बिहीबारदेखि सुरु यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) जाँच सकिएलगत्तै उत्तर पुस्तिकाको परीक्षण थालिएको छ । पहिलो दिनको परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका जाँच्ने काम देशका अधिकांश ठाउँमा सुरु भएको हो ।
शिक्षा विकास तथा समन्वय एकाई उदयपुरले जनाए अनुसार शिक्षा मन्त्रालय परीक्षा नियन्त्रण कार्यालयको निर्देशन अनुसार परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण गर्ने काम थालिएको हो । एकाई प्रमुख उपसचिव भवानी कट्टेलले विद्यार्थीको उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रमै जाँच्ने काम हुने व्यवस्था मिलाइएको बताए ।
कट्टेलका अनुसार विद्यार्थीको उत्तरपुस्तिका जाँच गर्नका लागि आवश्यक रोस्टर तयार गरेर परीक्षण कार्य गर्ने व्यवस्था मिलइएको छ । त्यसका लागि सम्बन्धित परीक्षा केन्द्रमै विज्ञ शिक्षकलाई खटाइने पनि उनले बताए । भर्खरै सत्तारोहण गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको दुईतिहाई नजिक सरकारले परीक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने नीति लिए अनुसार परीक्षा सञ्चालनसँगै उत्तरपुस्तिका परीक्षण कार्य थालिएको हो ।
‘हामीलाई परीक्षा सकेको महिना दिनभित्रै नतिजा सार्वजनिक गर्न निर्देशन आएको छ’ एकाई प्रमुख कट्टेलले भने ‘त्यसका लागि त परीक्षा सकिनेबित्तिकै परीक्षण थाल्नु पर्ने भयो, त्यसैले पहिलो दिनको परीक्षा सकिएलगत्तै रोस्टर तयार गरेर उत्तरपुस्तिका जाँच्ने काम थालिएको हो ।’
उदयपुरमा यसवर्ष ५ हजार ६ सय १२ जना विद्यार्थीले एसईई फर्म भरेकोमा पहिलो दिनको अंग्रेजी विषयमा ७६ जना अनुपस्थित रहे । सामुदायिकतर्फ १ सय १६ विद्यालयका २ हजार ९ सय २३ तथा सँस्थागत विद्यालयतर्फ ४३ विद्यालयका २ हजार ६ सय ८९ विद्यार्थीले एसईई फर्म भरेकोमा ५ हजार ५ सय ३६ जना मात्र परीषामा उपस्थित रहेको हाकिम कट्टेलले बताए ।
सामुदायिकतर्फ १ सय १६ विद्यालय तथा सँस्थागततर्फ ४३ विद्यालयका विद्यार्थी सहभागी परीक्षाका लागि जिल्लामा २२ केन्द्र तय गरिएको छ । त्यसका लागि विद्यार्थी संख्याका आधकारमा जिल्लाका ८ वटै स्थानीयतहमा केन्द्र तय गरि परीक्षा सञ्चालन भईरहेको एकाई प्रमुख कट्टेलले बताएका छन् ।
उता परिक्षा सकिए लगत्तै एक महिना भित्रै नतिजा प्रकाश गर्ने योजना अनुरुप कपिलवस्तुका ३५ मध्ये ३२ केन्द्रमा उत्तर पुस्तिका परिक्षणको कार्य बिहीबारदेखि नै सुरु भएको बेल्बासले बताए । ताप्लेजुङमा पनि परीक्षा लगत्तै उत्तरपुस्तिका परिक्षण सुरु भएको छ।
प्रकाशित: १९ चैत्र २०८२ १९:१९ बिहीबार





