नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कक्षा १२ को परीक्षाका क्रममा देशका विभिन्न परीक्षा केन्द्रमा देखिएको लापरवाहीप्रति कडा आपत्ति जनाउँदै सुधारको मागसहित राष्ट्रिय परीक्षा बोर्डको ध्यानाकर्षण गराएको छ।
संघका कार्यवाहक अध्यक्ष नविन पौडेल नेतृत्वको टोलीले आज सानोठिमी, भक्तपुरस्थित राष्ट्रिय परीक्षा बोर्डमा पुगेर महाशाखा प्रमुख तथा प्रवक्ता जयन्ती सत्यालमार्फत ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमार्फत परीक्षा व्यवस्थापनमा देखिएको गैरजिम्मेवारपूर्ण गतिविधिको घोर भर्त्सना गरिएको नेविसंघले जनाएको छ।
संघका अनुसार यस्ता घटनाले विद्यार्थीको मौलिक शैक्षिक अधिकारमाथि प्रत्यक्ष असर पुगेको छ। ज्ञापनपत्रमा चितवनस्थित इन्टरनेशनल कलेज परीक्षा केन्द्रमा नेपाली विषयको परीक्षाका क्रममा सुनगाभा कलेजका विद्यार्थीमाथि अन्यायपूर्ण व्यवहार भएको उल्लेख गरिएको छ।
विवरणअनुसार प्रश्नपत्र छपाइमा ढिलाइ हुँदा परीक्षा बिहान ८:३१ बजे सुरु गरिएको थियो। तर निर्धारित तीन घण्टा समय नदिई बिहान ११:१३ बजे नै उत्तरपुस्तिका संकलन गरिएको नेविसंघको दाबी छ। यसरी १७ मिनेट अगावै परीक्षा सकिँदा विद्यार्थीहरू आफ्नो पूर्ण क्षमताअनुसार लेख्नबाट वञ्चित भएको संघले जनाएको छ।
नेविसंघले यस्ता समस्या चितवनमा मात्र सीमित नरही भैरहवा, काठमाडौंको बालकुमारी कन्या कलेज, नुवाकोट लगायत विभिन्न परीक्षा केन्द्रमा पनि दोहोरिएको दाबी गरेको छ। यसले समग्र परीक्षा प्रणालीको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको संघको भनाइ छ।
संघले दोषीमाथि कडा कारबाही गर्न, पीडित विद्यार्थीलाई न्याय दिन तथा परीक्षा व्यवस्थापनमा देखिएका कमजोरी तत्काल सुधार गर्न माग गरेको छ। साथै प्रश्नपत्र वितरणमा हुने ढिलाइ अन्त्य, प्रभावकारी अनुगमन प्रणाली विकास तथा परीक्षा केन्द्रहरूमा जिम्मेवारी र पारदर्शिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।
नेविसंघले विद्यार्थीलाई भयमुक्त, निष्पक्ष र सहज वातावरणमा परीक्षा दिन पाउने अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। मागहरू बेवास्ता गरिए सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत संघले दिएको छ।
प्रकाशित: १७ वैशाख २०८३ १४:२३ बिहीबार





