सामुदायिक विद्यालयतर्फ उत्कृष्ट शिक्षण संस्थाको रुपमा स्थापित गर्ने उदेश्य लिएर अघि बढिरहेको उदयपुरको बेलका नगरपालिका ४ स्थित जनता नमूना माध्यामिक विद्यालय गुरुङचौरीको नयाँ भवन निर्माण सुरु भएको छ। यही शैक्षिक वर्षदेखि अंग्रेजि र नेपाली दुवै माध्यममा पठनपाठन भईरहेको विद्यालयले पक्की भवन निर्माण थालेको हो।
आगामी ५ वर्षभित्र उत्कृष्ट विद्यालय बनाउने गुरुयोजनाका साथ यसवर्ष १२ कोठे १८ पिल्लरको भवनको भर्खरै सिल्यान्यास भएको छ। सोमबार दिउँसो विद्यालय परसरमा आयोजित एक कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोज तामाङ, वडाध्यक्ष दिपक दङ्गाल र प्रधानाध्यापक (प्रअ) सम्मर राईले संयुक्तरुपमा भवनको सिल्यान्यास गरे। ३ तलामा १२ कोठा रहने भवन १ करोड ४५ लाख लागत मूल्यमा निर्माण गर्ने जिम्मा भुस्नाम्छा कन्स्ट्रक्नसले पाएको छ।
प्रअ राईका अनुसार अत्याधुनिक र सुविधासम्पन्न भवन निर्माण गर्नका लागि नेपाल सरकारले नमूना विद्यालय विकास कार्यक्रम (एमएसडिपी)मार्फत ३ करोड ८० लाख रुपैँया अनुदान प्राप्त भएको छ। सो रकमबाट आउँदो ३ वर्षभित्र भवन बनाईसक्ने चालु वर्ष ९९ सय लाख २ हजार ८ सय ८७ रुपैँया खर्च हुनेगरी निर्माण कम्पनीसँग सम्झौता भए अनुसार सिल्यान्यास भएको उनले बताए।
भवनका लागि एमएसडिपीले १ करोड ५० लाख अनुदान दिएकोमध्ये ५ लाख भने भवनको विस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार गर्नमा खर्च भएको छ। डिपिआर गरेर बाँकी १ करोड ४५ लाखबाट भवन निर्माण सुरु भएको प्रअ राईले बताए। यसबाहेक पनि विद्यालयमा थप दर्जन हाराहारी ब्लक (भवन)हरु बन्ने गरी आकर्षक संरचनासहितको डिपिआर तयार गरेको छ।
कम्पाउण्ड वाल, फराकिलो खेलमैदान, मैदान बीचमा सरस्वति मन्दिरसहितको कार्यक्रम मञ्च (स्टेज), छात्रछात्राका लागि फरकफरक आबास, पुस्तकालय, अडिटोरियम हल (सभाकक्ष) र फुलबारी हुने गुरुयोजनामा उल्लेख छ। ती सबै संरचना निर्माणका लागि ५ वर्षभित्र कुल लागत ३४ करोड खर्च हुने प्राविधिक इस्टीमेट बनेको छ।
बाल विकास (शिशु) देखि कक्षा १२ सम्म अंग्रेजि र नेपाली दुवै माध्यममा पठनपाठन भईरहेको विद्यालयमा कक्षा ११ र १२ तर्फ शिक्षा, व्यवस्थापन र विज्ञान विषय पढाई हुँदैछ। त्यस्तै प्राविधिक धारतर्फ कक्षा ९ र १० देखि नै सिभिल इन्जिनियरिङको पढाई भईरहेको राईले बताए। सामुदायिक विद्यालयतर्फ जिल्लामै सबभन्दा पहिला विद्यालयले दुईवटा स्कुल बस सञ्चालनमा ल्याएको छ। बस सेवा सञ्चालनमा ल्याएपछि विद्यार्थी संख्या ह्वात्तै बढेको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष तामाङले बस सेवा सञ्चालन गर्नुका साथै अंग्रेजि माध्यममा पठनपाठन थालेपछि चारगुणा बढी विद्यार्थी थपिएको बताए। उनका अनुसार नेपाली माध्यमको पढाई हुँदा ३ सय १८ जना विद्यार्थी रहेकोमा बिगत १८ महिनाको अवधिमा अंग्रेजि माध्यम र बस सेवा सुरु भएपछि विद्यार्थी संख्या १ हजार २ सय ५ पुगेको छ। अध्यक्ष तामाङ यो आकर्षणले सरकारी तथा सामुदायिक विद्यालय पनि बोर्डिङ (नीजि तथा आवासीय) भन्दा कम छैनन् भन्ने प्रमाणित भएको बताउँछन्। उनले गुरुङचौरी माविलाई जिल्लाकै नमूना शिक्षण संस्थामा परिणत गर्नेगरी प्रअ राई र विद्यालय परिवार लागिरहेको बताए।
गुरुयोजना अनु्सार सरकारले बजेट सहयोग गरे ५ वर्षभित्रमा सम्पूर्ण भौतिक संरचना निर्माण सकेर साँच्चै नमूना विद्यालय बनाउने योजना स्कुल परिवारले लिएको छ। त्यसका लागि नेपाल सरकार, आन्तरिक स्रोत र बिभिन्न संस्थासँग सहयोगको आग्रह गरिएको उनको भनाई छ। आवश्यक ३४ करोडमध्ये शिक्षा विभागबाट ८ करोडको आश्वासन पाएको विद्यालयले संघीय सांसद तथा परराष्ट्रमन्त्री डा. नारायण खड्काले पनि थप बजेटको लागि पहल गर्ने आश्वासन दिएको जनाएको छ।
प्रकाशित: ४ फाल्गुन २०७८ ०४:२२ बुधबार





