२९ आश्विन २०८३ बिहीबार
image/svg+xml
शिक्षा

निजी क्षेत्रले पनि पाठ्यपुस्तक छाप्न पाउने

आगामी शैक्षिक सत्रका लागि विद्यालय तहका पाठ्यपुस्तक छपाइ जिम्मेवारी बाँडफाँट गरिएको छ। पाठ्यक्रम विकास केन्द्रले कक्षा १, २ र ४ का पाठ्यपुस्तक छपाइको जिम्मेवारी निजी क्षेत्रलाई दिने निर्णय गरेको छ। कक्षा ३ तथा ५ देखि १० सम्मका पाठ्यपुस्तक छपाइ जिम्मेवारी भने जनक शिक्षा सामग्री केन्द्रले पाएको पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता पुरुषोत्तम घिमिरेले बताए।

उनका अनुसार निजी छापाखानाको नवीकरण तथा सूचीकरणका लागि केन्द्रले छिटै आवेदन खुलाउने तयारी गरेको छ।’ अब छिटै निजी छापाखानाको नवीकरण र सूचीकरणका लागि आवेदन माग्ने तयारी भइरहेको छ’, प्रवक्ता घिमिरेले भने, ‘यसका लागि पाँच लाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था छ।’

गत वर्ष सातवटा निजी छापाखानाले पाठ्यपुस्तक छपाइको अनुमति पाएका थिए। अब जनक शिक्षा र निजी छापाखानालाई आवश्यक अनुमति तथा पिआरसी उपलब्ध गराउने प्रक्रिया अघि बढाइने उनले बताए।

जनक शिक्षालाई सक्षम बनाउँदै विद्यालय तहका सबै पाठ्यपुस्तक छपाइको जिम्मेवारी एउटै सरकारी संस्थालाई दिनुपर्ने आवाज उठिरहेका बेला सरकारले निजी क्षेत्रलाई पनि छपाइमा सहभागी गराउने निर्णय गरेको हो। निजी क्षेत्रलाई सहभागी गराउने वा नगराउने विषयमा शिक्षा मन्त्रालयमा लामो छलफलसमेत भएको थियो।

आगामी शैक्षिक सत्रदेखि पाठ्यपुस्तक परिमार्जन हुने वा नहुने भन्ने अन्योलका कारण छपाइ प्रक्रिया प्रभावित भएको थियो, तर आगामी शैक्षिक सत्रमा हाल कार्यान्वयनमा रहेको पाठ्यक्रम अनुसार नै अधिकांश पाठ्यपुस्तक छपाइ हुने भएपछि काम अघि बढाउन सहज भएको निजी छापाखानाका प्रतिनिधि दीपक भण्डारीले बताए।

विगतमा पनि सरकारले जनक शिक्षा र निजी क्षेत्रको कार्य क्षेत्र निर्धारण गरेर पाठ्यपुस्तक छपाइ गर्दै आएको छ। सामान्यतया नयाँ शैक्षिक सत्रका लागि भदौको पहिलो साताभित्रै छपाइको जिम्मेवारी बाँडफाँट गरी काम सुरु गरिन्थ्यो तर यस वर्ष पाठ्यक्रम तथा पाठ्यपुस्तक परिमार्जनसम्बन्धी अन्योलका कारण निर्णयमा ढिलाइ भएको हो।

जनक शिक्षाका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार साउनदेखि नै पाठ्यपुस्तक छपाइ सुरु गर्नुपर्ने भए पनि पाठ्यक्रम परिमार्जनको अन्योलले काम प्रभावित भएको थियो। अहिले छपाइको जिम्मेवारी र पाठ्यक्रमसम्बन्धी विषयमा टुंगो लागेकाले काम अघि बढाउने तयारी गरिएको उनले बताए।

केन्द्रले छपाइका लागि आवश्यक तयारी तथा कार्यतालिका बनाइसकेको र निर्धारित समयमा पुस्तक छपाइ सम्पन्न गर्ने लक्ष्य राखिएको उनको भनाइ छ। जनक शिक्षामा पछिल्लो समय सरकारी संस्थालाई सक्षम बनाउने उद्देश्यले विभिन्न निकायका छपाइसम्बन्धी कामसमेत थपिँदै आएको छ। यसले कामको चाप बढाएको छ। केन्द्रका प्रेस पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा प्राविधिक जनशक्तिको व्यवस्थापनसमेत चुनौतीपूर्ण बन्दै आएको छ। यस्तो अवस्थामा निजी क्षेत्रलाई समेत छपाइमा सहभागी गराउने निर्णयले समयमै पाठ्यपुस्तक उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पाठ्यक्रम परिमार्जनमा अझै तीनदेखि चार वर्ष शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी शैक्षिक सत्रदेखि सबै कक्षाका पाठ्यपुस्तक एकैपटक परिमार्जन गरेर कार्यान्वयनमा ल्याउन नसकिने स्पष्ट पारेको छ। 

प्रकाशित: २९ आश्विन २०८३ १०:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App