२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
शिक्षा

जाडो बढेपछि उदयपुरका चारै नगरका विद्यालयमा बिदा

चिसो अत्याधिक बढेपछि उदयपुरका स्थानीय तहहरुले विद्यालय बिदा दिएका छन् । सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका, पश्चिमको कटारी नगरपालिका, पूर्वका चौदण्डीगढी र बेलका नगरपालिकाले सामुदायिक तथा सँस्थागत सबै विद्यालय बिदा दिएका हुन् ।  

अत्याधिक जाडोले जनजीवन प्रभावित भएपछि बालबालिका विद्यालय आउजाउ गर्न नसक्ने परिस्थिति उत्पन्न भएको भन्दै स्थानीयतहहरुले स्कुल बिदा दिएको जनाएका छन् । त्रियुगा, बेलका र कटारीले १६ देखि १८ गतेसम्म ३ दिन बिदा दिएका छन् ।  

चौदण्डीगढीले भने अनिश्चितकालीन बिदा दिएको सूचनामा उल्लेख छ । जाडो अत्याधिक बढेकाले अर्को सूचना नभएसम्मका लागि नगरभित्र सञ्चालित सामुदायिक तथा सँस्थागत सबै विद्यालय बिदा दिइएको चौदण्डीगढी नगर शिक्षा शाखाले जारी गरेको सूचनामा उल्लेख छ ।  

त्रियुगा, कटराी र बेलका नगरपालिकाले मङ्गलबार साँझ सूचना जारी गर्दै जाडो अत्याधिक बढेका कारण जनजीवन प्रभावित भएकाले विद्यालयको पठनपाठन रोक्ने निर्णय गरेको जनाएका छन् । तीनै नगरपालिकाले पुस १६, १७ र १८ गतेसम्म ३ दिन स्कुल बिदा दिइएको सूचनामा उल्लेख छ ।  

सातादिनयता बढेको चिसो लगभग ४–५ दिनयता अत्याधिक बढ्नुका साथै हुस्से र तुवालो लागेर बाटै नदेखिने अवस्था सृजना भएको छ । घाम झुल्कने र अस्ताउने थाहा नपाउने गरि हुस्से लाग्नुका साथै बाक्लो परेको तुसारोले सडकहरु भिज्ने गरेको छ । गाईघाट, कटारीको तापक्रम बिहान १३ देखि मध्यान्ह १८ हुँदै राति १३–१४ डिग्री सेल्सियससम्म छ ।  

बिदाबारे त्रियुगा नगरको सूचना 

स्थानीयले यसवर्ष अहिलेसम्मकै बढी चिसो भउको प्रतिकृया दिएका छन् । गाईघाट बजारका पुराना व्यापारी ८७ वर्षीय जगदिश गुप्ता जीवनमा सबभन्दा बढी जाडो यसैपालि भोगको बताउँछन् । हिउदयाममा जाडो हुनु प्राकृतिक नियम भएको तर, यसपालि अत्याधिक जाडो भएको उनको अनुभव छ ।  

अर्का वृद्ध केदारबहादुर थापालाई पनि यो वर्षको जाडो अहिलेसम्मकै धेरै भएको महसुस भएको छ । ‘पहिला पहिला पनि जाडो त हुन्थ्यो तर घाम पनि लाग्थ्यो’ वृद्ध थापाले भने ‘यसपालि त चिसो पनि सारै बढी छ, घाम नदेखेको पनि कतिदिन भईसक्यो ।’ जाडोले खासगरि आफुहरुजस्तो बुढाबुढी र बालबालिका प्रभावित हुने गरेको उनले बताए ।  

जाडो भगाउन बजार चोकचोकमा स्थानीयहरु आगो बालेर ताप्ने गरेका छन् । दाउरा नपाएका कारण झिँझाझिँजी, कागज र प्लास्टीक बालेर आगो ताप्न बाध्य हुँदा स्वास्थ्यमा असर पर्नेतर्फ भने उनीहरुको ध्यान गएको छैन ।

जाडोयाममा स्थानीय जनप्रतिनिधिले डिभिजन वन कार्यालयसँग सहकार्य गरेर दाउरा वितरण गर्ने गरेकोमा यसवर्ष दाउरा अभाव भएको भन्दै वितरण नहुँदा जाडोबाट राहत पाउन स्थानीयलाई गाह्रो भएको छ । बजारबासीले आगो ताप्न आवश्यक दाउराको व्यवस्था गर्न जनप्रतिनिधिसँग माग गरिरहेका छन् । 

प्रकाशित: १६ पुस २०८२ १६:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App