१९ कार्तिक २०८३ बिहीबार
image/svg+xml
शिक्षा

साफजुआ अन्तर्राष्ट्रिय गोष्ठी : दक्षिण एसिया र जापानबीच शैक्षिक सहकार्यमा जोड

परराष्ट्रमन्त्री शिशिर खनालले बिहीबार ललितपुरमा आयोजित साफजुआ अन्तर्राष्ट्रिय गोष्ठी २०२६ को उद्घाटन गरेका छन्। नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा आयोजित संगोष्ठीमा दक्षिण एसिया तथा जापानका प्राज्ञ, पूर्वविद्यार्थी, शिक्षाविद् र नीतिनिर्माताहरूको सहभागिता रहेको थियो।

‘दक्षिण एसिया र जापान : शिक्षाको यात्रामा सहयात्री’ विषयवस्तुमा केन्द्रित गोष्ठीको उद्घाटन गर्दै मन्त्री खनालले शिक्षामार्फत निर्माण हुने सम्बन्ध दीर्घकालीन र स्थायी हुने बताए। उनले शिक्षा नेपाल र जापानबीचको सम्बन्धको सबैभन्दा बलियो आधार रहेको उल्लेख गरे।

जापानी छात्रवृत्तिका माध्यमबाट नेपाली विद्यार्थी तथा सरकारी अधिकारीहरूले जापानमा अध्ययन गर्ने अवसर पाएको उल्लेख गर्दै उनले विश्वविद्यालय तहमा सुरु भएका सम्बन्धहरू पछि सामाजिक, आर्थिक तथा सांस्कृतिक सम्बन्धमा विस्तार भएको बताए।

हालैको भोटेकोशी विपद्लाई स्मरण गर्दै मन्त्री खनालले विपद् न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन तथा आर्थिक विकासका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको महत्त्व औँल्याए। विशेषगरी पूर्वसूचना प्रणालीको विकासमा जोड दिँदै उनले नेपाल जापानसँगको सहकार्यलाई निरन्तरता दिन इच्छुक रहेको बताए।

कार्यक्रममा नेपालका लागि जापानी राजदूत महामहिम तोरु माएदाले नेपाल, जापान र समग्र दक्षिण एसियाबीचको दशकौँ लामो विश्वास र मित्रताको सम्बन्धलाई ७०औँ वर्षगाँठले थप सुदृढ बनाउने बताए। उनले नेपाल र दक्षिण एसियासँगको सम्बन्धलाई अझ मजबुत बनाउन जापान प्रतिबद्ध रहेको उल्लेख गरे।

जापानी विश्वविद्यालयका पूर्वविद्यार्थी संघ नेपालका अध्यक्ष डा. पवन के. भट्टराईले जापानी छात्रवृत्तिले हजारौँ दक्षिण एसियाली विद्यार्थीका लागि अवसरका ढोका खोलेको बताए। उनका अनुसार जापानबाट फर्किएका विद्यार्थीहरूले शैक्षिक प्रमाणपत्रसँगै दुई देशबीचको सम्बन्ध पनि लिएर आउने गरेका छन्।

उनले पूर्वविद्यार्थीहरू नेपाल, जापान र दक्षिण एसियाबीचको सम्बन्धका जीवन्त पुल भएको उल्लेख गर्दै आगामी पुस्ताका लागि विज्ञान, नवप्रवर्तन र शिक्षामार्फत यो सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए।

गोष्ठी जापानी विश्वविद्यालयका पूर्वविद्यार्थी संघ नेपालले दक्षिण एसियाली जापानी विश्वविद्यालय पूर्वविद्यार्थी संघहरूको महासंघसँगको सहकार्यमा आयोजना गरेको हो।  

कार्यक्रममा बंगलादेश, भुटान, भारत, नेपाल, पाकिस्तान, श्रीलंका र जापानका प्रतिनिधिहरू भौतिक तथा भर्चुअल माध्यमबाट सहभागी भएका छन्।

गोष्ठीमा तीनवटा मुख्य वक्तव्य प्रस्तुत गरिएका थिए। टोकियो विश्वविद्यालयकी कार्यकारी उपाध्यक्ष प्राध्यापक काओरी हायाशीले जापान, नेपाल र दक्षिण एसियाबीचको शैक्षिक सहकार्य विस्तारबारे धारणा राखेका थिए। प्राध्यापक योशिरो अजुमाले ‘जापानी प्रयोगशालादेखि भारतीय कक्षाकोठासम्म’ विषयमा विज्ञान, शिक्षा र संस्कृतिबारे प्रस्तुति दिनुभयो। त्यस्तै, डा. सूर्यराज आचार्यले नेपाल र जापानबीच शैक्षिक सहकार्यको भविष्यबारे प्रकाश पारेका थिए।  

गोष्ठीका तीनवटा प्राविधिक सत्रमा अनुसन्धानकर्ताहरूले १४ वटा अनुसन्धानपत्र प्रस्तुत गरेका थिए। प्रस्तुत अनुसन्धानपत्रहरूमा जापान र श्रीलंकाका विश्वविद्यालयबीचको निगाता–पेराडेनिया भगिनी सम्बन्ध, बंगलादेशमा मानव पुँजी विकासमा MEXT छात्रवृत्तिको भूमिका, भुटान र JICA बीचको चार दशक लामो सहकार्य तथा पाकिस्तानमा जापानी भाषा शिक्षासम्बन्धी विषय समेटिएका थिए।

त्यसैगरी, नेपालमा यामानाशी विश्वविद्यालयका परियोजना, जापानको आप्रवासन सुधार र दक्षिण एसियाली उद्यमी, बौद्ध तीर्थयात्रामार्फत ज्ञान आदानप्रदान तथा मेइजीकालीन भारतीय विश्वयात्रीहरूको यात्रा विवरणलगायत विषयमा पनि अनुसन्धान प्रस्तुत गरिएको थियो।

आयोजकका अनुसार प्रस्तुत सबै पूर्ण अनुसन्धानपत्रको विज्ञ समीक्षापछि छनोट भएका अनुसन्धानलाई ISBN सहित मुद्रित तथा विद्युतीय पुस्तकका रूपमा प्रकाशित गरिनेछ।

संगोष्ठीअन्तर्गत SAFJUAA को बोर्ड बैठक शुक्रबार, नोभेम्बर ६ मा बस्नेछ। बैठकमा सदस्य राष्ट्रका पूर्वविद्यार्थी संघहरूले आ–आफ्नो देशमा भएका गतिविधिबारे जानकारी प्रस्तुत गर्नेछन्।

संगोष्ठीको आयोजक समितिको संयोजकमा JUAAN का उपाध्यक्ष प्रा. डा. विष्णुप्रसाद पाण्डे र सहसंयोजकमा JUAAN का कार्यकारी सदस्य डा. अनिल अर्याल रहेका छन्नु। समितिमा बंगलादेश, भुटान, भारत, पाकिस्तान र श्रीलंकाका जापानी विश्वविद्यालयका पूर्वविद्यार्थी संघका अध्यक्षहरूको समेत सहभागिता थियो।

प्रकाशित: १९ कार्तिक २०८३ १६:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App