२४ श्रावण २०८३ आइतबार
image/svg+xml
शिक्षा

कम्प्युटर इन्जिनियरिङतर्फ नेपाल टप हुन सफल विद्यार्थी पुरस्कृत

कम्प्युटर इन्जिनियरिङतर्फ नेपाल टप हुन सफल विद्यार्थी पुरस्कृत भएका छन्। कम्प्युटर इन्जिनियरिङतर्फ ३.९९ जीपीए ल्याई नेपाल टप हुन सफल नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका विद्यार्थी बिष्णु शर्मा पुरस्कृत भएका हुन्।

कलेजले २०२० ब्याचका ब्याचलर अफ सिभिल इन्जिनियरिङ (डिप्लोमा होल्डर) तथा २०२१ ब्याचका सिभिल, सिभिल एन्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स तथा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङका विद्यार्थीलाई बिदाइ गर्न भक्तपुरमा गरेको कार्यक्रममा उनलाई पुरस्कृत गरिएको हो। सर्वाेत्कृष्ट विद्यार्थी शर्माले कलेजको चेयरमेन प्राइड अवार्ड पनि पाएका थिए। साथै उनले कम्प्युटर इन्जिनियरिङतर्फ प्रोगाम टपर, साइन्स अवार्ड तथा कम्प्युटर साइन्स अवार्ड पनि प्राप्त गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन प्राध्यापक राजेशकुमार ठकुरानीले उनलाई पुरस्कृत गरेका हुन्।

कार्यक्रममा कलेजको आन्तरिकमा सिभिल इन्जिनियरिङतर्फ सुजाता बोहरा ३.९७ जीपीएसहित प्रोगाम टपर भइन्। उनले मेकानिक्स, प्रोगामिङ, वाटर, स्ट्रक्चर र म्याथम्याटिक्स अवार्ड  प्राप्त गरिन्। सिभिल एन्ड रुरल इन्जिनियरिङतर्फ सृष्टि चौधरी ३.८० जीपीएसहित प्रोगाम टपर बन्दा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङतर्फ विजय पौडेल ३.८५ जीपीएसहित प्रोगाम टपर भए। उनले कम्युनिकेशन अवार्ड पनि प्राप्त गरे। इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङतर्फ घृष्णा निरौला ३.३६ जीपीएसहित प्रोगाम टपर घोषित भइन्।

कार्यक्रममा जिल्लाको चाँंगुनारायण नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष जीवन खत्री, कलेजका कार्यवाहक प्राचार्य मोहनध्वज केसी, शिक्षक प्रतिनिधि सञ्चालक समितिका सदस्य प्राध्यापक सावित्री त्रिपाठी तथा विभागीय प्रमुखहरूलगायतले अवार्ड, प्रमाणपत्र तथा सम्मान प्रदान गरेका थिए। सो अवसरमा कलेजले विभिन्न विषयमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई समेत सम्मान गरेको थियो।

बिदाइ कार्यक्रममा इलेक्ट्रोनिक्स र इलेक्ट्रिकलका अर्जुन मण्डल, इलेक्ट्रिकल र कम्युनिकेशनका विजय पौडेल, सिभिल एण्ड रूरलका आशिष फुयाल, सिभिल इन्जिनियरिङकी सुजता बोहरा तथा कम्प्युटर इन्जिनियरिङका अरूणा थापाले अध्ययनका क्रममा कलेजमा बिताएका क्षण, अनुभव र सिकाइ सम्झँदै कलेजबाट प्राप्त ज्ञान तथा सीपलाई व्यावहारिक जीवनमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।कलेजमा आर्किटेक्चर, सिभिल, सिभिल एन्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स तथा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ, ब्याचलर फर डिप्लोमा होल्डर्सलगायतका स्नातक तहका कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

प्रकाशित: २४ श्रावण २०८३ ०९:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App