१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

आइटीमा अवसर

स्नातक शिक्षा विशेष

कोरोना महामारीका कारण अहिले विश्व नै सूचना प्रविधिमय बनेको छ। सूचना प्रविधिको सञ्जालले विश्वलाई साँघुरो बनाइरहेको छ। कोभिडका कारण विश्वभरि नै गरिएको लकडाउनले सबै क्षेत्र प्रायः बन्द रहे। तर, सूचना प्रविधिको क्षेत्र भने कहिल्यै बन्द भएन। यहाँसम्म कि कोभिडका कराण प्रभावित देशहरूमा सरकार सञ्चालनदेखि व्यावसायिक क्षेत्र नै सूचना तथा प्रविधिमै आधारित भएर सञ्चालन भयो र भइरहेको छ। शिक्षा, स्वास्थ्य तथा व्यक्तिको जीवनको समेत एक अभिन्न अंग हुन पुगेको छ, सूचना तथा प्रविधि।

आइटीको बढ्दो प्रयोगसँगै विद्यालयदेखि विश्वविद्यालय शिक्षा नै आइटीमै बनेको छ। यस्तो अवस्थामा आइटीमा थप अवसर बढ्दै गएको जानकारहरू बताउँछन्। आइटिको बढ्दो प्रयोगले अवसरका साथै केही चुनौती पनि निम्त्याएको त छँदैछ तर यसको सही तरिकाले प्रयोग गरे मानवजीवन नै सहज बन्न सक्ने लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका प्रमुख पंकज जलान बताउँछन्।

उनको कलेजमा बिएससी आइटी र बिएससी आइटी इन नेटवबर्किङ कम्प्युटिङ विषयको पठनपाठन हुन्छ। नयाँ शैक्षिक सत्रदेखि नेपालमै पहिलोपटक क्लाउड कम्प्युटिङ विषयको पठनपाठन सुरु हुने उनी बताउँछन्। ‘सूचना प्रविधिमा सदुपयोग र दुरूपयोग दुवै हुने गर्छन्,’ प्रमुख जलानले नागरिकसँग भने, ‘तर हामीले यसको अवसरलाई ध्यान दिएर अघि बढ्नुपर्छ। त्यही भएर आइटीका नयाँ विषयहरू नेपालमा पनि लन्च हुँदैछ।

मेरो कलेजमा नयाँ शैक्षिक सत्रदेखि क्लाउड कम्प्युटिङ विषय सुरु हुँदैछ।’ उनी थप्छन्, ‘सूचना प्रविधिको क्षेत्रमा आफ्नो सूचनाहरूलाई थप सुरक्षित बनाउन र कहिल्यै पनि नष्ट हुन नदिन क्लाउड कम्प्युटिङ विषय महत्वपूर्ण छ।’ यो विषयको माग बढिरहेकाले उत्पादित जनशक्तिलाई स्वदेश तथा विदेश दुवैतिर अवसरै अवसर छ।

यति मात्र होइन आइटीसँग जोडिएका सबै विषय त्यत्तिकै महत्वपूर्ण र उपयोग रहेको बत्तीसपुतलीमा रहेको गाोल्डेन गेट कलेजका प्रमुख रमेल सिलवाल बताउँछन्। उनका अनुासर आइटिबाट उत्पन्न विभिन्न समस्याले पनि विश्व चिन्तित छ। यस्तो अवस्थामा आइटीको विकासबाट उत्पन्न भएको अवसरको सदुपयोग र सिर्जित समस्यालाई समाधान गर्ने जनशक्तिको खाँचो रहेको आइटीका जानकारहरू बताउँछन्। यही कारण स्कुलदेखि विश्वविद्यालयसम्म आइटी ज्ञान र अनुसन्धानको एक छुट्टै विषयका रूपमा पठनपाठन गराउने माग बढिरहेको कलेज सञ्चालकहरू नै सुनाउँछन्।

इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आइएसएमटी) कलेजका प्रशासन प्रमुख वासुदेव अवस्थीका अनुसार नेपालमा पनि आइटीको विश्वविद्यालय डिग्रीप्रति धेरैको आकर्षण रहेकाले नेपालका विश्वविद्यालयहरूले समेत आइटीको विषय पठनपाठन सुरु गरेका हुन्। ‘विशेष गरी कक्षा १२ पासपछि विद्यार्थीहरूको आकर्षण आइटिका विषयहरूमा देखिन्छ,’ अवस्थी भन्छन्, ‘नेपालमा स्वदेशी तथा विदेशी दुवै विश्वविद्यालयले स्नातकदेखि माथिलो तहसम्म नै आइटी विषयहरू पढाउन थालेका छन्।

इस्लिङ्टन कलेजका प्राज्ञिक अधिकृत रोहित पाण्डेले आइटीमा बर्सेनि पाठ्यक्रम अपडेट हुने र विद्यार्थीले समयसापेक्ष विषयवस्तुहरू अध्ययन गर्न पाउनुले पनि अवसर बढेको अनुभव सुनाए। आइटीको पाठ्यक्रममा पनि यथावत् रहेका कम्प्युटिङ, नेटवर्किङ एन्ड आइटी सेक्युरिटी र मल्टिमिडिया टेक्नोलोजीलगायत पाठ्यक्रमम प्रविधिलाई लक्षित गरी मोबाइल एप्लिकेसन डेभेलप्मेन्ट र आर्टिफिसियल इन्टेलिजेन्सजस्ता समयसापेक्ष पाठ्यक्रमहरू थप गरिएका छन्।

‘अध्ययनरत विद्यार्थीहरू पाठ्यक्रमका सहयोगले विश्वव्यापी रूपमा प्रगतिशील रहून् भन्ने अपेक्षाले यस कलेजले वर्षभरि नै सैद्धान्तिक र व्यावहारिक शिक्षणको पद्धति अपनाउने गर्छ,’ अधिकृत पाण्डेले भने, ‘आईटीको क्षेत्रमा विद्यार्थीहरूलाई अनुभवी र दक्ष शिक्षाविद्हरूद्वारा निरन्तर रूपमा मार्गदर्शन गर्दै एलटीडब्लु (लेक्चर–ट्युटोरियल–वर्कशप) को माध्यमबाट आधारभूत र अनुभवी शिक्षण प्रदान गर्नै पर्छ,’ उनी थप्छन्, ‘त्यति मात्रै होइन, आइटी विषय अध्ययन गराउँदा विद्यार्थीलाई जीवनोपयोगी क्षमता अभिवृद्धि गराउन कलेजहरूले विविध शैक्षिक सीप र तालिम पनि दिनुपर्छ। यसले विद्यार्थीलाई थप दक्ष बनाउँछ।’

केके पढाइ हुन्छ ?

विभिन्न विश्वविद्यालय तथा शैक्षिक निकायहरूले आइटीमा आआफ्नै कोर्स डिजाइन गरेका हुन्छन्। विद्यार्थीले कोर्स छनोट गर्दा यिनै विषयमा ध्यान दिनुपर्छ। बिएस्सी आइटी, बिआइटी, बिएस्सी सिएस आइटी, बिआइएम, बिएस्सी आइटी बिथ नेटवर्क कमप्युटिङ, क्लाउड कम्प्युटिङलगायत लोकप्रिय विषय आइटीमा अध्ययन हुन्छ। स्वदेशी तथा विदेशी दुवै खाले विश्वविद्यालयका कोर्सहरू नेपालमा अध्यापन गराइने जलान बताउँछन्। बिएससी आइटी विद्यार्थीमा निकै लोकप्रिय कार्यक्रममध्ये एक हो।

विदेशी डिग्री तीन वर्षे छ भने त्रिवि, केयु, पोखरा, पूर्वाञ्चललगायतका नेपाली विश्वविद्यालयहरूको आइटीको चार वर्षे कोर्स हुन्छ। विदेशी शैक्षिक निकायहरूमा मलेसिया, बेलायत, अस्ट्रेलिया विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजहरूले आइटी पठनपाठन गराउँदै आएका छन्।

‘लर्ड बुद्ध कलेज मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटि आफ टेक्नोलोजी एन्ड इनोभेसनको सम्बन्धनमा चलेको छ,’ अध्यक्ष जालनले भने, ‘कन्टेन्टमा डाटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्सजस्ता विषयलाई धेरै जोड दिइएको छ।’ उनले थपे, ‘यी विषयहरू विश्वव्यापी रूपमै डिमान्डिङ छन्। ठूला तथ्यांकका क्षेत्रमा विश्वव्यापी रूपमा धेरै सम्भावना बढ्दै गएको हुनाले यसमा अवसर प्रशस्तै छन्।’

काठमाडौंको पुलतीसडकको धोबीधारामा रहेको इन्स्टिच्युट अफ इन्टरनेसनल म्यानेजमेन्ट साइन्स (आइआइएमएस) कलेजका प्रुमख कार्यकारी अधिकृत सविन्द्र महर्जनले तीनवर्षे बिआइटी अध्ययनकै क्रममा विद्यार्थीहरू रोजगारिका लागि विभिन्न कम्पनीले रिजर्भ गर्छन् र उत्पादित जनशक्तिहरू नेपालकै विभिन्न स्तरीय बैंक, वित्तीय संस्था तथा विभिन्न कम्पनीहरूमा अवसर पाउने दाबी गर्छन्। उनको कलेजमा मलेसियाको युसिएसआई विश्वविद्यालयको सम्बन्धनमा तीन वर्षे बिआइटी कोर्स सञ्चालन रहेको छ।

प्रकाशित: १ पुस २०७८ ०५:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App