२६ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

‘शिक्षकले अधिकार र कर्तव्यलाई सँगसँगै लिएर जानुपर्छ’

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का राष्ट्रिय अध्यक्ष होमकुमार थापाले संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले आफ्नो अधिकार र कर्तव्यलाई सँगसँगै लिएर जानुपर्ने बताएका छन्। काठमाडौं महानगरपालिका–१७, खुसीबुँस्थित ह्वाइटफिल्ड माध्यमिक विद्यालयमा सोमबार भएको ह्वाइटफिल्ड एकाइ कमिटी पुनर्गठन कार्यक्रममा अध्यक्ष थापाले यस्तो बताएका हुन्।

साथै उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै संस्थागत विद्यालय जानुपर्नेमा जोड दिए। ‘यदि अटेर गरेर कुनै विद्यालय दर्ता हुन चाहँदैनन् भने ती विद्यालयलाई प्रतिवादी बनाएर हामी मुद्दा हाल्नेछौं,’ अध्यक्ष थापाले भने, ‘विद्यालयमा कार्यरत शिक्षकशिक्षिका तथा कर्मचारीलाई काम लगाएर उचित दाम दिनु र उनीहरूको भविष्य सुनिश्चित गर्न सामाजिक सुरक्षा कोषमा दर्ता गराउनु संस्थागत विद्यालयहरूको दायित्व हो ।’

कार्यक्रममा इस्टुका राष्ट्रिय उपाध्यक्ष नारायण पौडेलले पुनर्गठित एकाइ समितिका पदाधिकारीलाई बधाई दिँदै आफ्नो पेसागत हक र अधिकारका लागि संगठित हुनुको विकल्प नरहेकोमा जोड दिए। उनले विद्यार्थीको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिक्षकशिक्षिका आफैं आफ्ना हक र अधिकारबाट वञ्चित हुनु लज्जास्पद भएको बताए। 

उनले भने, ‘सम्पूर्ण विद्यार्थीको नैतिक, शैक्षिक, व्यावहारिक आदि सर्वाङ्गीण विकासमा मार्गदर्शक बनेका शिक्षक तथा कर्मचारीले अन्य सेवासुविधा त परै जाओस् न्यूनतम तलब पनि पाएका छैनन्। यसका लागि सबै संगठित भएर लाग्नुपर्छ ।’

कार्यक्रममा काठमाडौं जिल्ला अध्यक्ष सुरेश भट्ट, काठमाडौं जिल्ला सचिव भूपाल उप्रेती, ह्वाइटफिल्ड एकाइ कमिटी पूर्वअध्यक्ष बबिता प्रधानलगायतले पुनर्गठित कमिटीका पदाधिकारीलाई बधाई दिँदै संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारी एकताबद्ध भई अगाडि बढ्नुपर्ने धारणा राखे ।

उदय तामाङ अध्यक्ष रहेको पुनर्गठित एकाइ कमिटीको उपाध्यक्षमा भगवती प्रधान, सचिवमा समीर कट्टेल, सहसचिवमा सुशील ढुंगाना, कोषाध्यक्षमा सूर्यप्रसाद घिमिरे, सदस्यमा कमला जोशी, सुनिता नापित, सुनिता थापालगायत रहेका छन्। 

नवनियुक्त तामाङले आफ्नो काँधमा महत्वपूर्ण जिम्मेवारी थपिएको हुनाले संस्थामा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई नियुक्ति पत्र, ग्रेड वृद्धि, उपदानलगायत सेवासुविधाका लागि जोड दिने प्रतिबद्धता जनाए ।

प्रकाशित: १९ आश्विन २०७८ ०३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App