१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

परिमार्जित पाठ्यक्रम लागू भएका विद्यालयमा अनुगमन

परीक्षणका रुपमा परिमार्जित पाठ्यक्रम लागू भएका बैतडीका विद्यालयमा अनुगमन गरिएको छ। पाठ्यक्रम विकास केन्द्रका निर्देशककोसहितको टोलीले विद्यालयमा पुगेर अनुगमन गरेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए।  

परीक्षणका रुपमा पाठ्यक्रम लागू भएका विद्यालयमा पाठ्यक्रममा लागू गर्दा देखिएका समस्या, आगामी दिनमा सुधार गर्नुपर्ने लगायतका विषयमा बुझ्न अनुगमन गरिएको हो। पाठ्यक्रम विकास केन्द्रले देशभरका २८ विद्यालयमा  कक्षा ५ को परिमार्जित पाठ्यक्रम लागू गरेको छ। स्थलगत अध्ययनपछि पाठ्यक्रममा थप सुधार गरेर आगामी शैक्षिक सत्रबाट देशैभर लागू हुने बताइएको छ।  

बैतडीको दशरथचन्द नगरपालिका–१ स्थित केदार आधारभूत विद्यालय डोडरचौर, नेपाल राष्ट्रिय आधारभूत विद्यालय पाली र जगन्नाथ आधारभूत विद्यालय नौहाटमा परिमार्जित पाठ्यक्रम परीक्षणका रुपमा लागू गरिएको कार्यालय प्रमुख अवस्थीले बताए। यस्तै कक्षा ८ र १० को परिमार्जित पाठ्यक्रम निङ्गलाशैनी मावि देहीमाडौं र दशरथचन्द मावि सुन्दरखालीमा परीक्षणका रुपमा लागू गरिएको बताइएको छ। ती पाँचओटै विद्यालयमा पाठ्यक्रम विकास केन्द्रका निर्देशक कृष्णप्रसाद बस्याल र पाठ्यक्रम अधिकृत नवीन खड्कासहितको टोलीले अनुगमन गरेको हो।

शैक्षिक सुधारमा विद्यालय छनोट

चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका ५८ विद्यालय छनोट भएका छन् । जिल्लाका १० वटै स्थानीय तहका विद्यालयमा उक्त कार्यक्रममार्फत विद्यालय भवन निर्माण र आईसीटी ल्याव स्थापना गरिने छन्। शैक्षिक सुधार कार्यक्रममा आवेदन दिएका २ सय २१ विद्यालयमध्ये ५८ विद्यालय छनोट भएका हुन्।

सबैभन्दा बढी पुर्चाैडी नगरपालिकाका १३ वटा विद्यालय छनोट भएका छन् भने मेलौली नगरपालिकाका ८, सिगास र सुर्नया गाउँपालिकाका ६/६, पाटन नगरपालिकाका ५, डिलासैनी, दोगडाकेदार, पञ्चेश्वर, शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकामा ४/४ वटा विद्यालय छनोट भएका छन्। ती विद्यालयमा आइसीटी ल्याब स्थापना, ४ कोठे र २ कोठे भवन निर्माण गरिने छन्।  

यो आर्थिक वर्षमा २१ वटा विद्यालयमा आइसीटी ल्याब स्थापना हुनेछ भने ३७ वटा विद्यालयमा दुई तथा चार कोठे भवन निर्माण हुने छन्। आइसीटी ल्याबका लागि ६ लाख ५० हजार बजेट विनियोजन गरिएको र दुई कोठे भवनका लागि २५ लाख तथा ४ कोठे भवनका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए।

प्रकाशित: ७ आश्विन २०७९ १२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App