतिशत समस्या समाधान हुन्छ। तपाईंहरूले नबुझेका विषयमा शिक्षकसँग अन्तरक्रिया गर्ने बानी बसाल्नुपर्छ। घरमा आमाबुबासँग पनि स्कुल/कलेजमा भएका कुरा साझा गर्नुपर्छ। यसले मात्र तपाईंहरूमा आत्मविश्वास र आत्मबल बढ्छ।’
स्वामी ध्रुवले आमाबुबाले पैसा तिरेर आफ्ना छोराछोरी स्कुल वा कलेज पठाउँदैमा ढुक्क हुन सक्ने अवस्था नरहेको समेत औंल्याए।
स्वामी ध्रुवले अढाइ दशकयता स्कुल/कलेजका विद्यार्थी, बैंकका कर्मचारी, जेलका कैदी, तथा कार्यालयहरूमा गएर माइन्ड म्यानेजमेन्ट तालिम दिँदै आएका छन्। ‘हालसम्म मैले चार हजारलाई तालिम दिइसकें। थुप्रै स्कुल/कलेजका विद्यार्थीसँग प्रत्यक्ष भेट्दा मुख्यरूपमा पाँच समस्या देखिए’, स्वामी ध्रुवले नागरिकसँग भने, ‘युवा तथा किशोरकिशोरीमा राति अबेरसम्म मोबाइल र नेट चलाउने बानीले निद्रा बिग्रिएर दिउँसो निद्रा लाग्ने, पढ्ने बेलामा माइन्ड अस्थिर हुने, पढेको विषय बिर्सने, लेख्ने बोल्ने समयमा माइन्ड खाली हुने र ससाना विषयमा पनि डर तथा त्रासले काम गर्न नसक्ने समस्या देखियो।’
उनका अनुसार आमाबुबाले धेरैभन्दा धेरै समय छोराछोरीसँग बिताउनुपर्छ। स्कुलबाट घर आएका छोराछोरीका दिनचर्याबारे आमाबुबाले अवश्य बुझ्नुपर्छ। समस्या आएमा समाधानका लागि परिवार र स्कुल दुवैले रचनात्मक भूमिका खेल्नुपर्छ।
साथै सरकारी र निजी दुवै विद्यालयले कक्षामै नियमित र अनिवार्य रूपमा योग र ध्यान अभ्यास गराउँदा विद्यार्थीको स्वस्थ जीवन र व्यवस्थित दिनचर्या विकास भई तमाम समस्या धेरै हदसम्म समाधान हुने भएकाले पाठ्यक्रममै यसको व्यवस्था गरिनुपर्ने उनको सुझाव छ।
विगत २४ वर्षदेखि १६ स्कुल कलेज र करिब पाँच हजार विद्यार्थीसँग प्रत्यक्ष भेटेर उनीहरूसँग बिताएका अनुभव सुनाउँदै उनी भन्छन्, ‘७० प्रतिशतमा एकाग्रताको कमी, ६० प्रतिशतमा सम्झेको विषय लेख्ने र बोल्ने बेला बिर्सने र ५० प्रतिशतमा राति अबेरसम्म निद्रा नलागेर दिउँसो बढी निद्रा लाग्ने समस्या पाइयो।
यसैगरी ४० प्रतिशतमा राम्रो निद्रा नलाग्ने, पाँच प्रतिशतमा डराउने र पाँच प्रतिशत विद्यार्थीमा बोर हुने समस्या देखियो। यसकारण घरमा आमाबुबाले छोराछोरीसँग बढी से बढी समय बिताउने र स्कुलमा पनि शिक्षकले विद्यार्थीसँग सकारात्मक व्यवहार गर्न सके उनीहरूमा आत्मविश्वासका साथै स्मरण शक्तिसमेत बढ्ने देखिन्छ।’
पेन्टागनका प्रिन्सिपल एसपी सिंहका अनुसार अचेल युवा तथा किशोरकिशोरीमा मोबाइल चलाउने र नेटमा व्यस्त हुने बानीले एकाग्रता नहुने र डिप्रेसनमा समेत जाने जोखिम बढ्दो छ। ‘पेन्टागन मात्र होइन सरकारी र निजी दुवैमा अध्ययन गर्ने अधिकांश विद्यार्थीमा पछिल्लो समय देखिएका समस्या नै स्मरण शक्तिमा कमी, धेरै रिसाउने, झर्कने, एकोहोरो हुने, स्मरणशक्तिमा कमी रहेका छन्।
पढाएका कुरा सम्झन सक्ने क्षमता नै कम हुँदै गएको देख्दा हामीलाई चिन्ता लाग्न थालेको छ’, प्रिन्सिपल सिंहले नागरिकसँग भने, ‘विद्यार्थीको स्वास्थ्यलाई ख्यालमा राखेर माइन्ड म्यानेजमेन्ट तालिम सुरु गरेका हौं।’
तालिमको परिणाम सकारात्मक आएमा नियमित तरिकाले जाने योजना रहेको उनको भनाइ छ।
प्रकाशित: १४ पुस २०८२ १०:३३ सोमबार




