३ चैत्र २०८२ मंगलबार
image/svg+xml
शिक्षा

प्याब्सन अध्यक्ष सिग्देलको निधनको शोकमा पर्सी ताप्लेजुङमा निजी विद्यालय बिदा

स्वर्गीय गणेश सिग्देल ।

जिल्ला प्याब्सन ताप्लेजुङका अध्यक्ष गणेश सिग्देलको निधनमा बुधबार ताप्लेजुङका निजी विद्यालयले शोक मनाउने भएका छन् । निजी विद्यालयले पठनपाठन नगरी शोक मनाउन लागेका हुन् ।  

जिल्ला प्याब्सन ताप्लेजुङको बैठकले कात्तिक १२ गते बुधवार निजी विद्यालयहरुको पठनपाठन बन्द गरी जिल्लाका सबै निजी विद्यालयमा शोक मनाउने निर्णय गरेको जिल्ला प्याब्सन ताप्लेजुङका उपाध्यक्ष देवराज गुरुङले जानकारी दिए ।  

पहिला त्रैमासिक परीक्षा सकिएका निजी विद्यालयले गत असोज ९ गते र पछि परीक्षा सकिएका विद्यालयहरुले असोज ११ गतेदेखि विद्यालयको पठनपाठन स्थगित गरी कात्तिक १२ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए ।  

त्रैमासिक परीक्षापछि दशैं, तिहार र छठपछि मात्र ताप्लेजुङका निजी विद्यालयहरुको पठनपाठन हुने गरेको थियो । त्यही अनुसार कात्तिक १२ गतेदेखि प्याब्सन आवद्ध विद्यालय सञ्चालन हुने गरी यसअघि नै सूचित गरिएको थियो ।  

जिल्ला प्याब्सनका उपाध्यक्ष गुरुङले जिल्ला प्याब्सनका अध्यक्ष सिग्देलको निधनपछि विद्यालय सुरु हुने पहिलो दिन शोकसभा गर्ने तर विद्यालयमा पठनपाठन नगर्ने निर्णय भएको जानकारी दिए ।  

अक्सफोर्ड मोडल बोर्डिङ स्कुलका प्रिन्सिपल समेत रहेका सिग्देलको गत असोज २८ गते ३७ वर्षको उमेरमा निधन भएको थियो । सिग्देल नेपाली कांग्रेस ताप्लेजुङका प्रवक्ता समेत थिए ।

 

प्रकाशित: १० कार्तिक २०८२ १५:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App