१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

सरकारी स्कुलमा विद्यार्थी टिकाउन बाल बचत खाता

इलामको सूर्याेदय नगरपालिकास्थित पुन्यमाता आधारभूत विद्यालयमा बाल बचत खाता कार्यक्रम उद्घाटन गरिँदै।तस्बिर: नागरिक

सामुदायिक विद्यालयमा बालबालिका आकर्षित गर्न कतै अंग्रेजी माध्यममा पढाइँदैछ, कतै  निजीमा झैं सामुदायिक विद्यालयको पोसाक नै टाइसुट निर्धारण गरिएको छ। तर, सूर्याेदय नगरपालिकाले भने अहिलेसम्मकै सम्भवतः देशमै नयाँ योजनासहित सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित गर्ने अवधारणा ल्याएको छ।

सूर्याेदयले सामुदायिक विद्यालयको आधारभूत तहका प्रत्येक बालबालिकाको बचत खाता खोलिदिने र उनीहरूले प्रत्येक महिना गर्ने बचतमा दोब्बरभन्दा बढी रकम थपिदिएर उनीहरूलाई आकर्षित गर्न थालेको हो।  

बिहीबार नगरपालिकाको पुन्य स्मारिका आधारभूत विद्यालयबाट बाल बचत खाता अभियानको औपचारिक सुरुआत गरिएको छ। मेयर रणबहादुर राईले यो वर्ष नगरका २ हजार १ सय ५ बालबालिकाको बचत खाता खोलिदिने जानकारी दिए। ‘चालु वर्ष नगरले १ देखि ५ कक्षासम्मका बालबालिकाको बचत खाता खोलिदिने छ,’ उनले भने, ‘यसलाई बढाएर कक्षा ८ सम्मै पु¥याइने छ।’

अहिले प्रत्येक बालबालिकाले आफूले खोलेको खातामा मासिक ५० रुपैयाँ जम्मा गर्नेछन्। नगरले यसका लागि राष्ट्रिय वाणिज्य बैंकसँग सहकार्य गरेको छ। यसरी बालबालिकाले खोल्ने खातामा बैंकले सय रुपैयाँ थपिदिने छ, ब्याजसमेत दिनेछ भने नगरले कार्यविधिअनुसार निश्चित विन्दुसम्म थप प्रतिशत रकम अनुदान दिनेछ। मेयर राईले २ हजार १ सय ५ बालबालिकाको खाता चाहिँ आउँदो मंसिरभित्रै खोलिसकिने बताए। ‘यो बचत खाता अवधारणाले बालबालिकाको कक्षा छाड्ने दर घट्ने, सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित हुने र बालबालिकामा बचत गर्ने बानी विकास हुनेछ,’ उनले भने, ‘सानैदेखि बैंकिङ कारोबार गर्दा बालबालिकामा वित्तीय साक्षरतासमेत हुनेछ।’  

बालबालिकामा जंकफुड प्रयोग कम हुने, बैंकसम्मको पहुँच सबै बालबालिकामा पुग्ने र यही बचतले पछि उनीहरूको उच्च शिक्षामा ठूलो आर्थिक सहयोग मिल्ने उनले बताए। ‘झट्ट हेर्दा सामान्य देखिए पनि यो कार्यक्रम निकै प्रभावकारी हुन्छ भन्ने आशा छ,’ उनले भने, ‘यसलाई कार्यान्वयन गर्न कार्यविधि तयार गरिएको छ।’  

नगर र बैंकले दिएको अनुदान चाहिँ बालबालिकाले कक्षा ८ पूरा गरेपछि मात्रै पाउने भएकाले विद्यार्थीले कक्षा ८ सम्मको पढाइलाई निरन्तरता दिने नगरले अपेक्षा गरेको छ। ‘यसमा बालबालिकाले धेरै लगानी गर्नुपर्दैन, नगरले बोनस वा उनीहरूको बचतमा ब्याज थपका रूपमा अनुदान दिन्छ तर कक्षा ८ पास नगरी पढाइ छाड्न पाइने छैन,’ मेयर राईले भने, ‘कक्षा ८ अघि नै कोही विद्यार्थी निजी वा पालिकाबाहिरको स्कुल जान्छ भने उसले थप सुविधा लिन पाउने छैन।’ मेयर राईले बालबालिकाले आधारभूत शिक्षा निःशुल्क र अनिवार्य पाऊन भन्ने ध्येयले नगरले बाल बचत कार्यक्रम ल्याएको जनाए। यो कार्यक्रमबाट बालबालिकाको फजुल खर्च पनि घट्ने उनको भनाइ छ।  

नगरका २४ विद्यालयको कक्षा १ देखि ८ सम्म ४ हजार ५ सय २१ बालबालिका रहेको नगरका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिए। ‘कक्षा छाड्ने विद्यार्थीको दर २–३ प्रतिशतजति छ तर गरिब र जेहेन्दार विद्यार्थीलाई समेत कक्षा ८ सम्मको पढाइमा निरन्तरता दिन यो कार्यक्रमले सहयोग गर्नेछ,’ भट्टराईले भने।

प्रकाशित: २४ कार्तिक २०७९ १४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App