२२ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

त्रिवि अन्तर्गतको आइओएमका सोमबार हुने परीक्षा स्थगित भएन, परीक्षार्थीमा मानसिक तनाव

अधिकांश परीक्षार्थी कोरोना संक्रमित

कोभिड १९ संक्रमणको बढ्दो जोखिमका कारण त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले वार्षिक प्रणाली तथा डिन कार्यालय अन्तर्गतका सेमेस्टरका सबै परीक्षाहरु स्थगित गरेपनि चिकित्सा शिक्षा शास्त्र अध्ययन संकाय (आइओएम) ले माघ १० गतेदेखि डेन्टल तर्फका नियमित परीक्षाहरु अझै स्थगित गरेको छैन।  

एकातिर कोरोनाको तेस्रो लहर बढेसँगै विश्वविद्यालयहरुले परीक्षाहरु स्थगित गरेका छन् भने जिल्ला प्रशासन कार्यालय काठमाडौंले समेत भौतिक उपस्थितका परीक्षाहरु हाललाई नगर्न तथा नगराउन सबै शैक्षिक निकायहरुलाई निर्देशन दिएको छ। तर आइओएमले सोमबारदेखि हुने तय भएको डेन्टल तर्फको अन्तिम वर्षको परीक्षा स्थगित नगरेपछि विद्यार्थीहरु मानसिक तनावमा छन्।  

ग्वार्कोमा रहेको किस्ट मेडिकल कलेजमा अध्ययनरत डेन्टलको अन्तिम वर्षकी छात्राले नागरिकलाई फोन मार्फत आफू कोरोना संक्रमित रहेको तर कलेजले परीक्षामा सहभागिता जनाउनु पर्ने भन्दै आएको भनेपछि थप मानसिक तनाव भएको जनाइन्।

‘मलाई कोरोना पोजेटिभ देखिएको छ, थुप्रै साथीहरुमा लक्षणहरु पनि देखिएका छन्,’ ति छात्राले नागरिकसँग फोनमा कुरा गर्दै भनिन्, ‘हामी ३१ जना परीक्षार्थीमध्ये आधाभन्दा बढीमा रुघाखोकी, ज्वरो छ।’ उनी थप्छिन्, ‘परीक्षा केन्द्रसम्म पुग्ने अवस्था छैन। कसरी परीक्षा दिनु। हाललाई आइओएमले केही दिन स्थगित गरिदिनु पर्यो।’

क्षेत्रपाटीमा रहेको पिपुल्स डेन्टल कलेजकी अर्की छात्राले पनि कलेजमा धेरै साथीहरु बिरामी भएकाले परीक्षा जतिसक्दो छिटो स्थगित गरेर विद्यार्थीलाई तनावमुक्त पार्न आग्रह गरेकी छिन्।  

‘मेरो घरपरिवारका सदस्यहरु कोरोना संक्रमित हुनुहुन्छ, यस्तो अवस्थामा मलाई पनि लक्षणहरु देखिएका छन्’, ति छात्राले भनिन्, ‘यस्तो अवस्थामा मानसिक तनाव छ। परीक्षाको तयारी कसरी गर्नु।’

भैरवाको युनिभर्सल मेडिकल कलेज पनि त्रिवि अन्तर्गतकै कलेज हो। यस कलेजका एक छात्रले आफू छात्रावासमै बिरामी भएको बताउँदै सोमबारको परीक्षालाई आइओएमले स्थगित गरी परीक्षाको अन्योलता हटाउनु पर्ने माग गरेका छन्।

‘हाम्रा कलेजबाट डेन्टलका ४२ परीक्षार्थीहरु छन्। २८ जनाभन्दा बढीमा रुघाखोकी र ज्वरो छ। कोरोनाको लक्षण देखिएको छ,’ ति छात्रले नाम नराख्ने शर्तमा भने, ‘म आफू पनि बिरामी छु। कलेजका शिक्षक कर्मचारी पनि बिरामीनै हुुनुहुन्छ।’ उनी थप्छन्, ‘यस्तो अवस्थामा कसरी परीक्षा दिनु। परीक्षा केन्द्रमा सुरक्षाको उपाय समेत अपनाइँदैन। जोखिम बढ्दो अवस्थाका कारण परीक्षा हाललाई स्थगित गर्नु पर्छ।’

किस्ट मेडिकल कलेजका कानूनी सल्लाहाकार केशव आचार्यले हाल कोरोनाको जोखिम बढ्दै गएको तर आइओएमले परीक्षाबारे कुनै निर्णय नगरेकोले सोमबारको परीक्षा नरोकिएको बताए। तर उनले हालको अवस्थामा एक साता परीक्षा सार्नु पर्ने सुझाव दिएका छन्।  

‘स्वास्थ्यभन्दा ठूलो केही होइन। सरकारले स्मार्ट लकडाउनको नाममा थप संक्रमण बढाइरहेको छ,’ आचार्य भन्छन्, ‘स्मार्ट लकडाउन भने पनि सार्वजनिक यातायतामा यात्रु कोचिएका छन्। जथाभावि विनामास्क र सेनिटाइजर जनता सडकमा हिँडेका छन्। यस्तो अवस्थामा कोरोना कम हुँदैन।’ उनी सुझाउँछन्,‘जनताको हितकको लागि सरकारले नै एक साता पूर्णरुपमा लकडाउन गर्नु पर्छ। विद्यार्थीको हितका लागि आइओएमले एक साता परीक्षा सार्नु पर्ने देखिन्छ।’

आइओएमकी डिन डा. दिब्या सिंहले कोरोनाको संक्रमण बढ्दै गएको अवस्थामा डिन कार्यालयले सिरियसनेसको अवस्थाको मूल्यांकन गरेर थप निर्णय लिने बतााइन्।  

‘म आफै पनि कोरोना संक्रमित भएकी छु। हामीले स्वास्थ्यलाई माथि राखेर हेर्नु पर्छ’, डिन डा. दिब्याले नागरिकसँग भनिन्, ‘सोमबारदेखि डेन्टलको परीक्षाबारे के गर्ने भन्ने आइतबार थप छलफल गरी निर्णय गर्ने तयारीमा डिन कार्यालय छ।’ उनी थप्छिन्, ‘विद्यार्थीलाई मानिसक तनाव हुने काम डिन कार्यालयले गर्ने छैन। आइतबार परीक्षाबारे थप निर्णय हुन्छ।’

प्रकाशित: ८ माघ २०७८ १५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App