७ वैशाख २०८१ शुक्रबार
शिक्षा

बाढीले बिद्यालय बगर बनाउँदा विद्यार्थीको बिचल्ली

जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित नेत्रज्योति माबि हाँकु बाढीले बगर बनाएपछि विद्यार्थीको बिचल्ली भएको छ। अहिले उनीहरु खुला आकाशमा पठनपाठन गर्न बाध्य छन्। यही कार्तिक १ गते अबिरल वर्षासंगै आएको बाढी विद्यालयमा बसेर विद्यालय नै बगर बनेको छ। विद्यालय कात्तिक ३० गतेदेखि सञ्चालनमा आएको थियो। 

बाढीले विद्यालयको संरचना तहसनहस बनाउँदा केही दिन बन्द भयो। अहिले केही कक्षा खुला चौरमा पाल टाँगेर पठनपाठन गरिएकोछ। केही कक्षा खुला आकाशमै लिने गरिएको छ। विद्यालयमा ६ सय ९४ विद्यार्थी अध्ययनरत छन्। प्रधानाध्यापक जाजल्यराज न्यौपाने बाढीले विद्यालयको सबै सपना ध्वस्त भएको बताउँछन्। उनले भने,‘विद्यालय हरेक हिसाबले अब्बल हुदै थियो। 

जिल्लाकै नमुना विद्यालय बनाउने कार्य चलिरहेको थियो। नमुना विद्यालय बनाउनका लागि चाहिने आवश्यक पुर्वाधार बनिरहेका थिए। उनले भने, ‘विद्यालयमा बाढी पसेर बगर बनाउँदा अहिले सबै सपना चकनाचुर बनेका छन्। विद्यार्थी बिचल्लीमा छन्। अभिभावक छोराछोरी विद्यालय पठाउन डराउँछन्।’

बाढीले विद्यालयका भवनदेखि घेरावार,फर्निचर सबै बगाएको छ। गिडीगंगा नदिमा आएको बाढीले विद्यालय नै बगाएर बगरमा परिणत गरेपछि पठनपाठन निकै प्रभावित भएको स्थानीय देविप्रसाद पाण्डे बताउँछन। उनले विद्यालयको अवस्था हेर्दा पठनपाठन गर्ने कुनै वातावरण नै नभएको बताए। प्रधानाध्यापक न्यौपानेले भने, ‘विद्यालय बगर बन्यो। पठनपाठन सञ्चालन गर्न कठिन छ। बाढीले यहाँका विद्यार्थीको भविष्य खोसेको छ। 

’बाढीले बगाउन नसकेका केही भवनमा तत्काल कक्ष सञ्चालन गर्न सकिने अवस्था छैन। भवनका कोठाभित्र बालुवा थुप्रिएको छ। झयाल ढोका फुटेका छन्। डेक्स बेन्च छैनन्। उनले भने ,‘तत्काल मर्मत प्रक्रिया अघि बढाउन सकेमा ६ कोठामा विद्यार्थीलाई पढाउन सकिने अवस्था छ।  तर विद्यालयको आर्थिक अवस्था नाजुक भएको त्यो पनि संभव छैन।’

सामान्य वर्षा हुने वित्तिकै विद्यार्थी र अभिभावकले विद्यार्थी स्कुल पठाउन सक्ने अवस्था छैन, उनले भने, 'विद्यालयमा आउनको लागि बनाइएको काठेपुल समेत बाढीले बगाएपछि आवतजावतमा समेत समस्या परेको छ।’ नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले विद्यार्थीको पठनपाठनको लागि पाल टाँग्ने देखि विद्यालयमा भएका फोहोरजन्य बस्तु पन्छाउने कार्य गरिरहेको छ। नेपाल रेडक्रसले विद्यालयलाई तत्कालको समस्या समाधान गर्न पाल उपलब्ध गराएको छ।

विद्यालयलाई नमुना विद्यालयका रुपमा अघि बढाउनको लागि कार्यक्रम सुरु भइसकेको थियो। एक करोड ५० लाख रुपैयाँमा दुई पक्की भवन निर्माणाधिन अवस्थामा छन्। यो शैक्षिक शत्रदेखि मोडल विद्यालय बनाउने योजना थियो। डिजिटल विद्यालय बनाउने र जिल्लाकै उत्कृष्ठ विद्यालय बनाउने रफ्तारमा काम भइरहेको थियो,प्रधानाध्यापक न्यौपानेले भने, ‘न विद्यालय नमुना बनाउन सकियो नत बाढी बाट बचाउन सकियो। विद्यालयको सबै योजना नष्ट भए। सुरुदेखि काम प्रारम्भ गर्नुपर्ने भयो।’

विद्यालयमा सिसिक्यामरा राख्ने, हरेक कक्षमा साउण्ड बक्स राख्ने, प्रोजेक्टरका माध्यमबाट अध्ययन गराउने अन्तिम तयारी थियो। आगन्तुक पुस्तिका राख्ने र हरेक व्यक्तिलाई विद्यालयमा प्रवेश गर्दा कार्ड उपलब्ध गराउने, कार्डविहिन व्यक्तिले विद्यालयमा छिर्न नपाउने व्यवस्था हुन लागेको थियो। विद्यालय भित्र बाढी पसेपछि सबै सपना बाढीसंगै बगे प्रधानाध्यापक न्यौपानेले भने, ‘अब यो विद्यालय लाखौँले नबन्ने स्थिती छ। करोडौँ रुपैयाँको जोहो गर्नुपर्नेछ। बाढीले विद्यालय बगाउदा विद्यार्थीले भोगिरहनु परेको समस्या समाधानका लागि स्थानीय, प्रदेश र केन्द्र सरकार गम्भीर भएर लाग्नु पर्ने स्थानीय बताउँछन्।

बाढीले विद्यालयको भवन, घेराबार, खेलकुद मैदान, स्टोर गरेर राखेका डेस्क बेन्च, नयाँ विद्यालय बनाउन राखिएको फर्निचर, सरिया तीन बण्डल, भवन निर्माणकालागि राखिएको काठ, शौचालय,मञ्च सबै बगाएको छ। विद्यालयका अनुसार बाढीले १ करोड ६६ लाख ३५ हजार रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ। उक्त  विद्यालय २०२० सालमा स्थापना भएको थियो।  

विद्यालयले बाढीले बगाएको संरचना मर्मत र निर्माणका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थालाई सहयोगको अपिल गरेको छ। लामो समय कोरोनाले थिलोथिलो बनेको यहाँको शैक्षिक क्षेत्र पछिल्लो समयमा बाढीले बगाएको हो। प्रधानाध्यापक न्यौपानेले थपे, ‘लामो समय कोरोना संक्रमण हुने त्रासले विद्यालय खुलेनन्। कोरोनाको त्रास सामान्य हुदा विद्यालय खुलेको थियो। भर्खर मात्र पठनपाठन लयमा आउदै थियो। फेरी बाढीले प्रभावित बनायो।’ 

विद्यार्थीले तत्काल बाढीले बगाएको विद्यालय पुर्न निर्माण गरी सुरक्षित पुर्वक पठनपाठन गर्न पाउने अधिकार सुनिश्चित गर्न माग गरेका छन्। उनीहरुले विद्यालय क्षेत्रमा बाढी आउन नदिनका लागि तटबन्ध निर्माण गर्न र विद्यालयका भत्किएका र बगेका संरचना निर्माणमा तदारुकता देखाउछन् सबै सरोकारवाला निकायालाई आग्रह गरेका हुन्।  

स्थानीय देविप्रसाद पाण्डे विद्यालयमा जान विद्यार्थी डराउने गरेको बताउँछन्। उनले भने, ‘विद्यालय बगर बनेको छ। संरचना भद्रागोल अवस्थामा छन्। खेलमैदानमा काठ, दाउरा, ढुंगा,बालुवा थुप्रिएको छ। बालबालिकालाई भयरहित हुने संभावना नै छैन।’ जुम्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष बिजयाकुमारी प्रसाईले विद्यालयको अनुगमन गरेर फर्केकी छिन्। उनले विद्यालयको अवस्था पहिलेकै अवस्था फर्काउन सबैको हातेमालो हुन जरुरी रहेको बताइन्।  

उनले भनिन्, ‘विद्यालयमा बाढी पस्नु राम्रो पटक्कै होइन। अब सबै मिलेर बाढीले क्षति गरेको संरचना बनाउनुपर्छ। विद्यालयलाई सुरक्षितरुपमा विद्या आर्जन गर्ने थलोको रुपमा स्थापित गर्नुपर्छ। यो संगै तिला गाउँपालिका ४ को सेतिवाडा माबि र ताम्ती स्थित एक विद्यालमा पनि बाढीले क्षति पुर्‍याएको छ।

प्रकाशित: १० कार्तिक २०७८ ०४:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App