१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

परीक्षा नियन्त्रण कार्यालयको लापरवाहीका कारण एसइई पुरक परीक्षा २ घण्टा ढिला

परीक्षा नियन्त्रण कार्यालयको गम्भीर लापरवाहीका कारण शनिबारदेखि सुरु भएको एसइई पुरक परीक्षा रोल्पामा २ घण्टा ढिला भएको छ।

जिल्लाका सात केन्द्र मध्य कुनै पनि स्थानमा तोकिएको समयमा परीक्षा सुरु हुन सकेन। परीक्षा सञ्चालन हुनु भन्दा पहिले इमेल पठाएको परीक्षा नियन्त्रण कार्यालयले त्यसको प्रिन्ट र फोटोकपी गर्न समय लाग्छ भन्ने ध्यान दिएको देखिएन।

सदरमुकामस्थित बालकल्याण नमुना मावि, जनजागृती जुगार, सुर्योदय मावि सुलिचौर, त्रिपुरेश्वरी मावि खुङग्रीमा १० बजेपछि परीक्षा सुरु भएको थियो। त्यसैगरी कृष्ण मावि घर्ती गाउँमा बिहान ८.३० र तारा मावि बामरुकमा ९.१५ बजे परीक्षा सुरु भएको हो।

बालकल्याण नमुना माविका प्रअ मधुसुदन पोख्रेलले परीक्षा नियन्त्रण कार्यालयले समयमा सूचना नदिँदा समस्या आएको बताए। ‘६ पेजको पेपर मेल ७ बजे आयो। प्रिन्ट गरेर फोटोकपी गर्दा ८ सय विद्यार्थीलाई पुर्‍याउन समयमा सकिएन।’

शिक्षा तथा समन्व इकाईका प्रमुख दुर्गा खड्काले परीक्षा ढिला सुरु भएको स्वीकार गर्दै देशभरको समस्या भएको बताए। ‘प्रिन्ट र फोटोकपी समयमा गर्न नसकेका कारण ढिला भएको हाे।’ उनले भोलिदेखि यस्तो समस्या नआउने बताए।

परीक्षा त्यसमा पनि पुरक लेख्न विद्यालय पुगेका विद्यार्थीहरु समयमा परीक्षा सुरु नभएपछि आत्तिएका र अन्यौलतामा देखिन्थे। ‘पहिला परीक्षा बिग्रेका कारण पुरक दिन आएको तर समयमा परीक्षा सुरु नै भएन।’ परीक्षा सकाएर फर्किएका एक छात्रले भने ‘अलि मानसिक तनावमा परीक्षा सकाइयो।’ 

प्रकाशित: ११ भाद्र २०७९ १०:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App