१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
शिक्षा

आवश्यक सतर्कतासहित वीरगंज महानगरका विद्यालयहरु संचालनमा

हैजाको भीषण महामारी र जेनजी आन्दोलनको त्रास भोगेका वीरगंज महानगरपालिकाका विद्यालयहरु पर्याप्त सतर्कतासहित आइतवारदेखि संचालनमा आएका छन् । वीरगंज महानगरपालिकाले विद्यालय प्रशासनलाई आइतवारदेखि विद्यालय संचालनको निर्देशन दिएसँगै विद्यालयहरु संचालनमा आएका हुन् ।  

आइतवार जितिया पबनी परेको कारण व्रतालु महिला शिक्षकहरु विद्यालयमा उपस्थित हुन कठिन भएको र विद्यालय खुल्ने पहिलो दिन अति नै न्युन संख्यामा सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति भए पनि महानगरका विद्यालयहरुको कार्यालय र प्रशासन दिनभर खुलेका छन् । संस्थागत विद्यालयमा भने पहिलो दिन नै केही घन्टी पठनपाठन पनि भएको पाइएको छ ।  

वीरगंज महानगरमा अधिकांश विद्यालयहरुले महानगरको निर्देशनअनुसार खानेपानीको अवस्थाको जाँचपडताल गरेका छन् । विद्यालयमा खानेपानीको ट्यांकी रहेका विद्यालयहरुले ट्यांकीको सफाइ गरेका छन् । खानेपानीको ट्यांकीमा क्लोरिन होलेको, शौचालयको राम्ररी सफाइ गरेको तथा कलधारा भएका विद्यालयहरुले पनि कलधाराको वरिपरि राम्ररी सफाइ गरेका छन् ।  

वीरगंजमा हैजा फैलन सक्ने सम्भावना अझै पनि कायमै रहेकोले खानेपानीको सबै स्रोत तथा निकासलाई राम्ररी सफाइ गरी व्यवस्थापन गर्न महानगरले सबै विद्यालयलाई निर्देशन दिएको थियो ।  

विद्यालयमा कुनै पनि स्वास्थ्य तथा सुरक्षा सम्बन्धी जोखिम हुन नदिन सचेत गराउँदै जोखिमको सम्भावना देखिएका तत्काल जानकारी गराउन महानगरले शैक्षिक प्रशासन महाशाखामार्फत विद्यालयहरुलाई अनुरोध गरेको छ ।  

कतिपयले आइतवार जितिया मानेको तथा कतिपयले सोमवार जितिया पबनी मान्ने हुनाले सोमवार पनि वीरगंजका विद्यालयहरुमा विद्यार्थीको उपस्थिति कमै हुने आँकलन गरिएको छ ।  

यसै गरी रौतहट र बारामा पनि आइतवार विद्यालयहरु संचालनमा आए पनि जितिया पबनीको कारण खासै विद्यार्थीहरु आएको नदेखिएको सरोकारवालाहरु बताउँछन् । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटका अध्यक्ष धर्मेन्द्रकुमार सिंहले आइतवार अभिभावक तथा विद्यार्थीहरुमा विद्यालय खुलेको सन्देश प्रवाह भएको बताउँदै सोमवारदेखि पूर्णतया विद्यालयहरु संचालनमा आउने बताएका छन् ।  

सर्लाहीमा पनि आइतवारदेखि विद्यालयहरु खुलेका छन् । देशमा कठिन परिस्थिति सिर्जना भएपछि पहिलो दिन विद्यालयहरु खुलेको र सोमवारदेखि पठनपाठन हुने शिक्षकहरुले जानकारी गराएका छन् ।  

आइतवार पर्सा, बारा, रौतहट र सर्लाहीका बैंक तथा वित्तीय संस्था र विभिन्न सरकारी कार्यालयहरु संचालनमा आएका छन् । सरकारी कार्यालयहरुमा सेवाग्राहीको खासै उपस्थिति नभए पनि बैंक तथा वित्तीय संस्थामा भने सेवाग्राहीको ठुलो भीड देखिएको छ । 

प्रकाशित: २९ भाद्र २०८२ १७:२४ आइतबार