२३ असार २०८१ आइतबार
image/svg+xml
शिक्षा

सूर्याेदय नगरको शैक्षिक फड्को

प्रदेश १ मै पहिलो स्थानीय विषयको पाठ्यपुस्तक

इलामको सूर्याेदय नगरपालिकामा स्थानीय विषयको पाठ्यपुस्तक ‘हाम्रो सूर्याेदय’ लोकार्पण गरिँदै। तस्बिरः भीम/नागरिक

भौतिक र सामाजिक विकासमा प्रगतिपथमा उक्लिँदै गरेको सूर्याेदय नगरपालिकाले १ नम्बर प्रदेशमै पहिलोपटक आधारभूत तहको स्थानीय पाठ्यपुस्तक तयार गरेको छ। लामो समयको निरन्तर प्रयासपछि कक्षा १ देखि ५ सम्म सय पूर्णाङ्कको छुट्टै विषयको पाठ्यपुस्तक ‘हाम्रो सूर्याेदय’ तयार गरी लोकार्पणसमेत गरिएको छ।  

आउँदो शैक्षिकसत्रदेखि कक्षा १ देखि ५ सम्म यो विषय पढाइ हुनेछ। राष्ट्रिय पाठ्यक्रमअनुरूपका पाठ्यपुस्तकका अतिरिक्त अब यो विषय थप भएको नगरपालिकाले जनाएको छ। नगरका मेयर रणबहादुर राईले बालबालिकालाई आफ्नो स्थानको परिचय बताउन सक्ने बनाउन, यहाँको सकारात्मक पक्षबारे जानकारी दिँदै उत्साह प्रदान गर्न आधारभूत तहको पाठ्यपुस्तक तयार गरिएको बताए। ‘बालबालिकालाई स्थानीय कृषि, पर्यटन धर्मसंस्कृति, परम्परा, इतिहास, मूल्य–मान्यतालगायतबारे ज्ञान र सीप विकास गर्ने पाठ्यक्रमको उद्देश्य छ,’ उनले भने, ‘सूर्याेदय नगरपालिकाको आधारभूत तहमा पढेको बालबालिकाले यहाँको चिया, दूध, अलैंची, अदुवा, कुचोको खेती/उत्पादन गर्ने तरिका, पर्यटकलाई सत्कार गर्ने बानी, आर्थिक उपार्जनका अरू सीप र ज्ञान हासिल गरोस् भन्ने अभिप्राय नगरको छ।’  

उनले लामो समयको प्रयासपछि कक्षा १ देखि ५ सम्मको भएपनि  स्थानीय पाठ्यपुस्तक तयार गर्न सफल भएको बताए। ‘लामो समयदेखि हामी पाठ्यपुस्तक तयार गरी विद्यालयमा लागू गर्ने प्रयासमा थियौं,’ उनले भने, ‘आउँदो शैक्षिकसत्रदेखि कक्षा १ देखि ५ सम्म यो पुस्तक विद्यालयमा पढाइ हुन्छ। कक्षा ६ देखि ८ सम्मको पाठ्यक्रम गतवर्ष नै तयार भइ पाठ्यपुस्तक लेखन कार्य भइरहेको छ।’  

पाठ्यपुस्तकमा स्थानीय लोपोन्मुख समुदायको संस्कृतिदेखि होमस्टेसम्म समेटिएको छ। स्थानीय तहको कला, संस्कृति, धर्म, अर्थ, इतिहास, परम्परा, मूल्यमान्यतालगायतका विषय पाठ्यपुस्तकमा छन्। १४ लेखकले पाठ्यपुस्तक लेखेका हुन्। यो पुस्तक नगरका ६६ सामुदायिक र ३१ संस्थागत विद्यालय गरी ९७ मध्ये ९६ वटामा पढाइ हुनेछ। यी विद्यालयमा कक्षा १ देखि ५ सम्म ४ हजार ६ सय विद्यार्थी पढ्दैछन्।  

नगरका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले ती विद्यालयका विद्यार्थीलाई यो पुस्तक नगरले निःशुल्क वितरण गर्ने बताए। उनका अनुसार सय पूर्णाङ्कमध्ये ५० को सैद्धान्तिक र ५० को प्रयोगात्मक पढाइ हुनेछ। राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ अनुसार पाठ्यभार र पाठ्यघण्टा निर्धारण गरिएको छ। ‘साप्ताहिक रूपमा ४ घन्टाको पढाइ हुनेछ,’ भट्टराईले भने।

सूर्याेदय नगरपालिका पर्यटकीय नगरी घोषित भइसकेको छ भने देशकै लोपोन्मुख लेप्चा समुदायको मुख्य बसोबास यही नगरपालिकामा छ। जिल्लाकै सबैभन्दा बढी चिया उत्पादन हुने सूर्याेदय अलैंची, दूध, अम्लिसो र तरकारी खेतीमा अग्रणी मानिन्छ। भारतसँग सीमा जोडिएको, सूर्याेदय नगर जैविक विविधताका हिसाबले पनि महत्वपूर्ण मानिएको छ। सूर्याेदय दृश्यावलोकनका लागि प्रख्यात अन्तुडाँडा, पर्यटकीय क्षेत्र कन्याम, हर्कटे, पशुपतिनगर, फिक्कल बजार सूर्याेदय नगरमै पर्छन्। मुख्यगरी यिनै विषयवस्तुबारे बालबालिकामा ज्ञान र सीप अभिवृद्धि गर्न नगरले पाठ्यक्रम विकास केन्द्रसँग समन्वय गरी विज्ञहरू झिकाएर करिब ३ वर्षको अध्ययन र छलफलपछि गतवर्षको पुसमा पाठ्यक्रम तयार गरिएको थियो। त्यही पाठ्यक्रमका आधारमा पाठ्यपुस्तक तयार भएको हो।  

पाठ्यक्रमले बालबालिकामा स्थानीय सरकारको गतिविधिबारे आधारभूत जानकारी दिने, आफ्नो धर्म, संस्कार, चाडपर्व, जात्रा, मेला, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता परम्परा र सम्पदाको पहिचान, वातावरणीय सरसफाइ, घरायसी पशुपालन, दुग्ध व्यवसाय, कृषिप्रणालीको उपयोग, स्वास्थ्य, स्वस्थ खानपान, सन्तुलित भोजन, योगासन, ध्यानका विषयमा जानकारी हासिलको सक्षमता विकास हुने लक्ष्य राखेको मेयर राईले जनाए।

विपद्बाट सुरक्षित हुने र बच्ने उपाय, नैतिक मूल्यमान्यता र सदाचारका विषयमा प्राप्त ज्ञान–सूचनाको दैनिक व्यवहारमा अनुसरण, प्राकृतिक सम्पदा र स्रोतको पहिचान, उपभोग, परिचालन, समुदाय, प्रहरी, नागरिक समाजको भूमिका तथा अन्तरसम्बन्धबाट विकसित हुने सामुदायिक सचेतना, सुरक्षाका उपाय अवलम्बन र पर्यटकीय नगरीका रूपमा नगरको विकास गर्ने रणनीतिक योजना अवलम्बनको लक्ष्य राखिएको छ। पाठ्यपुस्तकमा अर्गानिक उत्पादन, चिया, अलैंची, दूधलगायतको कृषि र पर्यटकका लागि व्यवस्था गरिएको होमस्टे समेटिएको छ। स्थानीय सरकारको परिचयदेखि मेयर–उपमेयरका कामसमेत आधारभूत तहको पाठ्यक्रमले चाहिँ समेटेको छ।

मेयर राईले सुगौली सन्धि, नेपाल–भारतको पूर्वी सीमाविन्दूलगायतमा पनि सूर्याेदय नगरसँग जोडिएका तथ्य–तथ्यांक विशिष्ट किसिमको रहेको बताए। ‘ऐतिहासिक, भौगोलिक, आर्थिक, पर्यटकीय हरेक हिसाबले सूर्योदय नगरको पहिचान विशिष्ट छ,’ उनले भने, ‘यहाँका बालबालिकामा आफ्नो ठाउँ, आफ्नो स्थानीय तहको सकेसम्म सबैखाले आधारभूत ज्ञान, सीप विकास गराउन पाठ्यपुस्तक तयार गरिएको हो।’  

नेपालको संविधान (१०७२)को अनुसूची ८ मा माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहलाई दिने व्यवस्था छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७१ ले आधारभूत तहमा १ सय पूर्णाङ्कको मातृभाषा वा स्थानीय विषय राख्न पाउने उल्लेख गरेको छ।  

सूर्याेदय नगरपालिका जिल्लाको शैक्षिक इतिहासमा पनि अगुवा छ। शैक्षिक विकासको क्रममा २००३ सालमा फिक्कल बजारमा चन्द्र पाठशाला स्थापना भएको थियो। २०१० साल जेठ १० मा सूर्याेदयकै करफोकमा करफोक विद्या मन्दिर हाइस्कुलस्तरमा प्रवेश गरेको हो।  

२००९ सालमा भाषाशास्त्री महानन्द सापकोटाको अध्यक्षतामा सूर्याेदयकै करफोकमा साहित्य सम्मेलन आयोजना गरियो। यो सम्मेलनमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, साहित्यकार बालकृष्ण समलगायतको समेत सहभागिता थियो। ‘पूर्वमा स्वामी सोमेश्वरानन्दले छरेको शिक्षाको बीऊ झाँगिएर अहिलेको अवस्थामा आएको छ,’ मेयर राईले भने, ‘यसलाई फलाउने, फुलाउने काम अब हाम्रो काँधमा आएकाले आफ्नो कर्तव्य पूरा गर्दैछौं।’

प्रकाशित: १५ चैत्र २०७८ १३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App