शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तालिम प्राप्त जनशक्ति उत्पादनमा लक्ष्य अनुसार काम गरेर परिणाम निकाल्न आग्रह गरेका छन्।
मन्त्री पौडेलले व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट) को कार्यालय निरीक्षण गर्दै उनले गुणस्तरीय तालिमको पहुँच बढाई सीपयुक्त र रोजगारसँग जोडेर काम गर्न निर्देशन दिएका हुन्। उनले नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम क्षेत्रको सेवा प्रवाहलाई सुदृढ गर्दै जनशक्ति उत्पादनमा अहोरात्र खट्न र गम्भीरतापूर्वक लाग्न आग्रह गरे।
विश्व बैंकको रु छ अर्ब ऋण सहयोगमा सो परियोजनाको दोस्रो चरणको कार्यक्रमले आगामी असार मसान्तसम्ममा एक लाख १५ हजारलाई सीपयुक्त तालिम दिने लक्ष्य लिएको परियोजनाका निर्देशक चन्द्रकान्त भुसालले जानकारी दिए।
यसैबीच मन्त्री पौडेलले इजरायल र नेपालबीचको ६१ औँ मित्रता दिवसका अवसरमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ स्थित राष्ट्रिय शहीद तथा शान्ति पार्कमा वृक्षरोपण गरे।
प्रकाशित: ९ कार्तिक २०७८ १५:१६ मंगलबार