२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

ताप्लेजुङका दुई सामुदायिक विधालयमा एनसिसी तालिम सुरु

ताप्लेजुङका दुई सामुदायिक विधालय हरुमा आइतबारबाट एकसाथ राष्ट्रिय सेवा दल(एनसिसी)को तालिम सुरु भएको छ। फुङ्लिङ नगरपालिका वडा नं ७ को युवाबर्ष माध्यमिक विधालय  र वडा नं ९ को जनता माध्यमिक विधालयमा सिसं ४८ औं ब्याचको एनसिसी तामिल सुरु भएको हो।  

युवाबर्षमा सञ्चालित तालिमको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले राष्ट्रिय भावनाले ओतप्रोत,स्वयंसेवी र इमान्दार जनशक्ति उत्पादनमा तालिम कामयावी हुने बिश्वास लिए।  

विगतका एनसिसी तालिमहरुमा ताप्लेजुङका सहभागीको प्रस्तुति उत्कृष्ट र अब्बल रहेको स्मरण गर्दै प्रजिअ पोखरेलले त्यो छापलाइ यसपटकको तालिमका सहभागीले समेत कायम राख्ने बिश्वास लिए।  

एनसिसी बारेको प्रथम प्रवचन दिदैं भीमकाली गुल्मका गुल्मपति अदित श्रेष्ठले एनसिसी तालिमको महत्व र यसको उपयोगिता बारे प्रष्ट्याएका थिए। उनका अनुसार एकसय दिनको तालिममा ७९ दिन स्थानीय रुपमै सघन प्रशिक्षण गराइने छ भने २१ दिन बाह्य क्षेत्र(मोरङको याङशिला)मा गरेर तालिम दिइने छ।  

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख(डिएसपी)कैलाश राई,शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराई,सशस्त्र प्रहरी वल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका प्रहरी निरीक्षक कूलबहादुर भण्डारी,फुनपा वडा नं ७ का वडाध्यक्ष योगेन्द्रप्रसाद निरौला,फुनपा वडा नं ९ का वडाध्यक्ष लक्ष्मण गुरुङ,जनता मावि हाङ्देवाका प्रधानाध्यापक शरदराज निरौला,युवाबर्ष मावि कैंजलेका प्रधानाध्यापक चन्द्रमणि पौडेल,दुबै विधालययका व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो।  

राष्ट्रिय सेवा दल एक स्वयमसेवक दस्ताको रुपमा परिचित छ। तालिमप्राप्त राष्ट्रिय सेवा दलका सदस्यलाइ विपतको बेला आवश्यकता अनुसार परिचालन गर्न सकिन्छ। यो तालिम लिने विद्यार्थीको उमेर १४ देखि २४ वर्षको हुनुपर्छ। सबैभन्दा पहिला तालिमका लागि विद्यार्थी तयार हुनुपर्छ,त्यसपछि अभिभावकको स्वीकृति चाहिन्छ। एकसय दिनको यो तालिममा पिटी परेड गराइन्छ भने कतिपय व्यवहारिक ज्ञान पनि सिकाइने गरिन्छ। तालिमको मुख्य उद्धेश्य कुशल यूवा दस्ता बनाउनु रहेको भीमकाली गुल्मका गुल्मपति श्रेष्ठले जानकारी दिए।  

युवाहरूको क्षमता अभिवृद्धि गरेर अनुशासित दस्ता बनाउन यो अभियान चलाउने गरिएको छ। एनसिसीमा जुनयिर डिभिजन र सिनियर डिभिजन गरी दुई प्रकारका तालिम रहेका हुन्छन्। जुनियर डिभिजनमा ८ देखि १० कक्षाका विद्यार्थी हुन्छन् भने सिनियर डिभिजनमा ११ र १२ कक्षाका विद्यार्थी हुन्छन्। दुबै प्रकारको तालिम कार्यक्रमलाई संस्थागत तह र वार्षीक क्याम्प तहमा विभाजित गरिएको हुन्छ। दुबै तालिम कार्यक्रममा ७९ दिनको संस्थागत तहको तालिम र २१ दिनको वार्षिक क्याम्प सञ्चालन गरिन्छ।  

तालिममा मास पिटी,ड्रिल,विपद्को अवस्थामा स्वयंसेवकको भूमिका तथा कर्तव्यलगायतका ज्ञान सिकाइन्छ। सिनियर डिभिजनका लागि हतियार तालिम तथा फायरिङ,घोडचढी,रक क्लाइम्बिङलगायत पनि सिकाइन्छ।

प्रकाशित: १ श्रावण २०७९ ०८:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App