२९ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

एसइई नतिजा मसान्तभित्र, उत्तरपुस्तिका परीक्षण खर्च ९ करोड ८८ लाख

राष्ट्रिय परीक्षा बोर्डले वैशाख २० गते सम्पन्न गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा असार मसान्तभित्र प्रकाशित गर्ने भएको छ। स्थानीय तह निर्वाचनका कारण चार दिनसम्म उत्तरपुस्तिका परीक्षणको काम रोकिए पनि हाल नतिजा प्रकाशनका लागि बोर्डले दु्त गतिमा कार्य अघि बढाएको छ।

बोर्डले उत्तरपुस्तिका परीक्षणका लागि ९ करोड ८८ लाख रूपैयाँभन्दा बढी खर्च भएको जनाएको छ। परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार एक शिक्षकले २ सय उत्तरपुस्तिका परीक्षण गर्नुपर्ने नियम छ। प्रतिउत्तरपुस्तिका परीक्षणको पारिश्रमिक २४ रूपैयाँ तोकेको छ।

‘५ लाख १४ हजार ७ सय ७७ विद्यार्थीको ८ वटा विषयको उत्तरपुस्तिका परीक्षण खर्च ४१ लाख १८ हजार २ सय १६ रूपैयाँ हुन्छ,’ नियन्त्रक रायमाझीले नागरिकसँग भने, ‘कुल उत्तरपुस्तिका खर्च बोर्डले ९ करोड ८८ लाख ३७ हजार १ सय ८४ निकालेको छ।’ कोर्डका अध्यक्ष महाश्रम शर्माले बोर्डले कक्षा १० को असार मसान्तभित्र र कक्षा १२ को साउन मसान्तभित्र नतिजा प्रकाशनको तयारी गरेको जनाए।

‘विभिन्न केन्द्रबाट परीक्षण र सम्परीक्षण भई केन्द्रमा प्राप्त भएका उत्तरपुस्तिकाको अंक कम्प्युटरमा इन्ट्री गर्ने काम भइरहेको छ,’ अध्यक्ष शर्माले भने, ‘नतिजा त्रुटिरहित बनाउन बोर्डले मिसम्याचिङ गर्ने काम गरिरहेको छ। नतिजा सुधार गर्ने काम बोर्डले गरिरहेको छ।’ परीक्षा नियन्त्रक रायमाझीले यस पटक देशभरिका ५ लाख १४ हजार ७ सय ७७ विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने काम ५५ वटा परीक्षण केन्द्रबाट सम्पन्न गरिएको बताए।

उनले सबै परीक्षण केन्द्रबाट प्राप्त अंकको तथ्यांक इन्ट्री गर्ने काम अन्तिम चरण पुगेको र अब एकदुई दिनमै टेबुलेसनको काम गरिने जनाए। ‘वैशाख २० गते एसइई सकिनासाथ चुनावमा शिक्षकहरू खटिए। जसकारण उत्तरपुस्तिका परीक्षणको काम रोकियो,’ नियन्त्रक रायमाझीले भने, ‘अहिले बोर्डले नतिजा प्रकाशनको काम दु्रत गतिका साथ अघि बढाएको छ। असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बोर्डको तयारी छ।’

प्रकाशित: २२ असार २०७९ ०५:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App