२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
शिक्षा

एसइईमा उत्कृष्ट अंक ल्याउने ललितपुर महानगरका ८६ विद्यार्थी सम्मानित

ललितपुर महानगरले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (सिइई)मा उत्कृष्ट अंक ल्याउने सामुदायिक र संस्थागत विद्यालयका ८६ जना विद्यार्थीलाई सम्मान सहित पुरस्कृत गरेको छ ।  

महानगरले २२ वटा संस्थागतका ७८ जना र ६ वटा सामुदायिक विद्यालय ८ जना गरी ८६ विद्यार्थीलाई सम्मानसहित पुरस्कृत गरेको हो । सामुदायिक विद्यालयतर्फ ३ दशमलव ९५ भन्दा माथि ल्याउने र संस्थागत तर्फ ४ जिपिए ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान सहित पुरस्कृत गरेको हो । महानगरले शुक्रवार एक औपचारिक कार्यक्रम आयोजना गरी सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीलाई जनही दुईलाख हस्तान्तरण गरेको हो । यसैगरी सामुदायिक विद्यालय प्रत्येकलाई ४ लाख दिएको छ ।  

संस्थागत तर्फ धापाखेलको जेम्स स्कुलका १६ जना विद्यार्थीले ४ जिपीए ल्याएका छन् । सामुदायिक तर्फ बुङमतीको आर्दश सौल युवक माध्यमिक विद्यालयका ३ जना विद्यार्थीमध्ये एक जनाले ४ जिपिए र दुई जनाले ९ दशमलव ९६ जिपिए ल्याएका छन् ।  

ललितपुर महानगरपालिकामा शैक्षिक सत्र २०८१ को एसइई परीक्षामा ९१ दशमलव ५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालय तर्फ भने ८१ दशमलव ०५ प्रतिशत र संस्थागत तर्फ ९४ दशमलव ९० प्रतिशत उत्तीर्ण भएका छन् ।  

कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले विद्यार्थीलाई थप उपलब्धिका लागि शुभकामना दिदैं सकारात्मक सोचसहित जिम्मेवार र इमान्दार बन्न अनुरोध गरे ।

महानगर प्रमुख चिरीबाबु महर्जनले एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी संस्थाले महानगर शिक्षाको हब भएको पुष्टि गरेको बताए । उनले भने, ‘यो विद्यार्थी र विद्यालयलाई प्रेरणा र हौसला हो ।’ कोरोनाका कारण विद्यालयको खस्किएको शैक्षिक गुणस्तर उकास्न गरेको निर्णय विद्यार्थी र विद्यालयका लागि हौसला बनेको प्रष्ट पारे । महर्जनले महानगरले गरेका असल अभ्यासमध्ये यो पुरस्कार र सम्मान एक भएको बताउँदै मोफसलका पालिकाहरुले पनि यो अभ्यासलाई अनुसरण गरेको बताए ।  

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पुरस्कृत विद्यालय र विद्यार्थीलाई बधाई दिदैं जीवनका अझैं ठूल्ठूला परीक्षा पास गर्न तयार रहन सुझाव दिइन् । 

प्रकाशित: ३० श्रावण २०८२ १९:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App