२२ चैत्र २०८२ आइतबार
image/svg+xml
शिक्षा

नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्ना गर्न मन्त्रालयकाे निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्ना गर्न निर्देशन दिएको छ। 

केही संस्थागत विद्यालयले कानुनी व्यवस्था विपरीत अग्रिम रूपमा विद्यार्थी भर्ना गर्ने र भारी शुल्क असुल्ने गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्ना गर्न निर्देशन दिएको हो।

आज (आइतबार) प्रवक्ता शिवकुमार सापकोटाले प्रेस विज्ञप्ति जारी गरेर केही विद्यालयले शैक्षिक सत्र २०८३ सुरु हुनुअघि नै विद्यार्थी भर्ना गर्ने र शुल्क असुल्ने गरेको सप्रमाण तथ्यहरू सार्वजनिक भएको भन्दै यो दण्डनीय भएको बताए। उनले विद्यालय सञ्चालन जस्तो जिम्मेवार र गरिमामय क्षेत्रमा यस्ता गैरकानुनी गतिविधि अशोभनीय मात्र नभई दण्डनीयसमेत हुने भन्दै सबै विद्यालयलाई सचेत रहन आग्रह गरे।

सबै विद्यालयहरूलाई नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्र विद्यार्थी भर्ना गर्न र संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ मा तोकिएको बाहेक अन्य कुनै शुल्क नलिन विज्ञप्तीमार्फत उनले निर्देशन दिए। अभिभावकबाट कानुन विपरीत रूपमा असुल गरिएको भर्ना शुल्क सम्बन्धितलाई फिर्ता गराउन आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सबै स्थानीय तहलाई मन्त्रालयले अनुरोध गरेको छ। 

मन्त्रालयले तोकिएको समयभित्र शुल्क फिर्ता नगर्ने विद्यालयहरूलाई शिक्षा ऐन, २०२८ लगायत प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी शैक्षिक सत्र बैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेकाे छ।

प्रकाशित: २२ चैत्र २०८२ १९:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App