१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

जोखिममा त्रिचन्द्रका विद्यार्थी, कति खेर भवन भत्किन्छ थाहा छैन

काठमाडौंको मुटु घण्टाघर मै रहेको पुरानो र इतिहास बोकेको त्रिचन्द्र कलेजको अवस्था महाभूकम्पपछि जीर्ण बन्दै गएको छ। वर्षा लागेपछि कक्षाकोठामा पानी चुहिने, पानीको दबाबमा पुराना पर्खाल भत्किएको छ भने काठका भर्याङहरु भाँसिदै गएका छन्। भित्ताका छेउबाटै माटो झरिरहेको छ भनेकक्षाकोठामा विद्यार्थी पढ्दै र शिक्षकले पढाउँदै गरेको अवस्थामा कति खेर भवन खस्छ भन्ने जोखिम पनि उत्तिकै छ। एक शब्दमा कलेजको अवस्था खण्डर बन्दै गएको देखिन्छ।  

विद्यार्थीहरु त्रासपुर्ण वातावरणमा पढ्न बाध्य बनेका छन्। यसपटक भवन निकै जीर्ण बनेको र अध्ययन गर्ने अवस्थामा भवन नरहेपछि त्रिचन्द्र बहुमुखि कलेज घण्टाघरको पुनःनिर्माणको माग गर्दै कलेजका विद्यार्थीहरु स्वस्फूर्तरुपमा आन्दोलनमा उत्रेका छन्।

विसं २०७२ सालको  महाभूकम्पपछि सरकारलेनै घण्टाघरको छेउको कलेज भवनमा रातो स्टीकरै टाँस्यो। त्यसपछि पािर पट्टिको भवनमा कोचाकोच गरि करिब १० हजार विद्यार्थी जसोतसो अध्ययन गरीरहेका थिए। तर, हाल पारिपटिको भवनमा समेत थेग्न सक्ने अवस्था नरहेको कलेज प्रशासनले बताउँदै आएको छ। जीर्ण भवनमा मेट्रोलोजी, स्टेटिक्स, साइकोलोजिीको स्नातक र स्नातकोत्तर गरी दुइ विभाग छन्, भने जियोलोजी, फिलोसफी, अंग्रेजी, नेपाली गरी ९ विभाग छन्।

यी सबै विभागका हजारौं विद्यार्थीहरु दिनहुँ ज्यानै जोखिम मोलेरै कक्षाकोठामा पढ्न बाध्य बनेको कलेजका विद्यार्थी सेरेन जोशी बताउँछन्। ‘हाम्रो कलेजमा हाल पानी चुहिएर कक्षाकोठामा पढ्न सक्ने अवस्था छैन। तर, कक्षा नियमति छ रोक्न सकिने अवस्था छैन’ उनी त्रासीत बन्दै भने, ‘सरकारले नै भुकम्पछि रातो स्टीकरण टाँस गरिसकेको भवनमा हामी बाध्य बनेर पढाइ गर्नुपरेको छ। सरकारका हालका प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूनै पढेको कलेज जीर्ण बनेको छ। किन ध्यान दिन नसकेको हाम्रो प्रश्न हो,’ कलेजका नेविसंघका नेतृत्व गरिरहेका जोशी थप्छन्, ‘हामी विद्यार्थी शिक्षा मन्त्रालयदेखि सबै सम्बन्धित निकायमा पुग्यौँ। कलेजको अवस्था बतायौं तर पनि ध्यन नदिएपछि हामी बाध्य भएर आन्दोलनमा उत्रनु परेको हो।’, मंगलबार कलेजका विद्यार्थीहरु विरोधस्वरुप कलेजको बाहिर रोडमा बसेर किताब पढेर विरोध प्रदर्शन गरेका थिए।

सोही कलेजका अर्का विद्यार्थी परमीत विस्टले पनि भवनका साथै चर्पीको अवस्था पनि दयनिय रहेकोले विद्यार्थीलाई कक्षाकोठामा अध्ययन गरिरहेका अवस्थामा शारीरिक र मानसिक तनावनै उत्पन्न हुने गरेको गुनासो गरे। परमीत एमाले निकट अनेरास्ववियुका त्रिचन्द्र कलेज इकाइ सहसचिव पनि हुन्। ‘हाम्रो त्रिचन्द्र कलेजबाटै बहालवाला, प्रधानमन्त्री, नेताहरु पढाइ सकाएर आज नेतृत्वमा पुगेका छन्। तर भत्किन लागेको कलेज बनाउने प्रति आलटाल गरिरहेकोले हामी विद्यार्थीहरु आन्दोलनमा उत्रनु परेको हो,’ परमितले नागरिकसँग भने, ‘पानी मात्र होइन वेलाबेला कक्षाकोठाको भित्ताबाट र दलिनमाथिबाट ढुँगा माटो खसेर चोट पटक समेत विद्यार्थीलाई लागिसकेको छ।’ उनले भने ‘अब हामी ज्यानै जोखिम राखेर अध्ययन गर्नुपर्ने बाध्यता भएकोले सरकारले त्रिचन्द्र कलेजलाई प्राथमिकतामा राखेर तत्काल नबनाए त्रिचन्द्रका सबै विद्यार्थी कडा आन्दोलनमा उत्रन बाध्य हुनेछौं। यसको जिम्मेवार सरकारले लिनुपर्छ।’

एक सय चार वर्ष पुराना र विसं २०७२ सालको महाभूकम्पका कराण जीर्ण बनेको भवन हाल पढ्ने पढाउने वातावरणै नभएकोले विद्यार्थीहरु चिन्तीत बन्दै आन्दोलनरत भएको उनले बताए। कलेजका सूचना अधिकारी बालकृष्ण पौडेलले कलेजले जीर्ण भवन पुनः निर्मार्णको लागि आफ्नो तर्फबाट ०७२ सालदेखि अर्थात ८ वर्षदेखि सम्बन्धित सबै निकायमा हारगुहार र ज्ञापनपत्र बुझाइ सकेको भए पनि सरकारले वेवास्ता गर्दै आएको स्पष्ट पारे।

‘घण्टाघर छेउको भवनमा अब पढ्ने पढाउने अवस्था छैन। ९ विभागनै जोखिममा छन् भने विद्यार्थी र शिक्षकको ज्यानै जोखिममा हुने देखिएको छ,’ सूचना अधिकारी पौडेलले नागरिकसँग कलेजको अवस्था बताए ‘हामी पदाधिकारीहरु हालको बहालवाला प्रधानमन्त्रीदेखि पूर्वमन्त्री तथा प्रधानमन्त्री सबैलाई ध्यानकर्षण गराइसकेका छौं। तर पनि भवन पुनः निर्माणबारे कुनै पहल आजसम्म भएन।’ उनले थपे, ‘सम्बन्धित शिक्षा मन्त्रालयले तत्काल पहल गरि पुनःनिर्माण वा प्रबलिकरण के गर्ने बारे निर्णय गरि अघि बढ्नु तत्तकालको अवस्था हो।,’ 

सत्तापक्ष नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजंग शेर्पाले नेपाली काँग्रेसको प्रधानमन्त्री समेत त्रिचन्द्रकै विद्यार्थी भए पनि कलेज प्रति उदासिन देखिनु दुःखद भएको जनाए। ‘१० हजार विद्यार्थी र शिक्षकले ज्यानै जोखिम बोलेर पढाउनु पर्ने अवस्था समेत सरकार किन चुप?,’ अध्यक्ष शेर्पाले भने, ‘सरकारले तत्काल भवन पुनः निर्माण गर्ने पहल नगरे नेविसंघ कडा आन्दोलनमा उत्रने छ।’

प्रकाशित: ३ असार २०७९ १४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App