१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

एसओएसमा लोक नृत्य र म्याराथन प्रतियोगीता

३६औं अन्तर्राष्ट्रिय एसओएस दिवसको अवसर पारेर एसओएस हर्मन माइनर विद्यालयले अन्तर विद्यालय लोक नृत्य र खुला दौड (म्याराथन) प्रतियोगिता सम्पन्न गरेको छ।  

म्याराथन प्रतियोगितामा छात्रतर्फ जनज्योति मावि बड्डीचौरका अजय बिक प्रथम, सोही विद्यालयका रेशमबहादुर शाही द्वितीय, शिव मावि लाटीकोइलीका हरिबहादुर रावत तृतीय र जन मावि वीरेन्द्रनगरका प्रभात बुढा चौथो भए।

छात्रातर्फ श्रीकृष्ण मावि इत्रामकी विमला कार्की प्रथम, मदरसा स्कुल पिपिराकी विमला विक द्वितीय, श्रीकृष्ण मावि इत्रामकी खगीसरा जैसी तृतीय र कोपिला भ्याली स्कुलकी अस्मिता नेपाली चौथो भए।  

म्याराथनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ४ हजार, ३ हजार, २ हजार ५०० र १ एक हजार ५०० प्राप्त गरे। १४ विद्यालयको सहभागिता रहेको अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा कोपिला भ्याली स्कुल प्रथम, सैनिक आवासीय महाविद्यालय द्वितीय, सिद्धपाइला बोर्डिङ स्कुल तृतीय र एड्भान्स बोर्डिङ स्कुल सान्त्वना भए।  

लोक नृत्यमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयले क्रमशः १२ हजार, १० हजार, ८ हजार र ५ हजार पुरस्कार प्राप्त गरे। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले नयाँ पुस्तालाई आफ्नो जन्मभूमि र समाजप्रतिको उत्तरदायित्व बोध गराउनुनै वास्तविक शैक्षिक विकास भएको बताइन्।

विश्वका जुनसुकै कुनामा गएर आफ्नो प्रतिभा र क्षमता प्रदर्शन गर्न सक्ने नागरिक उत्पादनतर्फ हरेक शैक्षिक संस्थाले ध्यान दिनुपर्ने उनको भनाई थियो। मेयर ढकालले एसओएसले सुर्खेतसहित कर्णालीको शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदान र भूमिका महत्वपूर्ण रहेको बताइन्।

उपमेयर नीलकण्ठ खनालले विद्यालयको उद्देश्य अनुरुप घरवार बिहीन र गरिब तथा जेहेन्दार छात्रछात्राहरुलाई छात्रवृत्तिमा गुणस्तरीय शिक्षा दिनु रहेकाले स्थानीय सरकारकातर्फबाट सहयोग हुने बताए।

विद्यालयका पूर्व विद्यार्थी तथा बालरोग विशेषज्ञ डा. नवराज केसीले वर्तमान शिक्षाको मुख्य उद्देश्य अर्काको दुःखमा रुने र अर्काको नोक्सानीमा सहानुभूति गर्ने नागरिक तयार पार्नु रहेको बताए। ‘आज साथीको सामान लुकाउने बालबालिका भोलि देशको बजेट लुकाउने हुँदा त्यसतर्फ हामी सचेत हुनुपर्छ,’ उनले भने,  ‘यस्तो प्रेरणा प्रा.डा.हर्मन माइनरबाट आफूले लिएको र अरुले पनि लिनुपर्छ।’

विद्यालयका कार्यवाहक प्राचार्य हरिहर बस्नेतले विद्यालयमा सञ्चालित शैक्षिक कार्यक्रमहरू, विद्यालयले आफ्नो भावी योजनामा राखेका कार्यक्रमहरू र एसओएस दिवसका अवसरमा विद्यालयमा सम्पन्न विविध कार्यक्रमको विवरण प्रस्तुत गरेका थिए।

प्रकाशित: ८ असार २०७९ १३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App