१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

बालविकास सहजकर्तालाई उत्साहित बनाउन तालिम

भक्तपुरको चाँगुनारायण नगरपालिकाले बाल विकास सहजकर्ताको मनोबल उच्च बनाउन तालिम दिएको छ। कहिले न्यून पारिश्रमिक, कहिले कक्षाकोठामा आवश्यक शैक्षिक सामग्रीको अभावजस्ता कारण निराश सहजकर्ताहरुलाई तालिममार्फत् उत्साहित बनाउन तीनदिने तालिम दिइएको हो। नगरपालिकाले आफ्नो कार्यक्षेत्रमा रहेका चार सामुदायिक र ३२ संस्थागत बाल विकास केन्द्रमा कार्यरत ३६ सहजकर्ताहरुलाई क्षमता अभिवृद्धि पूनर्ताजगी तालिम दिइएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ।

‘बाल विकास केन्द्रका सहजकर्ताहरु विभिन्न कारणले निराश छन्, उनीहरुलाई उत्साहित बनाउनु जरुरी छ, उनीहरुलाई उत्साहित बनाएमात्र कक्षाकोठामा सिकाइको वातावरण बन्छ र शिक्षाको जग बन्छ’, शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काले भने, ‘ त्यही कारण उनीहरुका लागि तीनदिनको तालिम आयोजना गरेका हौं।’

उनले बाल विकास केन्द्रहरु नै बालबालिकाको शिक्षाको मुख्य आधार भएकाले नगरपालिकाले ती केन्द्रहरुलाई बालमैत्री, सिकारुमैत्री बनाउने काम गरिरहेको जनाए। शिक्षा शाखा प्रमुख खड्काले भने, ‘कक्षाकोठामा सिकाइको वातावरण बनाउने काम भनेको शिक्षक वा सहजकर्ताको हो, उनीहरुलाई तालिम दिएर, सीप सिकाएर उत्साहित बनाउनुपर्छ, त्यसले कक्षाकोठालाई आर्कषक बनाउन सहयोग गर्छ।’ नगरपालिकामा रहेका अधिकांश बाल विकास केन्द्रहरु औसतस्तरका रहेका कारण ती केन्द्रहरुको स्तर वृद्धि गर्न सघाउ पुर्याउनका लागि पनि सो तालिम आयोजना गरिएको उनको भनाइ छ।

उनले नगरपालिकाभित्रका विद्यालयहरु क्रमशः भौतिक उपस्थितिमै सञ्चालन हुन थालेको जानकारी दिँदै कोरोना महामारीको जोखिमबीच सञ्चालनमा आएका विद्यालयहरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन पनि तालिमले सहयोग पुग्ने बताए। उनले तालिमकै बीच सहजकर्ताहरुलाई कोरोनाबीचमा पनि पठनपाठनलाई कसरी अघि बढाउने भन्ने विषयमा कक्षा सञ्चालन भएको जानकारी दिए।

तालिमका सहभागीहरुले बाल विकास केन्द्रको कक्षा व्यवस्थापन, सिकारु व्यवस्थापन तथा बालमैत्री बसाइ व्यवस्थापनबारे सीप हासिल गरेका थिए। नगरपालिकाले बाल विकास केन्द्रको स्तरोन्नतिका लागि वर्षको २ पटक दक्षता अभिवृद्धिको काम गरिरहेको छ।

शिक्षा शाखा प्रमुख खड्काले बाल विकास सहजकर्ताहरुलाई तालिमका साथै नगरपालिकाकै स्रोतमा मासिक रुपमा एकहजार ५ सय रुपैयाँ थप गरी पारिश्रमिक दिँदै आएको जानकारी दिँदै यही आर्थिक वर्षबाट सहजकर्ताहरुलाई सरकारले निर्धारण गरेको तलब दिनका लागि निकाशा गरिसकेको जनाए।

सहजकर्ताहरुलाई मन्टेश्वरी तालिम प्रशिक्षकद्वय लालकुमारी घिसिङ र भावना शाहले अभिमुखीकरण गरेका थिए। तालिमको समापनका अवसरमा सहभागीहरुलाई कक्षाकोठा व्यवस्थापन तथा सजावटका लागि विभिन्न शैक्षिक सामग्री समेत वितरण गरेको नगरपालिकाले जनाएको छ।

प्रकाशित: १९ आश्विन २०७८ ०९:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App