१९ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

क्याम्पसको जग्गा जोगाउन बचाउ समिति गठन, सडक संघर्ष गर्ने घोषणा

महेन्द्र बहुमुखी क्याम्पस मोही जग्गा प्रकरणः

महेन्द्र क्याम्पस जग्गा बचाउ समिति पत्रकार सम्मेलन गर्दै। तस्बिरः रोहित राई

महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा मोहीको नाम गरेर भूमाफियाले हडप्न लागेको भन्दै संरक्षणको लागि नागरिकस्तरबाट बचाउ समिति गठन गरिएको छ।

क्याम्पसका पूर्वप्रमुख कुमारबहादुर कार्कीको संयोजकत्वमा वृहतस्तरको महेन्द्र बहुमुखी क्याम्पस धरान जग्गा बचाउ समिति गठन गरिएको हो। समितिमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिहरु सल्लाहकार छन् भने राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, बुद्धिजिवि तथा नागरिक अगुवाहरु पनि सदस्य छन्। बचाउ समितिले सोमबार क्याम्पसमा पत्रकार सम्मेलन गर्दै भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीले गत असोज २५ गते गरेको फैसला खेदजनक, गम्भीर त्रुटीयुक्त र आपत्तिजनक रहेको प्रतिक्रिया दिएको छ। असोज २५ गते भूमिसुधारले जग्गाको मोही डम्बरबहादुर घिमिरेको मृत्यु भएको २२ वर्षपछि मोही हक नामसारी गर्ने फैसला गरेको थियो।

बचाउ समितिले अज्ञानतावस लोभलालचमा परेर कोही क्याम्पसको जग्गा हडप्ने कार्यमा संलग्न भए अलग हुन र शैक्षिक संस्थाको सम्पत्ति संरक्षणको अभियानमा सामेल हुन पनि आह्वान गरेको छ। धरानका पूर्वनगर प्रमुखसमेत रहेका बचाउ समितिका संयोजक कार्कीले क्याम्पसको जग्गा जोगाउन अब सडकबाटै आन्दोलन शुरु गरिने बताए। क्याम्पसको विद्यार्थी, शिक्षक र कर्मचारीहरुको संयुक्त जुलुस निस्कनेछ भने इञ्जिनियरिङ क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार र पिण्डेश्वर विद्यापिठसहितको ऐक्यवद्धता जुलुस निकालिनेछ। ‘तेस्रो जुलुस आम नगरवासीहरुलाई आह्वान गरेर निकाल्ने योजना छ, तर अहिले कोभिड संक्रमणको कारण तत्काल यी कार्यक्रमहरु रोकेका छौ, र सहज अवस्था भएपछि गछौं,’ उनले भने।

बचाउ समितिले सांकेतिकरुपमा भने माघ ५ गते मौन जुलुस निकाल्ने भएको छ। धरानको छाताचोकदेखि स्वास्थ्य मापदण्ड पूरा गरेर प्ले कार्डसहित मौन जुलुस निस्कने पनि संयोजक कार्कीले जानकारी दिए। ‘माघ ५ गतेपछि प्रदेशका सभामुख, मुख्यमन्त्री, नगरपालिका र अन्य महत्वपूर्ण निकायहरुमा ज्ञापन पत्र पनि बुझाउछौ,’ कार्कीले भने,‘अब हाम्रो कार्यक्रमहरु सडकमा, चौरमा र धरानभरि नै गर्छौं।’

क्याम्पसले २०३४ सालमा धरान ११ स्थित स्वास्तिक चोकमा कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा खरिद गरेको थियो। उक्त जग्गाको स्रेस्तामा मोही डम्बरबहादुर घिमिरे थिए। मोही परिवारलाई खुसी बनाएर नै जग्गा क्याम्पसलाई बिक्री गरिएको तत्कालीन जग्गाधनी श्याम गोविन्द श्रेष्ठले बताउँदै आएका छन्। स्रेस्ताबाट मोहीको लगतकट्टा नहुँदा अहिले भूमाफियाको चंगुलमा क्याम्पस फसेको हो। मोहीले जग्गाको ५० प्रतिशत जग्गा पाउने कानूनी प्रावधान छ। यो हिसाबले क्याम्पसबाट मोहीले पाउने जग्गाको मूल्य कम्तीमा २० करोडको हुन्छ। त्यसैले यो जग्गा हत्याउन मोहीको छोरा यज्ञबहादुरलाई अघि सारेर भूमाफियाहरु सक्रिय भएका हुन्।

क्याम्पसको उक्त जग्गामा मोही पक्षको भोगचलन छैन। त्यहाँ क्याम्पसले घेराबारा गरेर भौतिक संरचनाहरु निर्माण गरेको छ। मोही घिमिरेको २०५६ सालमा नै मृत्यु भएको थियो भने उनकी पत्नी शिवकुमारीको पनि २०६४ सालमा निधन भइसकेको छ। घिमिरे दम्पत्तिको निधन भएको लामो समयपछि छोरा यज्ञबहादुरले २०७५ मा नाता प्रमाणित गरेर मोही हक आफ्नो नाममा नामसारी गर्न भूमिसुधार कार्यालयमा निवेदन दिएका थिए। क्याम्पसले पनि जग्गामा मोहीको जोतभोग नभएको र तिरो पनि नतिरेको, उक्त जग्गा क्याम्पसले हकभोग गरेर भवनसमेत बनाएको दाबी गर्दै मोही लगत कट्टा गर्न अर्को निवेदन दिएको थियो। तर, भूमिसुधारले एकपक्षीयरुपमा मोही नामसारी गरिदिने फैसला गरेको थियो।

माघ १९ गते पेशी

भूमिसुधार तथा मालपोत कार्यालयले असोज २५ गते निवेदक यज्ञबहादुर क्षेत्रीको नाममा मोही हक नामसारी गर्ने फैसला गरेको थियो। क्याम्पस प्रशासनले मोही लगतकट्टाको माग गर्दै दिएको निवेदन र प्रमाणहरुको बेवास्ता गर्दै मोहीको हकवालाको पक्षमा फैसला गरेपछि सर्वत्र विरोध भएको थियो।

क्याम्पस प्रशासनले हदम्याद भित्र उक्त फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुष १४ गते पुनरावेदन गरेको थियो। पुनरावेदनको पहिलो तारिख माघ २ गते तोकिएको थियो। क्याम्पस प्रमुख दामोदर भण्डारीका अनुसार उच्च अदालतले माघ १९ गते पेशी तोकेको छ। ‘भूमिसुधारको बदनियतपूर्ण फैसला आएको थियो, त्यसविरुद्ध हामीले हदम्यादभित्रै पुष १४ गते पुनरावेदन गर्यौ। उच्च अदालतमा माघ २ गते तारिख थियो, अब १९ गतेलाई पेशी तोकिएको छ,’ प्रमुख भण्डारीले भने।

प्रकाशित: ३ माघ २०७८ १३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App