जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय भरतपुरले विद्यार्थीको यथार्थ विवरण नहुँदा पाठ्यपुस्तक बिक्री वितरण गर्न समस्या भएको बताएको छ।
कार्यालयका अनुसार शिक्षा मन्त्रालयले उपलब्ध गराएको विद्यार्थी विवरण र पाठ्यपुस्तक बिक्रीमा समानता नहुँदा पुस्तक बिक्री गर्न समस्या देखिएको हो। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय भरतपुरका प्रमुख धनबहादुर केसीका अनुसार मन्त्रालयले उपलब्ध गराएको विद्यार्थीको संख्याभन्दा पाठ्यपूस्तक न्यून बिक्री हुँदा पाठ्यपुस्तक वितरणमा समस्या देखिएको बताए।
‘हामीले मन्त्रालयको विवरण अनुसार पाठ्यपुस्तक ल्याउने गर्दछौँ,’ उनले भने ‘विद्यार्थींको संख्या र वितरणमा समानान्तरण देखिँदैन। पुस्तकहरु किन बिक्री भएका छैनन्। यो खोज्न आवश्यक छ।’ मन्त्रालयको विद्यार्थीको तथ्यांकभन्दा २१ प्रतिशत पाठ्यपुस्तक कम बिक्री हुने गरेको उनले बताए।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय भरतपुरले बारा, पर्सा, रौतहट, मकवानपुर, चितवन, नवलपसारी (बर्दघाट सुस्तापूर्व) र पूर्वि तनहुँको जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गर्दै आएको छ। यी जिल्लामा कक्षा ६ देखि १०सम्म दुई लाख ७१ हजार ५०६ विद्यार्थी रहेका छन्। त्यसमध्ये चालु आर्थिक वर्षमा २ लाख १४ हजार ५२७ थान नेपाली विषयको पुस्तक मात्र बिक्री भएको छ।
चालु आर्थिक वर्षमा केही पुस्तक बिक्री हुने क्रमसमेत रहेको छ। ‘अझै छिटपुट किताब व्यवसायीले लगिरहेका छन्, तर अब बिक्री ज्यादै कम हुन्छ, उनले भने दुर्गम क्षेत्रमा केही पुस्तक पुग्न बाँकी होला ।’ उनका अनुसार, सामाग्री केन्द्रमा तीन लाख थान पुस्तक स्टक रहेको छ।
यद्यपि अघिल्लो आर्थिक वर्ष २०८१÷०८२मा २ लाख २८ हजार ६२ थान मात्र नेपाली विषयको पाठ्यपुस्तक बिक्री भएको कार्यालयको तथ्यांकमा उल्लेख छ।
सरकारले २०८० सालदेखि कक्षा ३, कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक जनक शिक्षा सामाग्री लिमिटेडलाई दिएको थियो। अझै पनि लुकिछिपि अन्य कम्पनीले पनि छापेर बेचेका कारण विद्यार्थीको संख्याभन्दा पुस्तक कम वितरण भएको हुनसक्ने उनको अनुमान छ। ‘विद्यार्थीको संख्या अनुसार पुस्तक ल्याएर वितरण गरेमा राम्रो हुने थियो,’ उनले भने ‘यहाँ त विद्यार्थीको संख्या र हाम्रो पुस्तक बिक्रीको अन्तर धेरै हुँदा बिक्री वितरण गर्न जनक शिक्षालाई समस्या नै हो।’
जनक शिक्षा सामाग्री केन्द्रले नेपाली, अ्रंग्रेजी र विज्ञान विषयको पाठ्यपुस्तक बढी बिक्री गर्दै आएको छ। यस कार्यालयले हालसम्म १२ लाख ५० हजार २९ थान पाठ्यपुस्तक बिक्री गरेको छ। यो पुस्तकको बिक्रीको संख्या कक्षा ३ देखि १२ कक्षा सम्मको हो। कार्यालयले पुस्तक बिक्री मार्फत चैत्र १७ गतेदेखि वैशाख २१ गतेसम्म १७ करोड ३४ लाख १३ हजार ३७९ रुपैयाँ आम्दानी गरेको छ। कार्यालयले ७७ हजार ८५२ रुपैयाँको कपि समेत बिक्री गरेको छ।
जनक शिक्षाले कक्षा ३ देखि १२ सम्मको पुस्तक बिक्री गरिरहेको छ। यसपटक जनकले गत वर्षजसरी कक्षा ४, १ र २ को पाठ्यपुस्तक निकालेन। कार्यालयले सूचिकृत बिक्रेता मार्फत पाठ्यपुस्तक बिक्री गर्दै आएको छ। रौतहटमा ८, बारामा ११, पर्सामा ८, मकवानपुरमा ६, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा ३० र पूर्वि तनहुँका ५ वटागरी १६२ बिक्रेता मार्फत पाठ्यपुस्तक विद्यालयमा पुर्याउने गरेको उनले बताए।
२०६४ साल अगाडि अर्थ मन्त्रालयले शिक्षा मन्त्रालयलाई रकम भुक्तानी गर्दथ्यो। शिक्षा मन्त्रालयले जनक शिक्षा सामाग्री केन्द्रलाई भुक्तानी गर्दथ्यो भने त्यस यता शिक्षा मन्त्रालयले सम्बन्धीत पालिकामा रकम पठाउने गर्दछ। पालीकाले विद्यार्थीको संख्या उपलब्ध नगराउने हुँदा पाठ्यपुस्तक वितरणमा केही समस्या आएको उनले बताए।
प्रकाशित: २२ वैशाख २०८३ १८:०५ मंगलबार





