काठमाडौं उपत्यकाका मेयरहरूले वैशाख १५ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न गराउन स्थानीय तहहरूलाई आग्रह गरेका छन्।
काठमाडौं उपत्यका मेयर्स फोरमको बुधबारको बैठकले वैशाख ११ देखि नयाँ विद्यार्थी भर्ना अभियान सुरु गर्न र १५ गतेदेखि नियमित पठनपाठन गर्न उपत्यकाका पालिकाहरूलाई अनुरोध गर्ने निर्णय गरेको हो।
नेपालको संविधानले आधारभूत र माध्यमिक शिक्षा स्थानीय तहको अधिकार सूचीअन्तर्गत राखेको उल्लेख गर्दै फोरमले भनेको छ, ‘हरेक स्थानीय तहले शैक्षिक सत्र शुरु हुनु अगावै विद्यालय सञ्चालनका लागि शैक्षिक क्यालेन्डर तयार गरी कार्यान्वयन गर्दै आएको अवस्थामा नेपाल सरकारको उक्त सूचनाबाट विद्यालय सञ्चालनमा अन्योलता सिर्जना भई नियमित शैक्षिक क्रियाकलापमा असर पर्न गएकोमा उपत्यका मेयर्स फोरमको गम्भीर ध्यानाकर्षण भएको छ।’
सबै सरोकारवाला निकायहरूको गुनासोसमेतको विश्लेषण गर्दा विद्यार्थीको सिकाइ उपलब्धिमा हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न र उपत्यकाको शैक्षिक वातावरणमा एकरूपता कायम गर्न सबै विद्यालयमा शैक्षिक सत्र सञ्चालनको भावनाअनुरूप पठनपाठन सुचारु गर्न आवश्यक देखिएको फोरमले बताएको छ।
फोरमले इन्धन संकटलाई ध्यानमा राख्दै विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकता दिन र अनलाइन कक्षालगायत वैकल्पिक उपायको तयारी गर्नसमेत आग्रह गरेको छ।

प्रकाशित: ९ वैशाख २०८३ १८:१७ बुधबार




