सरकारले मुलुकका विभिन्न आठवटा विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि प्राप्त आवेदनहरूमध्ये योग्य उम्मेदवारहरूको नामावली स्वीकृत गरेको छ।
उपकुलपति छनोट तथा सिफारिस समितिले बुधबार सूचना प्रकाशित गर्दै २१८ जना आवेदकहरूको नामावली सार्वजनिक गरेको हो।
‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम दरखास्त आह्वान गरिएकोमा प्राप्त आवेदनहरूलाई सिफारिस समितिको जेठ १३ गतेको निर्णयअनुसार स्वीकृत गरिएको हो।
त्रिविमा सबैभन्दा बढी ४३ प्रतिस्पर्धी, ५ महिला उम्मेदवार
सबैभन्दा जेठो र ठूलो त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति बन्न ४३ जनाले रुचि देखाएका छन्। त्रिविको सूचीमा सोम प्रसाद खतिवडा, पुष्पराज अधिकारी, सञ्जय पौडेलदेखि महानन्द चालिसे र शिव नन्दन साहसम्मका नामहरू समावेश छन्।
समग्र सूचीमा ५ जना महिला उम्मेदवारहरूले पनि प्रतिस्पर्धा गरिरहेका छन्। जसमा रोजी श्रेष्ठ (पूर्वाञ्चल), यशोधरा भेटुवाल (लुम्बिनी बौद्ध), शारदा पौडेल (लुम्बिनी बौद्ध), चन्द्रकला घिमिरे (लुम्बिनी बौद्ध) र कल्याणी मिश्र त्रिपाठी (कृषि तथा वन विज्ञान/मध्यपश्चिम) रहेका छन्।
कुन विश्वविद्यालयमा कति उम्मेदवार ?
छनोट समितिले स्वीकृत गरेको विवरणअनुसार विश्वविद्यालयगत उम्मेदवारको संख्या यसप्रकार छ।
१. त्रिभुवन विश्वविद्यालय : ४३ जना
२. पूर्वाञ्चल विश्वविद्यालय : ३१ जना
३. पोखरा विश्वविद्यालय : ३३ जना
४. राजर्षि जनक विश्वविद्यालय : २३ जना
५. सुदूरपश्चिम विश्वविद्यालय : १८ जना
६. मध्यपश्चिम विश्वविद्यालय : १९ जना
७. कृषि तथा वन विज्ञान विश्वविद्यालय : १३ जना
८. लुम्बिनी बौद्ध विश्वविद्यालय : ७ जना
नयाँ कार्यविधिअनुसार अब यी उम्मेदवारहरूले आफ्नो सोचपत्र र चार वर्षे व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ। उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्तापछि समितिले योग्यता क्रमका आधारमा प्रत्येक विश्वविद्यालयका लागि ३/३ जनाको नाम कुलपति समक्ष सिफारिस गर्नेछ।
राजनीतिक भागबण्डाभन्दा बाहिर रहेर खुला प्रतिस्पर्धा र मेरिटका आधारमा उपकुलपति छनोट गर्न पहिलोपटक यस्तो एकीकृत कार्यविधि अपनाइएको सरकारको दाबी छ।
प्रकाशित: १३ जेष्ठ २०८३ २०:५६ बुधबार





