२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

वडाध्यक्षको तलब छात्रवृत्तिमा खर्च

वीरेन्द्रनगर नगरपालिका–३ का वडा अध्यक्ष भूपेन्द्र खत्रीले आफूले पाएको तलब र भत्ताको रकम वडाका गरीब, विपन्न, असहाय र टुहुरा विद्यार्थीहरुलाई छात्रवृत्ति र पोशाकमा खर्च गरेका छन्। आफ्नो वडाभित्र रहेका दुईवटा सामुदायिक विद्यालयका दुई दर्जन बढी विद्यार्थीहरुलाई  वडा अध्यक्ष खत्रीले तलब र भत्ताबापत आएको पैसाले छात्रवृत्ति र पोशाक किनेर वितरण गरेका हुन्।

वडाका हरिडिल भूमि माविमा पाँच लाख र जगन्नाथ देवी प्राविमा तीन लाखको अक्षयकोष स्थापना गरेका छन्। वर्षेनी सोही अक्षयकोषबाट एक हजारका दरले छात्रवृत्ति र विद्यालय पोशाक वितरण गर्ने गरिएको जनाइएको छ।

वडाअध्यक्ष खत्रीले आफूले वडा अध्यक्ष हुँदा प्राप्त गर्ने तलब र भत्ता आफ्नो वडामा रहेका सरकारी विद्यालयमा अध्ययनरत विपन्न, गरीब, असहाय र टुहुरा विद्यार्थीलाई वितरण गर्ने योजनाअनुसार दुई विद्यालयलाई बाँडिएको जानकारी दिए।

सम्पन्न विद्यार्थीहरु निजी विद्यालयमा अध्ययन गर्ने र विपन्न समुदायका छोराछोरी सरकारी विद्यालयमा पढ्न आउने हुँदा उनीहरुलाई शिक्षामा सहज बनाउन आफूले छात्रवृत्ति अक्षय कोष स्थापना गरेको जानकारी दिए। आफूले पाँच वर्षे वडा अध्यक्षको कार्यकालको अन्तिममा आइपुगेको जानकारी दिँदै आगामी दिनमा सरकारी विद्यालयको पूर्वाधार विकासमा क्रियाशील रहने प्रतिवद्धता छात्रवृत्ति वितरण कार्यक्रममा व्यक्त गरे।

जगन्नाथ देवी प्राविका प्रधानाध्यापक मिठु कार्कीले वडा अध्यक्ष खत्रीले आफूले प्राप्त गर्ने तलब भत्ताबाट विपन्न बालबालिकालाई छात्रवृत्ति र पोशाक दिएर विद्यालयमा नियमित गराउन सहयोग पुगेको बताइन्। उनले विगत चार वर्षदेखि सो अक्षयकोषबाट छात्रवृत्ति र पोशाक वितरण गर्ने गरिएको जानकारी दिइन्। छात्रवृत्ति र पोशाक वितरणबाट विद्यार्थीका साथै अभिभावकहरु पनि खुशी भएका छन्।

प्रकाशित: २४ मंसिर २०७८ १२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App