१२ आश्विन २०७९ बुधबार
शिक्षा

सामुदायिकमा विषयगत शिक्षक नहुँदा सिकाइ कमजोर

फाइल तस्बिर

सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि कमजोर हुुनुको मुख्य कारण विषयगत शिक्षकको अभाव रहेको एक सरकारी अध्ययनले देखाएको छ।

माध्यमिक शिक्षा परीक्षा (एसइई) र माध्यमिक शिक्षा परीक्षा (कक्षा १२) को नतिजा बर्सेनि खस्कँदै गएर विद्यार्थीको सिकाइ उपलब्धिसमेत कमजोर बन्दै गएपछि सरकारले सामुदायिक माविको कार्यसम्पादन परीक्षण गरेको हो। शिक्षा, विज्ञान तथा प्राविधिक मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले ६ वर्ष लगाएर गरेको अध्ययनले सामुदायिक माविमा मुख्यतः मानवीय पक्षमै कमजोरी रहेको औंल्याएको छ। अर्थात् शिक्षकको योग्यता, उनीहरूलाई दिइएको तालिमका साथै उनीहरूको कार्यसम्पदान मूल्यांकन आदिलाई मानवीय पक्षका रूपमा अध्ययन गरिएको थियो।

विद्यालय कार्य सम्पादन परीक्षण प्रतिवेदन, २०७८ ले सातै प्रदेशमा रहेका माविको अवस्था सामान्य मात्र रहेको देखाएको छ। प्रतिवेदनमा ६० जिल्लाका ४ हजार ८ सय ६७ माविमा अध्ययन गर्दा ८२ प्रतिशतभन्दा बढी विद्यालय सामान्य अवस्थामा रहेको देखिएको छ। अर्थात् ३ हजार ९९० विद्यालय सामान्य अवस्थामा मात्र छन्। यीमध्ये पनि ४० देखि ५९.९९ प्रतिशत अंक प्राप्त गर्ने १ हजार ७ सय १३ (३५.१९ प्रतिशत) छन्।

यस अर्थमा कमजोर विद्यालयको संख्या धेरै देखिन्छ। १५.८२ प्रतिशत विद्यालय मध्यम अवस्थाका छन्। १.४३ प्रतिशत विद्यालय कमजोर अवस्थामा र ०.१४ प्रतिशत विद्यालय मात्र उत्तम अर्थात् अब्बल अवस्थामा रहेको पाइएको छ। अब्बल अवस्थाका विद्यालय देशभरि ६ वटा मात्र पाइएको छ। यस अर्थमा पनि सामुदायिकतर्फ अब्बल स्कुल नगण्य रहेको देखिएको हो।

जसको मुख्य कारण यस्ता विद्यालयहरूमा मावि तहमा विषयगत शिक्षकको चरम अभाव रहेको प्रतिवेदनले उजागर गरेको छ। ‘मावि तहका विद्यालयमा न्यूनतम शिक्षक पनि छैन। विषयगत शिक्षकको चरम अभावमा स्कुल चलेका छन्,’ प्रतिवेदनले औंल्याएको छ, ‘विद्यालय, पालिका र जिल्लागत रूपमा शिक्षक–विद्यार्थी अनुपात फरकफरक पाइएकाले विद्यालयमा सामान्य रूपमा शिक्षक दरबन्दी वितरण र मिलानका लागि न्यूनतम मापदण्डसहितको नीतिसमेत तय गरिएको छैन।’ परीक्षण केन्द्रले विज्ञहरूको टोली खटाएर स्थलगत रूपमा अध्ययन गराएको केन्द्रका महानिर्देशक शिवकुमार सापकोटाले बताए।

उनका अनुसार देशभरि ६ हजार ८ सय ८५ मावि रहेकोमध्ये हाललाई ६० जिल्लाको ४ हजार ८ सय ६७ माविको समग्रस्तर निर्धारण गर्ने आधार तयार गरी अंकसहितको परीक्षण गरिएको हो।

जसअनुसार कुल पुर्णायक सय मध्ये ४० प्रतिशत भन्दा कम अंक प्राप्त गर्ने विद्यालयहरूलाई कमजोर समूहमा राखिएको छ। यसैगरी ४० देखि ७० प्रतिशत अंक प्राप्त गर्ने स्कुलहरूलाई समान्य , ७० देखि ९० प्रतिशत अंक प्राप्त गर्ने स्कुललाई मध्यम र ९० र सो भन्दामाथिको अंक प्राप्त गर्ने स्कुललाई उत्तम वर्गमा वर्गीकृत गरी अध्ययन गरिएको उनले जनाए।  

‘विद्यालयहरूमा जग्गा, खानेपानी, शौचालय, भवन, खोल सामग्री, कम्प्युटर, पुस्तकालय, प्रयोगशाला जस्ता स्रोतसाधनको समान रूपमा उपलब्धता देखिँदैन,’ महानिर्देशक सापकोटाले नागरिकसँग भने ‘विद्यालयल स्थापनाका बखत हुनुपर्ने न्यूनतम सेवा सुविधा तथा स्थापना पश्चात वितरण गरिने स्रोत साधानसम्बन्धी स्पष्ट निति तयार गरिनु पर्ने देखिन्छ।

विद्यालयमा समुदायको सहभागिता तथा लगानी कमजोर देखिन्छ। विद्यालयको कार्य प्रगतिप्रति शिक्षकको तुलनामा अभिभावक र विद्यार्थीको सन्तुष्टिको स्तर पनि कमजोर देखिएको छ। सो वृद्धि गर्न यो प्रतिवेदनले नैतिक दबाब सिजना गर्छ। अब विद्यालय समुदाय र स्थानीय तहलाई परिचालन गर्ने किसिमको नीतिगत व्यवस्था गर्नु आवश्यक देखिन्छ।’

विद्यालय कार्य सम्पादन एकाइ परीक्षणकि अधिकृत एवं अनुसन्धानमा सहभागिता जनाएकी शशी पोखरेलका अनुसार ८२ प्रतिशत् अर्थात करिब ४ हजार विद्यालयमा गणित, विज्ञान, अंग्रेजी , समाजिकलगायतका विषयमा शिक्षक नै छैनन्। यस्तो अवस्थामा एसइई र कक्षा १२ को नतिजा सुधार ल्याउन चुनौती देखिएको उनको विश्लेषण छ।

‘अध्ययनले विशेषगरी कक्षा १० चलेका र एसइई परीक्षामा सहभागिता जनाएको माविलाई समेटिएको थियो,’ अधिकृत पोखरेलले नागरिकसँग भनिन्, ‘हामी स्थलगत अध्ययनमा पुग्दा धेरै स्कुलमा छात्रा शौचालयमा पानी अभावकै कारण महिनाबारीमा अझै पनि छात्राहरू विद्यालय नआउने, शौचका लागि घर फर्किएका विद्यार्थी पुनः विद्यालय फर्कदैँनन्। पुस्तक जतन गरेर पढ्न सक्दैनन ्भनेर विद्यार्थीलाई पुस्तकालय प्रवेश गराइँदैन।

यसले कक्षा छाड्ने अर्थात् ड्रपआउट दर पनि बढी देखियो।’ यति मात्र होइन उनका अनुसार कक्षाकोठाभित्रको व्यवस्थापन दिक्क लाग्दो देखियो। पानी नभएकै कारण धेरै विद्यालयको शौचालयमा तला लगाइएको छ भने विद्यालय परिसरमै फोहोरको थुप्रो देखिन पाइन्छ। यसको प्रत्यक्ष सरोकार शिक्षक र कर्मचारीको जिम्मामा पर्ने भएकोले यस पक्षका बारेमा विद्यालयले ध्यान दिनुपर्ने प्रतिवेदनले सुझाव दिएको छ।

९० र त्योभन्दा माथि अंक प्राप्त गरेको ६ अब्बल विद्यालयमध्ये उत्तम विद्यालय कास्कीको बाटुलेचौर मैदानमा रहेको बिन्ध्यबासिनी मावि रहेको छ। यस विद्यालयले ९४.५९ अंक प्राप्त गरेको छ। दोस्रो स्थानमा भक्तपुरको व्यासीमा रहेको एभरेष्ट इंग्लिस स्कुल छ। यसले ९१.१६ प्रतिशत अंक प्राप्त गरेको छ। तेस्रो स्थानमा ९०.७४ प्रतिशत अंकका साथ कञ्चनपुरको रेश्मीटोलमा रहेको भानु मावि रहेको छ। यसैगरी ९०.५७ प्रतिशत अंक प्राप्त गरी भक्तपुरकै दरबार स्क्वाएरमा रहेको पद्यम मावि चौथो र पाँचौ स्थानमा काभ्रेपलाञ्चोकको मंगलटारमा रहेको मंगलजन विजय मावि परेको छ।

यस विद्यालयले ९०.०९ प्रतिशत अंक प्राप्त गरेको छ। यसैगरी ९० प्रतिशत अंक प्राप्त गरी छैठौं स्थानमा रूपन्देहीको कालिकानगरमा रहेको कालिका मानव मावि रहेको छ।  

लुम्बिनी सबैभन्दा कमजोर  

लुम्बिनी प्रदेशमा कुल ९ जिल्लाको ८ सय ३८ विद्यालयको परीक्षण गर्दा १० कमजोर, ६ सय ७९ सामान्य, १ सय ४८ मध्यम र एक उत्तम विद्यालय रहेको छ। यसैगरी कर्णाली प्रदेशको ७ जिल्लाको कुल ३ सय ७० विद्यालयको परीक्षण गरिएको छ। जसमध्ये कमजोर चार, सामान्य ३ सय ३०, मध्यम १३ वटा छ। प्रदेश सातमा कुल सात जिल्लाका ६ सय २२ माविको परिक्षण गर्दा ७ विद्यालय कमजोर, ५ सय ५३समान्य , ६० मध्यम र २ उत्तम विद्यालय रहेका छन्।

वाग्मती प्रदेशमा तीन मावि उतम श्रेणीमा रहेका छन्। यो प्रदेशमा कुल ११ जिल्लामा कुल एक हजार ५० मावि सञ्चालनमा छन्। जसमध्ये ७ सय ९३ समान्य, कमजोर ५, मध्यम २ सय ९९ र उत्तम ३ विद्यालय रहेको छ। प्रदेश १ मा कुल ११ जिल्लामा ८ सय ८१ मावि सञ्चालित छन्। जसमध्ये यस प्रदेशमा कमजोर विद्यालय १४, सामान्य ७ सय ७९, मध्यम ८८ र उत्तम शुन्य छ।

मधेस प्रदेशमा रहेको कुल आठ जिल्लामध्ये सात जिल्लाका कुल ५ सय ३७ मावि समेटिएको छ। अध्ययनले यस क्षेत्रका कुल विद्यालयमध्ये २८ कमजोर, ४ सय ७२ समान्य, ३७ मध्यम रहेको छ। उत्तम शून्य छ। गण्डकी प्रदेशमा कुल ८ जिल्लाका ५ सय ७० विद्यालय परीक्षण गरिएको छ। जसमध्ये ३ विद्यालय कमजोर, ४ सय ४३ सामान्य, मध्यम १ सय २३ र उत्तम एउटा रहेको छ।

प्रकाशित: २ आश्विन २०७९ ०६:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App