हालैको एसइई परीक्षामा शतप्रतिशत नतिजा ल्याएर पालिकाकै सर्वोत्कृष्ट घोषित भयो भक्तपुरको बाल प्रभा विद्यालय। बाल सुधार गृहमा आश्रित विद्यार्थीहरूलाई शिक्षा दिने उपत्यकाकै एकमात्र नमूना विद्यालय पनि हो यो।
यस सफलताको पछाडि एउटा तीतो यथार्थ पनि लुकेको छ। विद्यालय, आफैँ शिक्षक र भौतिक पूर्वाधारको चरम अभावमा गुज्रिरहेको छ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोठिमीस्थित यस विद्यालयले देशभरका बाल सुधार गृहमा रहेका बालकहरूलाई शिक्षा प्रदान गर्दछ।
विभिन्न गल्तीका कारण सजाय भोगिरहेका १८ वर्षमुनिका बालबालिकालाई सुधार्ने उद्देश्यले सञ्चालित यस विद्यालय युसेप नेपालको व्यवस्थापनमा छ। तर, विद्यालयको सफलता र उद्देश्यअनुरूप स्रोतसाधन भने उपलब्ध हुन सकेको छैन।
विद्यालयका प्रधानाध्यापक राज्यलक्ष्मी श्रेष्ठका अनुसार, विद्यालयमा दरबन्दी अनुसारका शिक्षक छैनन्। अंग्रेजी र सामाजिकजस्ता महत्त्वपूर्ण विषयका लागि शिक्षक अभाव छ। जसकारण अन्य शिक्षकले नै अतिरिक्त भार बोक्नुपरेको छ।
‘विद्यालयमा ६ वटा कक्षाका लागि ६ जना मात्र शिक्षक छौँ। कोही प्रशासनिक काममा बाहिर जानुपर्यो वा बिदामा बस्यो कि कक्षा नै बन्द हुन्छ,’ उनी भन्छिन्, ‘हामी शिक्षकहरू एकछिन पनि टसमस हुन मिल्दैन।’
भौतिक पूर्वाधारको अवस्था पनि उस्तै दयनीय छ। एउटा दुईतले पक्की भवनबाहेक आधाभन्दा बढी कक्षाहरू टहरामा सञ्चालन भइरहेका छन्। डेस्क, बेन्चजस्ता आधारभूत फर्निचरको समेत अभाव रहेको विद्यालयले जनाएको छ।
विद्यालयको समस्याबारे जानकारी पाएपछि मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले निजी स्रोतबाट भए पनि शिक्षक थपिदिने आश्वासन दिएका छन्।
एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्न आयोजित एक कार्यक्रममा उनले विद्यालयलाई आवश्यक फर्निचरलगायतका अन्य सहयोग गर्ने प्रतिबद्धता जनाए।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरू सुरक्षाका कारण विद्यालय परिसरबाट बाहिर जान पाउँदैनन्। उनीहरूको पहिचान गोप्य राख्नुपर्ने भएकाले विद्यालयभित्र फोटो तथा भिडियो खिच्नसमेत निषेध गरिएको छ।
एसइई उत्तीर्ण गरेपछि पनि माथिल्लो तहको अध्ययनका लागि उनीहरूले सोही परिसरभित्र रहेर स्व-अध्ययन गर्नुपर्ने बाध्यता छ।
प्रकाशित: ३२ असार २०८२ २०:०८ बुधबार





