२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

कलेज प्रशासनमा विद्यार्थीको ताला

विराटनगरस्थित नोबेल मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीले कलेज प्रशासन कोठामा ताला लगाई दिएका छन्। चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कमा विद्यार्थीलाई पठनपाठन गराउन माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले बुधबार कलेजको प्रशासन कोठामा ताला बन्दी गरेका हुन्।

मंगलबार विद्यार्थीहरूले अतिरिक्त शुल्क नलिन र विद्यार्थीलाई पठनपाठनको व्यवस्था गर्न माग गर्दै नोबेललाई २४ घण्टे अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएका थिए। अतिरिक्त शुल्क बुझाएका र विदेशी विद्यार्थीलाई मात्रै पठनपाठन गराएर कलेजले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई पठनपाठनबाट बञ्चित गर्दै आएको छ।

चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको भन्दै विभिन्न निकाय धाएका विद्यार्थीहरूले कतैबाट सुनुवाइ नभएपछि एक सातादेखि कलेज परिसरमा धर्नालगायतका विरोधका कार्यक्रम गर्दै आएका थिए।

धर्ना विरोधलगायतका आन्दोलनका कार्यक्रम कलेज प्रशासनले विद्यार्थीको माग सुनुवाइ नगरेपछि विद्यार्थीहरूले कलेजको प्रशासन कार्यालयमै तालाबन्दी गरेर आन्दोलन सशक्त पार्दै लगेको जनाएका छन्। उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्। कलेजको मनोमानीविरुद्ध आन्दोलनरत विद्यार्थीहरूलाई ५ वटा  विद्यार्थीका संगठनहरूले पनि सहयोग गरेका थिए।  

उनीहरुले तीन नै तहका सरकारले हाम्रो कुराको सुनुवाइ नगरी कलेज प्रशासन र सञ्चालकसँग मिलेको आरोप लगाएका छन्। एमबिबिएस प्रथम सेमिस्टरका विद्यार्थीले अतिरिक्त शुल्क नबुझाएकाले कक्षा प्रवेशमा रोक लगाएको बताए। विद्यार्थीहरुलाई नोबेलले अतिरिक्त शुल्क बुझाउन दबाब दिँदै कक्षा प्रवेश गर्न रोक लगाएपछि आन्दोलनमा उत्रनु परेको उनीहरुले बताए।

१ सय जना विद्यार्थीमध्ये २७ जनाले मात्र शुल्क बुझाएका छन्। बाँकीले मागेको अतिरिक्त शुल्क बुझाउन नसक्ने भनेपछि उनीहरुलाई कक्षामा प्रवेश गर्न रोक लगाइएको हो।

चिकित्सा शिक्षा आयोगले ताकेको भन्दा बढी शुल्क नलिन काठमाडौं विश्वविद्यालले समेत कलेजमा पत्रचार गरे पनि त्यसको बेवास्ता गर्दै जबरजस्ती शुल्क मागेको बताइएको छ।

एमबिबिएस पहिलो वर्षको १४ लाख ७८ हजार ६ सय ७५ रुपैयाँ बुझाएका विद्यार्थीबाट काठमाडौं विश्वविद्यालय सम्बन्धन शुल्क वापतको रकम र होस्टेल शुल्क वापतको रकम बुझाउन दबाब दिइएको छ। जसका कारण विद्यार्थी पढाइबाट बञ्चित हुनु परेको हो। कलेज प्रशासनले विद्यार्थी कक्षा कोठामा पस्न नपाउन भनेर कलेज ब्लकबाट कक्षा सारेर अस्पताल ब्लगको माथिल्लो तलामा लगिएको छ। मुख्य ढोकामा कलेजको सुरक्षागार्ड र प्रहरी राखेर ताला लगाइए पनि आन्दोलनमा उत्रेका विद्यार्थीले गेट भत्काएर प्रशासन कोठामा गई ताला बन्दी गरे।

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/०७८ का लागि निर्धारण गरेको शुल्क बाहेक ४ लाख ८२ हजार रुपैयाँ बुझाउन दबाब दिँदै आएको छ।

चिकित्सा शिक्षा आयोगले एमबिबिएस अध्ययनका लागि शिक्षण शुल्क वापत जम्मा ४४ लाख ३६ हजार २५ रुपैयाँ तोकेको छ। शिक्षण शुल्कभित्र विश्वविद्यालय सम्बन्धन शुल्क, सामाजिक तालिम शुल्क, इन्टनसीप शुल्क, प्रयोगशाला परीक्षण शुल्क, भर्ना शुल्क, परीक्षा तथा अतिरिक्त क्रियाकलाप शुल्कसमेत समावेश हुन्छ।

विद्यार्थीका अनुसार होस्टल, खानाको मेसलगायतका कुरालाई ऐच्छिक भनेर चिकित्सा आयोगले सूचना जारी गरे पनि कलेज प्रशासनले जबरजस्ती शुल्क माग गरेको बताए। कलेजले दिएको होस्टलमा चर्को शुल्क तिर्नुपर्ने तर, सेवासुविधा भने केही पनि नदिने गरेको विद्यार्थीले बताए।

प्रकाशित: २१ पुस २०७८ १२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App