१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
शिक्षा

चार वर्षे स्नातकमा कुनै फेरबदल हुन्न : मन्त्री पुन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले चार वर्षे स्नातकलाई तीन वर्षेमा झार्दा अन्तर्राष्ट्रिय बजारमा नेपाली उच्च शिक्षा नै कमजोर हुने बताएका छन् । मन्त्री पुनले विश्वबजारमा नेपाली विश्वविद्यालयबाट उत्पादित जनशक्ति प्रतिस्पर्धा गर्न अन्तर्राष्ट्रिय मापदण्डका आधारमा क्रेडिट आवर पूरा गर्न पनि स्नातक चार वर्षे हुनैपर्ने जिकिर गरेका छन् ।

‘चार वर्षे स्नातकलाई तीन वर्षे बनाउँदा चार फुटको मान्छेको खुटा काटेर तीन फुट बनाउनुजस्तै हो,’ मन्त्री पुनले नागरिकसँग कुरा गर्दै भने, ‘विश्वभरिका बहुसंख्यक विश्वविद्यालयको स्नातक शिक्षा चार वर्षे नै छ । यसकारण विगतमा पनि तीन वर्षे स्नातक नेपालमा हुँदा विदेशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीले एक वर्ष थप कोर्स गर्नुपर्ने बाध्यता थियो । नेपाली तीन वर्षेको मान्यता विश्वमै थिएन ।’ उनले थपे, ‘यसकारण अब चार वर्षे स्नातक विश्वस्तरमा मान्यता भएकाले नेपालमा पनि चार वर्षे स्नातक नै रहन्छ, कुनै फेरबदल हुँदैन ।’ केही दिनअघि मन्त्रालयमा उच्च शिक्षाको सुधारको सवालमा विज्ञहरूसँग छलफल हुँदा केहीले तीन वर्षको स्नातकबारे पनि कुरा उठाएको मन्त्री पुनले खुलाए ।

‘केहीले स्नातकलाई तीन वर्षे बनाउनेबारे सवाल उठाउनुभएको थियो,’ मन्त्री पुनले भने, ‘तर नेपाली विश्वविद्यालयबाट उत्पादित जनशक्तिले विश्वबजारमा प्रतिस्पर्धा गर्नुपर्छ । विश्वका अन्य विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न जानुपर्छ । त्यस अवस्थामा चार वर्षे कोर्सले नै मान्यता पाउँछ ।’ उनले थपे, ‘चार वर्षको क्रेडिट आवर नै ठिक छ । नेपाली विद्यार्थी धेरैजसो अमेरिका नै जाने भएकाले चार वर्षे नै उचित ठहर्छ ।’ त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा. खड्ग केसीले पनि शिक्षामन्त्री पुनले आफूहरूलाई विश्वविद्यालयको शैक्षिक सुधारबारे छलफलका लागि बोलाउँदा पनि त्रिविका तर्फबाट चार वर्षे स्नातक नै उपलब्धिमूलक रहेको भन्ने प्रस्तुति गरेको जानकारी दिए ।

‘नेपालमा अमेरिकी शिक्षा प्रणाली मेल गराउन विगतको तीन वर्षे स्नातकलाई चार वर्षे बनाइएको हो,’ शिक्षाध्यक्ष केसीले नागरिकसँग भने, ‘नेपाली विद्यार्थीले नेपालबाट स्नातक हासिल गरेर अन्य देशमा फेरि थप एक वर्षको कोर्स गर्नुपर्ने झन्झट खेप्नुनपरोस् भनेर त्रिविले चार वर्षे कायम गरेको हो । विश्वका धेरै देशमा चार वर्षे स्नातक कायम छ । यसकारण विषयवस्तुहरूको गहन ज्ञानका लागि चार वर्षे स्नातक नै कायम राख्न मन्त्रीज्यूको निर्देशन छ ।’

त्रिविका पूर्वउपकुलपति प्राध्यापक डा. केशरजंग बरालले आफू उपकुलपति हुँदा व्यावसायिक विषयमा मात्र चार वर्षे र अन्य साधारण विषयमा तीन वर्षे स्नातकको छलफल चलाएको बताए । ‘धेरैजसो युरोपेली देशहरूमा र बेलायतमा तीन वर्षे स्नातक नै छ,’ पूर्वउपकुलपति बराल भन्छन्, ‘तर नेपालमा चार वर्षे स्नातक बोझिलो भएकाले तीन वर्षमा झार्ने भनिएको थियो । यसमा बहस पनि चल्यो तर नेपालीहरू धेरैजसो अमेरिका जाने भएकाले अमेरिकी शिक्षा प्रणालीसँग मेल खाने गरी चार वर्षे नै कायम गर्न जोड दिन थालियो ।’

शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइरालाका अनुसार तीन वर्षे र चार वर्षेको समयावधिभन्दा पनि क्रेडिट आवर मुख्य विषय हो । यदि क्रेडिट आवर पुग्ने गरी तीन वर्षे कोर्स बनाउन सके पनि विद्यार्थीलाई अध्ययन गर्न समयको बोझ नथपिने उनको ठहर छ । ‘पाँच दशकअघि दुई वर्षे स्नातक हामीले पढ्यौं । पुगेकै थियो । विश्वले मान्यता दिएकै थियो । त्यसपछि तीन वर्षे स्नातक भयो । यसले पनि मान्यता पाएकै थियो,’ शिक्षाविद् कोइरालाले नागरिकसँग भने, ‘चार वर्ष बनेको चार वर्षअघि नै हो । पहिलो ब्याच त्रिविबाट यसपटक पास भयो । छोटो र लामो समयभन्दा पनि अन्तर्राष्ट्रिय मापदण्डका आधारमा क्रेडिट आवरको व्यवस्था गरी तीन वर्षे स्नातका पनि डिजाइन गरी कार्यान्वयन गर्दा विद्यार्थीले छोटो समयमा स्नातक उपाधि पाउन सक्छन् । विश्वबजारमा प्रतिस्पर्धा गर्न जान सक्छन् ।’ तर नेपालमा कोर्समा पनि राजनीति भएको उनले बताए । ‘तीन वर्ष स्नातक गर्दा उत्पादित जनशक्ति व्यवस्थापनमा राज्यलाई चुनौती थपिने भएकाले पनि चार वर्ष बनाएको हो,’ उनले भने ।

प्रकाशित: ३१ आश्विन २०८२ २१:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App