३ चैत्र २०८२ मंगलबार
image/svg+xml
शिक्षा

जुम्लामा एसइई दिने विद्यार्थी ह्वात्तै घटे

यस वर्ष जुम्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीको संख्या ह्वात्तै घटेको छ। चैत १९ गतेदेखि सुरु हुने परीक्षामा जुम्लाबाट जम्मा २ हजार २ सय ५५ जना विद्यार्थी मात्र सहभागी हुँदैछन्।

शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका निमित्त इकाइ अधिकारी खेमराज पन्तका अनुसार यस वर्ष नियमिततर्फ २ हजार १ सय ३३ र ग्रेडवृद्धितर्फ १ सय २२ जनाले परीक्षा दिनेछन्।

अघिल्लो वर्ष २ हजार ६ सय ८१ विद्यार्थी परीक्षामा सामेल थिए। गत वर्षको तुलनामा यो वर्ष परीक्षार्थीको संख्या ४ सय २६ ले कम हो।

पछिल्ला चार वर्षको तथ्यांक हेर्दा जुम्लामा एसइई दिने विद्यार्थी निरन्तर ओरालो लागेको देखिन्छ।

२०७९ मा २ हजार ८ सय ७७ रहेको परीक्षार्थी संख्या २०८० मा घटेर २ हजार ५ सय ५७ मा झरेको थियो। २०८१ मा केही वृद्धि भई २ हजार ६ सय ८१ पुगे पनि यस वर्ष फेरि घटेको छ। चार वर्षको अवधिमा मात्रै कुल ६ सय २२ परीक्षार्थी घटेको तथ्यांक छ।

बसाइँसराइ, विद्यालय जाने उमेर समूहको जनसंख्यामा कमी आउनु र बीचमै पढाइ छाड्ने प्रवृत्ति लाई विद्यार्थी घट्नुको मुख्य कारण हो। यद्यपि, प्राविधिक धार र खुला विद्यालयतर्फको निरन्तर सहभागितालाई भने इकाइले सकारात्मक रूपमा लिएको छ।

यस वर्षको परीक्षा सञ्चालनका लागि जुम्लामा १४ वटा केन्द्र तोकिएका छन्। राष्ट्रिय परीक्षा बोर्डको तालिकाअनुसार देशभर एसईई परीक्षा आगामी चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुँदैछ।

प्रकाशित: ३ चैत्र २०८२ २१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App