२३ भाद्र २०८१ आइतबार
image/svg+xml
शिक्षा

‘कोर्स र कन्टेन्ट हेरेर विषय छानौं’

स्नातक शिक्षा विशेष

विश्वविद्यालयहरूले मेडिसन, इन्जिनियरिङ, फरेस्ट्री, एग्रिकल्चरलगायत विषयहरूमा प्रवेश गर्न जिपिए २ तोकेका छन् भने अन्य विषयका लागि १.६ ग्रेड प्वाइन्ट तोकिएको छ। स्नातक तह विद्यार्थीको करिअर बनाउने आधार भएकाले उनीहरू बजारको मागअनुसार प्रोफेसनल विषय छनोट गरी अध्ययन गर्न उन्मुख रहेको राष्ट्रिय परीक्षा बोर्डका निवर्तमान अध्यक्ष चन्द्रमणि पौडेलले बताए।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले हालै कक्षा १२ को नतिजा प्रकाशन गरेको छ। सबै विद्यार्थीले कुनै न कुनै ग्रेड प्राप्त गरेर उत्तीर्ण भएका छन्। उनीहरूलाई आफ्नो रुचिको विषयमा अध्ययन गर्ने बाटो खुलेको छ। अर्थात्, अब उनीहरूलाई विश्वविद्यालय प्रवेशको अवसर प्राप्त भएको छ। यस वर्ष विद्यार्थीको भौतिक उपस्थितमै कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो। उनीहरूले स्नातकमा भर्ना पाउनेमा कुनै शंका नरहे पनि प्रवेश परीक्षा लिएर कलेजहरूले उनीहरूको योग्यता जाँच्ने गरेका छन्।  

विगतमा कक्षा १२ मा ‘ए’ प्लस वा ‘ए’ ल्याउनेको पहिलो रोजाइ नै मेडिकल, इन्जिनियरिङ हुने गरे पनि पछिल्लो समय सो अवस्था बदलिएको छ। विद्यार्थीहरू अध्ययनपछि भविष्यमा के गर्ने भनेर अहिलेदेखि नै सचेत देखिन्छन्। त्यही भएर लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष पंकज जलान विद्यार्थीलाई विषयको नामभन्दा पनि त्यस विषयले दिने कन्टेन्टमा ध्यान दिनुपर्ने सुझाउँछन्।  

अध्ययन सकिनासाथ रोजगार र अवसर पाउने भएकाले अभिभावक र विद्यार्थी दुवैको रोजाइ आइटी र व्यवस्थापनका विषयहरू बनेको उनको भनाइ छ। ‘कुनै पनि विषय आफैंमा डिमान्डिङ हुँदैन,’ अध्यक्ष जलान भन्छन्, ‘त्यस विषयभित्रको कोर्स कन्टेन्ट महŒवपूर्ण हुन्छ। विद्यार्थीले आफूले अध्ययन गर्ने विषयका कन्टेन्टहरू कस्ता छन् ? चार वर्ष वा तीन वर्ष स्नातकमा पढेपछि त्यस विषयको बजार कस्तो छ ? यी महŒवपूर्ण विषयहरूमा ध्यान दिनुपर्छ।’ उनी थप्छन्, ‘विद्यार्थीले उद्योगसँग मेल खाने शिक्षा हासिल गर्नु आजको आवश्यकता हो। मेडिकलमा पनि एमबिबिएसमा नाम ननिस्के कुरेर बस्नुभन्दा पनि विद्यार्थीले प्यारामेडिकलभित्रका विभिन्न विषय छनोट गरी अध्ययन अगाडि बढाउनुपर्छ।’

विश्वविद्यालयहरूले मेडिसन, इन्जिनियरिङ, फरेस्ट्री, एग्रिकल्चरलगायत विषयहरूमा प्रवेश गर्न जिपिए २ तोकेका छन् भने अन्य विषयका लागि १.६ ग्रेड प्वाइन्ट तोकिएको छ। स्नातक तह विद्यार्थीको करिअर बनाउने आधार भएकाले उनीहरू बजारको मागअनुसार प्रोफेसनल विषय छनोट गरी अध्ययन गर्न उन्मुख रहेको राष्ट्रिय परीक्षा बोर्डका निवर्तमान अध्यक्ष चन्द्रमणि पौडेलले बताए। त्रिभुवन विश्वविद्यालयका पूर्वरजिस्ट्रारसमेत रहेका पौडेल अनुभव सुनाउँदै नागरिकसँग भन्छन्, ‘अहिले नेपालमा विदेशी विश्वविद्यालयका डिग्रीहरूसमेत छन्। 

थरीथरीका विषय सञ्चालन भएकाले विद्यार्थीले छानीछानी कोर्स अध्ययन गर्ने वातावरण छ।’ पौडेल अचेल विद्यार्थीहरू मेडिसिन र इन्जिनियरिङभन्दा पनि प्रोफेसनल विषय बढी छनोट गर्नतर्फ आकर्षित रहेको बताउँछन्। ‘व्यावसायिक विषय अध्ययन गर्दा कम खर्चमा छिटै कोर्स पूरा हुन्छ। अध्ययनपछि उत्पादित जनशक्ति उद्यमी, रोजगारदाता बन्छन् भने उनीहरूलाई स्वदेश तथा विदेशमा रोजगारको कमी हुन्न,’ उनी भन्छन्।  

‘भविष्य सुरक्षित हुने विषय छनोट गर्नुपर्छ’  

स्नातक तहमा विद्यार्थीहरूले आफ्नो अवसर र भविष्य सुरक्षित हुने विषयहरू छनोट गर्नुपर्ने उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सञ्चालक संघ नेपाल (हिसान) का अध्यक्ष रमेश सिलवाल सुझाउँछन्। स्नातकमा विद्यार्थीको मुख्य आकर्षण मेडिकल, इन्जिनियरिङ, व्यवस्थापन, प्राविधिक, आइटी, फरेस्ट्री, एग्रिकल्चर तथा विज्ञानतर्फ पाइएको उनी बताउँछन्।  

अध्यक्ष सिलवालका अनुसार हाल स्नातकमा विद्यार्थीको मुख्य आकर्षण नै प्राविधिक विषय हुन्। छात्रवृत्तिमा अध्ययन गर्नेहरूले मेडिकलतर्फ एमबिबिएस, डेन्टल र नर्सिङ विषय रोज्ने गरेका छन्। गोल्डेन गेट कलेजका संस्थापक अध्यक्ष सिलवालले प्राविधिक शिक्षा सीपसँग जोडिएकाले विद्यार्थी एग्रिकल्चर र फरेस्ट्रीसमेत रोज्ने गरेको बताउँछन्।

हाल प्रकाशित ग्रेडिङ प्रणालीको नतिजाका कारण विद्यार्थीलाई रुचाएको विषय छनोट गर्न सहज बनाएको छ भने कलेजहरूलाई समेत विद्यार्थीले प्राप्त गरेको ग्रेडिङअनुसार भर्नामा समेत सहयोग पुर्‍याएको अनुभव सुनाए। उनले अझै पनि विद्यार्थीले राम्रो ग्रैड ल्याउनासाथ पहिलो रोजाइ मेडिसन त्यसपछि इन्जिनियरिङ अनि व्यवस्थापन र आइटी बनेको अनुभव सुनाए। ‘स्वदेशमा समेत विभिन्न अस्पताल र विदेशमा केयरटेकर र केयरगिभरको कामका लागि राम्रो पारिश्रिमिकमै नर्सको अत्यधिक माग कायमै छ,’ अध्यक्ष सिलवालले नागरिकसँग भने, ‘विषय सबै राम्रो छ।’ विद्यार्थीले चाहना र रुचिअनुसारको विषय अध्ययन गर्दा राम्रो हुने उनी सुझाउँछन्। ‘त्रिभुवन विश्वविद्यालयअन्तर्गतका कलेजहरूमा बिबिए, बिबिएम, बिएचएम, बिआइएम, बिटिटिएम, बिसिए, बिटेक इन फुड, बिएससिसी, एसआइटीलगायत विषयहरूमा अध्ययन गर्न त्रिविले लिएको प्रवेश परीक्षामा विद्यार्थी अनिवार्य पास हुनुपर्छ,’ उनी भन्छन्।

मेडिकल विषयमा भने त्रिवि र काठमाडौं विश्वविद्यालयअन्तर्गतका कलेजमा विद्यार्थीको बढी आकर्षण छ। तर, त्रिविले थोरै विद्यार्थी पास गराउने भएकाले यस वर्ष नर्सिङलगायत प्यारामेडिकलतर्फका धेरै सिट खाली रहे। दोस्रो आकर्षण भनेको इन्जिनियरिङका विषय हुन्। मेडिकलभन्दा सर्वसुलभ, रोजगारीसमेत पाउने राम्रो अवसर भएकाले इन्जिनियरिङतर्फ विद्यार्थीको आकर्षण बढिरहेको छ। सिलवालका अनुसार इन्जिनियरिङमा पनि पहिलो प्राथमिकतामा सिभिल, दोस्रोमा कम्प्युटर, तेस्रोमा मेकानिकल पर्ने गरेको छ। सिलवालको पनि एडभान्स इन्जिनियरिङ कलेजमा भर्ना हुन आउने विद्यार्थीको पहिलो रोजाइ नै सिभिल हुने गरेको अनुभव उनको छ। त्यसपछि मात्र आर्किटेक्चर, इलेक्ट्रिकल र एग्रिकल्चर पर्छन्।  

नेपालमा इन्जिनियरिङ विषय त्रिवि, पोखरा, पूर्वाञ्चल र काठमाडौं विश्वविद्यालयअन्तर्गतका कलेज तथा विश्वविद्यालयमा पठनपाठन गराइन्छ। यसमध्ये पनि विद्यार्थीको पहिलो रोजाइ त्रिवि र काठमाडौं विश्वविद्यालयअन्तर्गतका कलेज बन्ने गरेका छन्। त्रिभुवन र काठमाडौं विश्वविद्यालयमा इन्जियिरिङमा भर्ना हुने विद्यार्थीले भौतिक शास्त्र अनिवार्य अध्ययन गरेको हुनुपर्छ भने पोखरा र पूर्वाञ्चल विश्वविद्यालयमा बायोलोजी समूहका विद्यार्थीले समेत भर्ना पाउने व्यवस्था छ।

मेडिकल र इन्जिनियरिङ आर्थिक हिसाबले पनि महँगो र अप्ठ्यारो विषय भएकाले सबैको पहुँचमा यो विषय हुने भन्ने छैन। त्यसैले अधिकांश विद्यार्थी आफ्नो शैक्षिक पृष्ठभूमि बलियो बनाउन माध्यमिक तहमा विज्ञान पढे पनि स्नातकमा संकाय नै परिवर्तन गर्ने गरेको अनुभव इन्टरनेसनल स्कुल अफ टुरिज्म एन्ड होटेल म्यानेजमेन्टकी प्रिन्सिपल सम्झना बस्नेतले सुनाइन्। उनले टुरिजम र होटेल व्यवस्थापनतर्फका विषयहरूले विद्यार्थीलाई व्यावहारिक ज्ञान दिने भएको पनि यो विषय नेपालमा विदेशी र स्वदेशी दुवै विश्वविद्यालयले पढाउन थालेको बताइन्। जुनसुकै संकायका विद्यार्थीले पनि बिबिए अध्ययन गर्न सक्ने व्यवस्थाले पनि बिबिएलाई आकर्षण बनाएको नोबेल कलेजका प्रबन्ध निर्देशक सुरेन्द्र श्रेष्ठ बताउँछन्।  

नोबेल कलेजमा पोखरा विश्वविद्यालयको सम्बन्धनमा व्यवस्थापन र हेल्थ साइन्सका विषयहरू स्नातकमा पठनपाठन हुन्छ। नेपालमा सञ्चालित चारवर्षे बिबिए विद्यार्थी केन्द्रीय बजारको मागअनुसारको विषय डिजाइन गरिएको तिनकुनेमा रहेको इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट (आइएसएमटी) कलेजका प्रशासन प्रमुख वासुदेव अवस्थीले बताए।  

उनका अनुसार बिबिएमा तीन वर्षसम्म बिजनेसका आधारभूत विषयवस्तु पठनपाठन गराइने र चौथो वर्षमा विषय विशिष्टीकरण गरिन्छ। ‘बजारमा जुनसुकै क्षेत्रमा पनि राम्रो म्यानेजर उत्पादन गर्ने बिबिएको लक्ष्य भएकाले पनि यसको माग बजारमा अत्यधिक रहेको छ,’ अवस्थीले भने, ‘बिबिए अध्ययन गरेका जनशक्ति अस्पताल, बैंक, फाइनान्स, मार्केटिङ, ट्राभल र टुरिज्म, उद्योगलगायत जुनसुकै क्षेत्रमा फिट हुने भएकाले आकर्षण बढेको हो।’ उनले थपे, ‘व्यवस्थापनको अर्को विषय होटेल व्यवस्थापन पनि अध्ययन नसकिँदै रोजगारमूलक बन्ने विषय भएकाले विद्यार्थी आकर्षण बढी छ।’ व्यवस्थापन संकायका यी विषय ५–७ लाखसम्ममा पूरा हुन्छ।  

त्रिवि, काठमाडौं, पोखरा, पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतका कलेजले बर्सेनि ८ हजार जनशक्ति उत्पादन गर्छन्। सबै स्वदेश तथा विदेशमा खपत भइरहेका छन्। सर्वसुलभ शुल्क र सहज रूपमा अध्ययन गर्न सकिने भएकाले कक्षा ११ र १२ मा विज्ञान पढेकाले स्नातकमा बिबिए पढ्ने गर्छन्। व्यवस्थापनमा बिबिएपछि ब्याचलर इन होटेल म्यानेजमेन्ट (बिएचएम), बिबिएस, बिबिएम, बिटिटिएम विषयमा समेत आकर्षण छ। मानविकीतर्फ सामाजिक कार्य, मनोविज्ञान, विकास अध्ययनमा बढी आकर्षण छ।  

‘विद्यार्थीले जुन विषय छनोट गरे पनि बुझेर र आफ्नो भविष्य तथा करिअर बन्ने विषय छनोट गर्नु नै उपयुक्त हुन्छ,’ संस्थापक जलानले भने, ‘नेपालमा सर्वसुलभ शुल्कमै विदेशी विश्वविद्यालयहरूको डिग्री पाउने भएकाले अब विद्यार्थीहरू रुचाएको विषय छानिछानी स्वदेशमै अध्ययन गर्न पाउने भएका छन्।’ उनका अनुसार हाल नेपालमा स्वदेशी विश्वविद्यालयहरूका साथै बेलायत, अमेरिका, युरोप तथा मलेसियाका विश्वविद्यालयहरूका सम्बन्धनमा व्यवस्थापन, आइटी र होटेल व्यवस्थापनका कोर्सहरू पठनपाठन गराइन्छ।

प्रकाशित: १ पुस २०७८ ०५:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App