त्रिभुवन विश्वविद्यालयको अध्ययन बिदाको सुविधा लिएर बिदा दुरुपयोग गर्नेमा सबैभन्दा बढी इन्जिनियरिङ अध्ययन संस्थानका शिक्षक/कर्मचारी रहेको फेला परेको छ ।
त्रिभुवन विश्वविद्यालयले आफ्ना शैक्षिक गुणस्तर अभिबृद्धि गर्न र शिक्षक कर्मचारीहरुको दक्षता र क्षमता समेत अभिबृद्धि गर्न अध्ययन बिदाको सुविधा दिँदै आएको छ । तर अध्ययन बिदा लिएर विदेसिएका हराउँदै गएपछि त्रिविले खोजी सुरु गर्दा ४०१ जनाले बिदाको सेवासुविधा दुरुपयोग गरेको फेला परेको छ ।
जसमध्ये १९५ शिक्षक/कर्मचारीहरु अध्ययन बिदाको सुविधा लिए पनि त्रिविमा कहिल्यै फर्केनन् । नफर्केनेहरुमा सबैभन्दा बढी इन्जिनियरिङ्ग अध्ययन संस्थानका शिक्षक/कर्मचारी रहेको देखिएको छ। नर्फकने १९५मध्ये ६४ जना शिक्षक/कर्मचारी इन्जिनियरिङ्ग अध्ययन संस्थानका छन् भने विज्ञान तथा प्रविधि अध्ययन संस्थानका ५७ जना शिक्षक कर्मचारी अध्ययन बिदा पुरा गरेर पनि त्रिविमा कहिल्यै फर्केनन् ।
वन विज्ञान अध्ययन संस्थानका १७, कृषि र पशु विज्ञानका अध्ययन संस्थानका ११, चिकित्साशास्त्र अध्ययन संस्थानका ६ र मानविकी तथा समाजिक शास्त्र संकायका ३२ शिक्षक कर्मचारी अध्ययन पुरा गरी त्रिविमा फर्केनन् । यसैगरी शिक्षाशास्त्र संकायका ७, व्यवस्थापन संकायका १ जना अध्ययन बिदा लिएर अध्ययन पुरा गरि पनि विदेशमै बसेका छन् ।
अध्ययन बिदा लिएर त्रिविमा अध्ययन पुरा गरे/नगरेका र त्रिविमा नफर्केकाको बारे खोजविन गर्न त्रिविले त्रिविका उपप्राध्यापक डा जीवन काफ्लेको संयोजकत्वमा गठन गरेको खोजविन समितिले त्रिविमा हालसम्म चार सय शिक्षक कर्मचारीले अध्ययन बिदा लिएर त्यसको दुरुपयोग गरेको प्रतिवेदन पेस गरेको छ ।
प्रतिवेदनको सिफारिसमा बिदा दुरुपयोग गर्नेहरुसँग रकम असुल उपर गर्नु पर्ने र रकम असुली गर्ने हो भने २ अर्ब रकम असुली हुन सक्ने अनुमानसहितको प्रतिवेदन बुझाएको छ ।
अध्ययन पुरा गरी त्रिविमा प्रमाणपत्र पेश नगरेको संख्या भने २०६ रहेको समिति संयोजक डा काफ्ले बताए ।अध्ययनको शैक्षिक प्रमाणपत्र नपेस गर्नेहरुमा सबै भन्दा बढी मानविकी तथा समाजिक शास्त्र संकायका छन् । मानविकी तथा समाजिक शास्त्र संकायका ८६ शिक्षक कर्मचारीले अध्ययन पुरा गरेको शैक्षिक प्रमाणपत्र अझैसम्म पेस नगरेको डा. काफ्लेले बताए ।
विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फ ४८ शिक्षक/कर्मचारी र इन्जिनियसिरङ्ग तर्फका ३८ शिक्षक कर्मचारीहरुले शैक्षिक प्रमाणपत्र बुझाएका छैनन् । वन विज्ञानका ८ जना, कृषि तथा पशु विज्ञानका १ जना,चिकित्सा शास्त्रका ३ जना,शिक्षा शास्त्रका ४ जना र व्यवस्थापनका १७ र कानुनका १ जनाले शैक्षिक प्रमाणपत्र बुझाएका छैनन् ।
‘त्रिविले हराएका शिक्षक/कर्मचारी बारे अध्यययन गरि चार सयको रेकर्ड निकालेको छ। कात्तिक १४ गते त्रिविले सार्वजनिक सूचना प्रकासित गरि अध्ययन बिदा दुरुपयोग गरेकालाई सम्पर्कमा आउन आह्वान गरेको थियो,’ अध्ययन बिदा सुव्यवस्थापन तथा कार्यन्वयन समितिका अध्यक्ष डा. काफ्लेले भने,‘इन्जिनियरिङ्ग प्राविधिक विषय भएकोले धेरै शिक्षक कर्मचारी अध्ययन बिदा लिएर विदेसिनु भयो । उतै अवसर पाएर विदेशमै बस्नुभयो ।’
उनले थपे,‘दुई सयभन्दा बढीले योग्यता पुरा गरेको प्रमाणपत्र बुझाउनु भएको छैन । उहाँहरुले बिदा लिएर पनि अध्ययन पुरा नगरेको देखियो । यसकारण त्रिविले कारवाहीको प्रकृया अगाडि बढाएको छ ।’
शुक्रबार सूचना सार्वजनिक गरेपछि आइतबार १० जना सम्पर्कमा आएर रकम फिर्ता गर्न सकरात्मक रहेको पाइएको उनले बताए। उनले भने, ‘सबैले अध्ययन बिदा वापतको सेवासुविधा फिर्ता गर्ने हो भने त्रिविमा दुई अर्ब रकम असुल उपर हुन्छ । त्रिवि कार्यकारीले असुल हुने रकम त्रिवि पेन्सन फण्डमा जम्मा गर्ने निर्णय गरिसकेको छ ।’
प्रकाशित: १६ कार्तिक २०८२ २१:५६ आइतबार





