२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
शिक्षा

९५ जना विद्यार्थीलाई छात्रवृत्ति

इटहरी-१को राष्ट्रिय माध्यमिक विद्यालयले ९५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।  

विद्यालयको शनिबार आयोजना गरेको ७० औं वार्षिकोत्सवको अवसरमा बालविकासदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई दाताले स्थापना गरेको २७ अक्षयकोषबाट प्राप्त व्याजको रकमले छात्रवृत्ति प्रदान गरेको हो ।  

अहिलेसम्म विद्यालयमा ३७ वटा अक्षयकोष स्थापना भएका छन् । विद्यालयले वर्षभरी विभिन्न गतिविधिमा उत्कृष्ट हुने छात्राछात्रलाई पनि पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो ।  

दाताहरुले स्थापना गरेको अक्षयकोषसँगै विद्यालयका तर्फबाट १४ जना शिक्षक तथा कर्मचारीलाई नगदसहित सम्मान गरियो ।  

वार्षिकोत्सवको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गर्नेसँगै अन्य भौतिक पूर्वाधारतर्फ सहयोग गर्ने नौं जना व्यक्तित्वलाई मरणोपर्यान्त सम्मान गरियो ।  

विद्यालयले यस वर्षदेखि टिचर अफ दि इयर र स्टुडेन्ट अफ दि इएर घोषणा गरेकोमा शिक्षकतर्फ यूवराज काफ्ले र विद्यार्थीतर्फ कक्षा ९ का कृष्ण खनाल घोषित भए । दुवैलाई नगदसहित सम्मान गरियो ।  

वार्षिकत्सवको अवसरमा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक आय–व्यय विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले गरे । जसमा आन्तरिक र बाह्य गरि वार्षिक आम्दानी चार करोड ८८ लाख ९६ हजार १४६ रुपैयाँ र व्ययतर्फ चार करोड ८७ लाख ५० हजार ७२ रुपैयाँ प्रस्तुत गरिएको थियो ।  

सोही क्रममा भूतपूर्व विद्यार्थीले २० लाख रुपैयाँ खर्चेर निर्माण गर्न लागेको सभाहलको सिलन्यास गरिएको छ । वार्षिकोत्सवको अवसरमा साताव्यापी खेलकुद प्रतियोगिता भएको थियो । खेलकुदका ५१ वटा विभिन्न विधामा उत्कृष्ट ३०० जनालाई हरेक दिन कार्यक्रम सम्पन्न भएलगतै पुरस्कार प्रदान गरिएको थियो ।

 

प्रकाशित: १३ मंसिर २०८२ १८:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App