विद्यालय तहका माथिल्ला कक्षामा बीचमै पढाइ छाड्ने विद्यार्थीको संख्या बढ्दै गएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको तथ्यांकमा विद्यालयमा माथिल्लो कक्षामा विद्यार्थीलाई टिकाउन चुनौती बढ्दै गएको देखिएको हो।
केन्द्रले प्रस्ततु गरेको तथ्यांक अनुसार २०७८ सालमा कक्षा ८ मा विद्यार्थीको टिकाउ दर ८५.१ प्रतिशत रहेको थियो भने कक्षा १० आउँदा घटेर ६६.१ प्रतिशतमा सीमित रहेको छ। अझ यो दर कक्षा १२ मा झनै खस्केको छ। कक्षा १२ मा धेरै विद्यार्थीले बीचैमा कक्षा छाड्ने र २०७८ को तथ्यांक अनुसार कक्षा १२ मा कक्षामा उपस्थित हुने संख्या ३३.१ रहेको छ। अर्थात् ६६.९ प्रतिशत विद्यार्थीले बीचैमा कक्षा छाड्ने गरेको पाइएको छ।
केन्द्रका महानिर्देशक चुडामणि पौडेलले पौडेलले देशमा विद्यमान गरिबीका कारण धेरै विद्यार्थीहरू विद्यालय भर्ना भएपछि आधारभूत तहसम्म मुस्किलले टिक्ने तर १०१२ कक्षामा पुग्दासम्म आर्थिक उपार्जनमा लाग्न बाध्य हुने गरेका छन्।
२०७८ सालमा कक्षा ८ मा विद्यार्थीको टिकाउ दर ८५.१ प्रतिशत रहेको थियो। कक्षा १० मा विद्यालयमा टिक्ने दर ६६.१ प्रतिशतमा सीमित रहेको छ। कक्षा १२ मा ०७८ को तथ्यांकले ३३.१ प्रतिशत विद्यार्थी मात्र कक्षामा टिक्ने देखाएको छ।
‘माथिल्लो कक्षा चढ्दै जाँदा बालबालिकाहरूको उमेर पनि बढ्दै जान्छ। उनीहरूले पारिवारिक समस्या बुझ्न थाल्छन्,’ महानिर्देशक पौडेलले नागरिकसँग भने, ‘परिवारलाई हातमुख जोड्नु जिम्मेवारी सन्तानकै काँधमा आउँछ। जसका कराण धेरै विद्यार्थीहरू कमाउन थाल्छन्। अभिभावकलाई काममा सघाउन थाल्छन्। यसकारण बीचमै कक्षा छाड्ने बालबालिकाको संख्या ह्वत्तै बढेको देखिन्छ।’ उनका अनुसार बीचैमा विद्यालय छाड्ने बालबालिका धेरै बालश्रम गर्न बाध्य छन्।
कक्षा ३ मा विद्यार्थीको पठन सक्षमता ४३.७१ प्रतिशत मात्र पुगेको छ। ‘पठन सक्षमता ५० प्रतिशत पनि पुग्न नसक्नुले हाम्रो शैक्षिकस्तर कति कमजोर छ भन्ने प्रस्ट भएको छ,’ पौडेलले भने, ‘अब शिक्षाका निकायहरूले बालबालिको सिकाइ उपलब्धिको स्तरमा लगानी बढाउनुपर्ने देखियो।’ हाल शिक्षामा छुट्याउदै आएको बजेटको ८५ प्रतिशत रकम शिक्षकको तलब भत्तामै खर्च हुने भएकोले शैक्षिक गुणस्तर वृद्धितर्फ रकम अपुग हुने गरेको केन्द्रले जनाएको छ।
केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार आधारभूत तहमा महिला शिक्षक ४६.५ प्रतिशत रहेका छन्। अर्थात् साना कक्षामा शिक्षण सिकाइमा महिला शिक्षकको उपस्थित राम्रो देखिए पनि माध्यामिक तहमा कम रहेको तथ्यांक छ। माध्यमिक तहमा महिला शिक्षकको संख्या २०.४ प्रतिशतत मात्र रहेको छ।
२३.८ प्रतिशतले आधारभूत तहको शिक्षासमेत पूरा गर्दैनन्
यसैगरी, आधारभूत शिक्षाको तह पूरा गर्नेको दर ७६.२ प्रतशत मात्र छ। अर्थात अझै पनि २३.८ प्रतिशत बालबालिकाहरू आधारभूत तहको शिक्षासमेत पूरा गर्दैनन्। यसैगरी केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार ६ वर्ष माथिका साक्षरता दर ७८ प्रतिशत छ भने १५ देखि २४ वर्ष उमेर समूहको साक्षरत दर ८८.६ प्रतिशत पुगेको छ। साथै १५ वर्ष भन्दा माथिलो उमेर समूहको साक्षरता दर भने ५८ प्रतिशत मात्र रहेको छ।
हाल मुलुकमा कुल ३४ हजार ३ सय ६८ विद्यालयमा कक्षा १२ सम्म ७० लाख ९२ हजार ९ सय ५९ विद्यार्थी अध्ययनरत रहेको केन्द्रको तथ्यांक छ। अझै एक सय साक्षर घोषणा हुन बाँकी रहेका स्थानीय तहहरू एक सय ८६ रहेको तथ्यांक छ।
केन्द्रले प्रस्तुत गरेको कार्यगत विवरणमा शिक्षक दरबन्दी मिलानसम्बन्धी कार्यमा पुल दरबन्दी नभएका पालिकाहरू ४ सय ३० रहेका छन्। पुल दरबन्दी रहेका पालिकाहरू ३ सय २३ छन्। प्राथमिक तहको ३ सय २३ पालिकामा कुल १२ हजार ६ सय ९९ पुल दरबन्दी रहेको छ भने निमावि तहको १३ पालिकामा एक सय ६ वटा पुल दरबन्दी छन्। यसैगरी मावि तहको ११ पालिकामा ३० वटा पुलदरबन्दी रहेको छ भने तीनै तह गरी १२ हजार ८ सय ३५ वटा पुल दरबन्दी रहेको केन्द्रले जनाएको छ। ‘यसमध्ये १०५ पालिकाको ३ हजार ३ सय ३९ दरबन्दी जिल्ला पुलमा रहने र २१८ पालिकाको ९ हजार ४ सय ९६ वटा दरबन्दी पालिकाभित्र नै मिलान हुन्छ,’ महानिर्देशक पौडेलले भने, ‘हाल जम्मा १२ हजार ८ सय ३५ पुल (माथिलो तहमा गणना हुने पुल र खुद पुल दरबन्दीसमेत) दरबन्दीमा ३अजार ३सय ३९ खुद पुल दरबन्दीमध्ये १ हजार ४सय ८६ दरबन्दी एक स्थानीय तहबाट कट्टा भई अर्को स्थानीय तहमा पठाइ सकिएको छ। ९ हजार ४ सय ९६ माथिलो तहमा गणना हुने पुल दरबन्दीमध्ये ८ हजार ५सय दरबन्दी माथिलो तहमा गणना भइसको छ।’
प्रकाशित: ८ श्रावण २०७९ ०४:०२ आइतबार