२९ माघ २०८२ बिहीबार
image/svg+xml
अर्थ

जापानमा हजार नेपाली इन्जिनियर

जापानी नागरिक योसिताका इजुमीले पुर्‍याएको योगदानको कदर स्वरुप सम्मान गर्दै उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह।

सरकारका दुई मन्त्रीले एकजना जापानी नागरिकलाई नेपाली इन्जिनियरलाई जापानमा दुर्लभ अवसर प्रदान गरेकोमा छुट्टाछुट्टै अवसरमा प्रशंसापत्र प्रदान गरेका छन् । 

उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरतसिंह भण्डारीले आ–आफ्ना मन्त्रालयमा सोमबार जापानी नागरिक योसिताका इजुमीलाई उनले गरेको योगदानका निम्ति सम्मानित गरेका हुन् ।  

नेपालमा अध्ययन गरेका इन्जिनियरलाई जापानमै कामकै सिलसिलामा तालिम दिँदै उनले रोजगारी दिएका नेपालीको संख्या हजार पुगिसकेको छ । र, उनी कुनै पनि नेपालीलाई प्रतिस्पर्धा गराएर जापान लैजान्छन् ।  

योसिताकाले ४० वर्षअघि जापानको राजधानी टोकियोमा स्थापना गरेको आइम्याक इन्जिनियरिङ कम्पनीका लागि पहिलो पटक ड्यानी शाक्यलाई काठमाडौंबाट जापान लिएर गएका थिए । नेपालीहरूको जापानी भाषा र संस्कृतिप्रतिको यथोचित लगाव र इमानदारीपूर्वक काम गर्ने बानीले एकपछि अर्को गर्दै इन्जिनियर लैजाने क्रम निरन्तर अघि बढेको थियो ।  

जापानी नागरिक योसिताका इजुमीले पुर्‍याएको योगदानको कदर स्वरुप सम्मान गर्दै  श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरतसिंह भण्डारी। 

‘जापानमा जनसंख्या कम भयो, इन्जिनियर पनि कम भए,’ ड्यानीले नागरिकसँग भने, ‘जापानमा बच्चा उत्पादन नै कम भयो । त्यसैले संसारभरिबाट काम गर्न जापानमा आउँछन्, तर नेपाली नै हो जापानलाई मिल्ने जनशक्ति ।’

जापानीहरूको बानी सकेसम्म लामो समयसम्म काम गर्ने इमान्दार मानिस खोज्छन् । त्यसैगरी त्यहाँको भाषा र संस्कृतिप्रति रुचि भएका मानिसमा उनीहरू बढ्ता भर गर्छन् । दक्षिण एसियामा सबैभन्दा बढी नेपालीलाई नै जापानीले मन पराउँछन् । नेपाली भाषीका लागि जापानी सिक्न र व्यवहार गर्न चाँडो हुने गरेको पनि उनीहरूको अनुभव छ ।  

नेपालीहरूलाई योसिताकाले जापान लैजान थालेको करिब १३ वर्ष भयो । तर, उनको यो गति रोकिएको छैन । जापानमा जति जति काम बढ्दै गएको छ, त्यति त्यति नै उनी नेपाली इन्जिनियर लैजान इच्छुक छन् । त्यसमा पनि उनी प्रष्टै भन्छन्, ‘यहाँबाट पैसा तिरेर जाने इन्जिनियर हामीलाई काम छैन । धेरै पैसा तिरेर त्यहाँ जानेले कामलाई भन्दा पनि घर पैसा पठाउने तनावमा बढ्ता रहनु पर्छ । यसकारण पनि हामी कुनै रकम नलिइ तिनलाई लिएर जान चाहन्छौं ।  

नेपाली जापान गएर काम गर्न इच्छुक हुनु र लामो समय त्यहाँ रहनु पछाडिको एउटा कारण घरमै त्यहाँ सिकेजस्तो काम नपाउनु पनि हो । ‘त्यसैले त्यहाँ १० वर्षसम्म काम गरिसकेपछि नेपाल आएर पनि काम गर्न सक्ने गरी हामी काठमाडौंमा पनि कार्यालय खोलेर अगाडि बढेका छौं,’ आइम्याकको काठमाडौंस्थि इन्जिनियरिङ सर्भिस सेन्टरका महाप्रबन्धक राजीब बज्राचार्यले नागरिकसँग भने, ‘यसकारण पनि हामीले जापानमा लामो समय बसेर काम गरेकाहरूका निम्ति यहाँ पनि अवसर सिर्जना गर्दैछौं ।’  

जापानमा गएर इन्जिनियर बन्दा सुरुभै करिब दुई लाख २४ हजार रुपैयाँ प्राप्त हुन्छ । अनुभवसँगै तिनले पाउने सेवा र सुविधा बढ्दै जान्छ । यति हो– मेहनत गर्न र काम अगाडि बढाउन छाड्नु हुँदैन ।  

यहाँबाट आगामी दिनमा पनि सजिलै कुनै पैसा नतिरी जापान जान सकिने र त्यहाँ इन्जिनियरका निम्ति अवसर रहेको ड्यानीले बताए । जापानमा गएर राम्ररी काम नगर्ने हो भने फिर्ता पठाउने खतरा पनि उत्तिकै हुन्छ । तर, राम्ररी काम सिक्ने र अगाडि बढ्नेका निम्ति जापानमा अवसरै अवसर रहेको उनले बताए ।  

७५ वर्षको वयमा हिडिरेहका जापानी उद्योगपति योसिताका स्वीजरल्यान्डबाट प्रभावित छन् । उनका लागि नेपाल अझ महत्त्वपूर्ण रहेको बताए । स्वीजरल्यान्ड विश्वप्रशिद्ध कम्पनीहज्ञको पनि घर रहेको उनले बताए । नेपाल पनि पर्यटन मात्र होइन अन्य उद्योगधन्दा र प्रविधिका निम्ति पनि अगाडि बढ्न सक्ने अवस्था रहेको उनले बताए ।  

‘नेपालीले अहिले गएर काम सिक्दा त्यो भविश्यका निम्ति यहाँ प्रविधि ल्याउने अवसर पनि हो,’ योसिताकाले भने, ‘हामीले रोजगारी दिएका इन्जिनियरहरू भविश्यमा नेपालका निम्ति कामलाग्दा जनशक्ति हुन्छन् ।’  

नेपालबाट जापान गएका यस्ता इन्जिनियरलाई तालिम दिएर विभिन्न कम्पनीमा पठाइन्छ । योसिताकाले नेपालीमा काम गर्ने क्षमता देखेर ढुक्कसँग यसलाई अगाडि बढाउँदै आएका हुन् ।  

‘तपाईंको भिजन र प्रतिवद्धताले नेपाली प्रतिभालाई जापानको प्राविधिक उपलब्धि सिक्न र अनुभव गर्न मौका दिएको छ,’ उपप्रधानमन्त्री सिंहले योसिताकालाई दिएको प्रशंसापत्रमा भनिएको छ, ‘यो मूल्यवान अवसरले उनीहरूको सीप मात्र बढाउँदैन बरु आगामी दिनमा नेपालको निर्माण र रुपान्तरणका लागि योगदान गर्न तिनलाई तयार पार्ने छ ।’

प्रकाशित: ९ भाद्र २०८२ २०:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App