१९ कार्तिक २०८३ बिहीबार
image/svg+xml
शिक्षा

अब हुलाकबाटै त्रिविका शैक्षिक प्रमाणपत्र घरघरमा

त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट जारी हुने शैक्षिक प्रमाणपत्र तथा अन्य कार्यालयीय कागजात अब हुलाक सेवामार्फत विद्यार्थीको घरमै पुर्‍याइने भएको छ। शैक्षिक प्रमाणपत्र विद्यार्थीको ठेगानामा र कार्यालयीय कागजात सम्बन्धित कार्यालयमा पुर्‍याउन त्रिवि र हुलाक सेवा विभागबिच सम्झौता भएको छ। यसबाट प्रमाणपत्र लिन विश्वविद्यालयका कार्यालयमा धाउनुपर्ने बाध्यता अन्त्य हुने र विद्यार्थीको समय बचत हुने अपेक्षा गरिएको छ।

सम्झौतामा त्रिविका विभिन्न निकायबाट जारी हुने शैक्षिक प्रमाणपत्र तथा अन्य कार्यालयीय कागजात सम्पर्क नम्बर र पूर्ण ठेगानाका आधारमा हुलाकमार्फत सम्बन्धित विद्यार्थीसम्म पुर्‍याउने व्यवस्था गरिएको उल्लेख छ।

अहिले त्रिविबाट जारी हुने शैक्षिक प्रमाणपत्र लिन विद्यार्थी ७७ जिल्लाबाटै काठमाडौं आउनुपर्ने बाध्यता छ। यो बाध्यता अन्त्य गर्न र विद्यार्थीको समय बचत गर्न त्रिविले हुलाक सेवा विभागसँगको सहकार्यमा शैक्षिक प्रमाणपत्र विद्यार्थीले उपलब्ध गराएको ठेगानामा पुर्‍याउन लागिएको रजिष्ट्रार रवीन्द्र शिवाकोटीले बताए। विशेषगरी काठमाडौंबाहिरका विद्यार्थीको ठेगानामा प्रमाणपत्र पुर्‍याउने लक्ष्यसहित हुलाक सेवा विभागसँग सहकार्य गरेको शिवाकोटीको भनाइ छ।

‘यस व्यवस्थाले विशेषगरी काठमाडौं उपत्यकाबाहिर बस्ने विद्यार्थीलाई सहज हुने अपेक्षा गरिएको छ,’ शिवाकोटीले भने, ‘प्रमाणपत्र लिन विश्वविद्यालयसम्म आउनुपर्दा लाग्ने यातायात खर्च, समय र अन्य झन्झट कम हुनेछ। साथै रोजगारी, अध्ययन वा अन्य कामका कारण टाढा रहेका विद्यार्थीलाई समेत सेवा प्राप्त गर्न सहज हुनेछ।’

सम्झौताअनुसार शैक्षिक प्रमाणपत्र तथा अन्य कार्यालयीय कागजातको ढुवानी र वितरणलाई सुरक्षित, व्यवस्थित तथा पारदर्शी बनाउन पोस्टल इन्टरनल ट्र्याकिङ सिस्टम (पिआइटिएस) प्रयोग गरिनेछ। हुलाकबाट पठाइने कागजात ट्र्याकिङ बारकोडसहित प्रणालीमा दर्ता गरिने व्यवस्था गरिएको छ।

यस प्रणालीबाट कार्यालयीय कागजात वा शैक्षिक प्रमाणपत्र कहाँसम्म पुगेको छ र सम्बन्धित व्यक्ति वा कार्यालयले पाए नपाएको भन्ने अनुगमन गर्न सहज हुनेछ। रजिस्ट्रार शिवाकोटीले विश्वविद्यालयका प्रशासनिक सेवालाई हुलाक प्रणालीसँग जोडेर विद्यार्थीको घरदैलोसम्म पुर्‍याउने लामो समयदेखिको योजना कार्यान्वयनमा आएको बताए।

हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक सेवा नागरिक र राज्यबिचको भरपर्दो सम्पर्क माध्यम भएको उल्लेख गर्दै विश्वविद्यालयका कागजात र प्रमाणपत्र सम्बन्धित कार्यालय र व्यक्तिसम्म पुर्‍याउने जिम्मेवारी हुलाकले पाएको बताइन्।

सरकारले सार्वजनिक सेवा प्रवाहलाई सहज र नागरिकमैत्री बनाउने उद्देश्यले हुलाक सेवालाई सरकारी कागजात तथा सामग्री ढुवानी गर्ने प्रभावकारी संयन्त्रका रूपमा विकास गर्ने प्रयास गरिरहेको छ। सरकारले हुलाक सेवामार्फत राहदानी, सवारीचालक अनुमतिपत्र, विभिन्न सरकारी कागजात ढुवानी र वितरण गर्ने काम अघि बढाएको छ।

हुलाक सेवा विभागका अनुसार यसअघि शैक्षिक प्रमाणपत्र वितरणमा हुलाक सेवा प्रयोग भएको थियो। त्रिविसँग अहिले भएको सम्झौताले विश्वविद्यालयका प्रमाणपत्र पनि हुलाकमार्फत सम्बन्धित ठेगाानामा पुर्‍याइने छ।

नयाँ व्यवस्था प्रभावकारी बनाउन विद्यार्थीको सही ठेगाना र सम्पर्क नम्बर उपलब्ध हुनुपर्ने छ। सम्झौताको प्रभावकारी कार्यान्वयनसँगै विश्वविद्यालयको सेवा प्रवाह थप सहज, छरितो र विद्यार्थीमैत्री हुने विश्वास गरिएको छ।

कीर्तिपुरस्थित त्रिवि रजिस्ट्रार कार्यालयमा रजिस्ट्रार शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक भट्टराई पंगेनीले मंगलबार २२ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

प्रकाशित: १९ कार्तिक २०८३ ०६:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App