१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

प्रतिमाले निकालिन् एमबिबिएस अध्यययनको लागि पूर्ण छात्रवृत्तिमा नाम

महंगा निजी विद्यालयमा पढ्ने विद्यार्थीले मात्रै चिकित्सा शिक्षा (एमबिबिएस) र इन्जिनियरिङ्ग प्रवेश परीक्षामा नाम निकाल्न सक्छन् भन्ने भनाइलाई ललितपुरको च्यासलस्थित चर्चित सामुदायीक विद्यालय श्रमिक शान्ति माविकी छात्रा प्रतिमा भण्डारीले गलत सावित गरिदिएकी छिन्।

सो विद्यालयमा नर्सरी कक्षादेखि १२ कक्षासम्म अध्ययन गरेकी मेधावी छात्रा प्रतिमाले चिकित्सा शिक्षा आयोगद्वारा गत साउनमा लिएको एमबिबिएस प्रवेश परीक्षामा महिला कोटातर्फ पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने सूचीमा आफ्नो नाम ४२ औं नम्वरमा निकालेकी हुन्।  

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा विशिष्ट (ए प्लस) र सोही विद्यालयमा विज्ञानतर्फ बायोलोजी विषय लिएर पढी कक्षा ११ र १२ को परीक्षामा प्रथम श्रेणी (ए) हासिल गरेकी छात्रा प्रतिमा कक्षागत रुपमा उत्कृष्ट विद्यार्थीको रुपमा रहेकी प्रधानाध्यापक सानुलाल व्यन्जनकारले बताए। काभ्रेको पाँचखालकी स्थायी बासिन्दा प्रतिमालाई विद्यालयले सानै कक्षादेखि ११÷१२ कक्षासम्म पूर्ण छात्रवृत्ति दिएको थियो।

त्यसो त छात्रा प्रतिमामात्र नभई यसअघि सो विद्यालयमा पढेका अन्य दुईजना विद्यार्थीले पनि एमबिबिएस प्रवेश परीक्षाको छात्रवृत्ति कोटामा नाम निकालिसकेका छन् भने इन्जिनियरिङ्ग अध्ययनमा पनि छात्रवृत्ति कोटामै नाम निकालेको प्रधानाध्यापक व्यन्जनकार बताउँछन्।  

एमबिबिएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने सूचीमा आफ्नो नाम निकाल्न सफल छात्रा प्रतिमाको सम्मानमा विद्यालयले बुधबार बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ।  

ललितपुर महानगरपालिका वडा नं ९ का अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु मर्हजनले छात्रा प्रतिमालाई विद्यालयको तर्फबाट नगद ५ हजार ५ रुपैयाँ तथा प्रशंसापत्र प्रदान गरे। यसैगरी प्रधानाध्यापक व्यन्जनकार, सहायक प्रधानाध्यापक पवन कार्की, दश जोड दुई विज्ञान विभाग प्रमुख हेमप्रसाद बुढामगर, माध्यमिक शिक्षिका शान्ति पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य (शिक्षक प्रतिनिधि)उद्धव प्रसाद तिमल्सिनाले छात्रा प्रतिमालाई टिका र खादा लगाएर सम्मान गर्दै बधाई दिए।

श्रमिक शान्ति ललितपुर महानगर क्षेत्रकै उत्कृष्ट सामुदायीक विद्यालयको रुपमा परिचित छ। जसका कारण त्यहाँ अध्ययनको लागि हरेक वर्ष विद्यार्थीको चाप बढ्ने गरेको विद्यालयको दाबी छ। 

प्रकाशित: २१ आश्विन २०७८ ०७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App