८ वैशाख २०८१ शनिबार
शिक्षा

कोभिडको मारमा कर्णालीको प्राविधिक शिक्षा

बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकाका सुन्दिप सुनार कर्णाली प्राविधिक शिक्षालयमा विशेष छात्रवृत्तिमा फरेष्ट्री अध्ययनरत विद्यार्थी हुन्। उनले करिब डेढ वर्षदेखि नियमित पढ्न पाएका छैनन्। दोस्रो वर्षमा प्रवेश गर्नुपर्ने उनी कोरोना महामारीका कारण पहिलो वर्षमै अल्झिएका छन्। ‘कोभिड महामारीले हामीहरूको भविष्यमा ठूलो खलबल ल्यायो,’ उनले भने, ‘पठनपाठन नियमित नहुँदा म जस्तै धेरै विद्यार्थी समस्यामा पार्यौं। ’

सरकारले स्थानीय तहको समन्वयमा विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेपछि कर्णाली प्राविधिक शिक्षालयले विद्यार्थीलाई शिक्षालयमा उपस्थित हुन सूचना प्रकाशन गर्यो। ‘कोभिडले फरेष्ट्री पढ्ने सपना थलियो। गाउँमा अनलाइन चल्दैनथ्यो।

शिक्षकसँग संवाद गरेर पढ्न पाइएन,’ सुन्दिपले भने, ‘एकोहोरो म्यासेन्जरमा आएको नोटको भरमा पढ्दै आएको थिएँ। कोरोनाले शिक्षा क्षेत्र नराम्ररी थलियो। सबैभन्दा बढी हामी प्राविधिक विषय अध्ययनरत विद्यार्थी  मर्कामा छौं। ’ उनले भदौ २४ गते जुम्ला पुगेको बताए। अहिले नियमित कक्षा लिइरहेका छन्।

यस्तै प्रदेश २ सिराह लाहनकी रञ्जु रसाइली पठनपाठन नियमित नहुँदा निकै समस्या भएको बताउँछिन्। उनी पनि विशेष छात्रवृत्तिमा यहाँ फरेष्ट्री अध्ययन गर्छिन्। शिक्षकले म्यासेन्जरमा नोट पठाएको भरमा गरिने पढाइको कुनै अर्थ नभएको उनले बताइन्। ‘कोरोना संक्रमण रोक्नका लागि सरकारले लकडाउन गर्यो। 

निकै दुःख गरेर घरसम्म पुगियो,’ उनले भनिन्, ‘घरमा पुगेर अनलाइन कक्षा लिने भनियो। त्यो प्रभावकारी हुन सकेन। शिक्षकसँग दोहोरो कुराकानी नहुँदा पढाइ प्रभावकारी नभएको हो। ’ उनीभदौ २५ गतेदेखि नियमित शिक्षालयमा जान थालेकी छिन्।

सुन्दिप र रञ्जु मात्रै होइन यहाँ प्रमाणपत्र तह र डिप्लोमा तहका विभिन्न विषयमा अध्ययनरत ७ सय ३३ जना विद्यार्थी अलमलमा छन्। राम्रोसँग पढ्न पाएका छैनन्। अनलाइनमा नोट पाएको भरमा परीक्षामा सामेल हुनुको विकल्प छैन। ‘यो दसैंमा हामी शिक्षालयमै बसेर पढ्न चाहन्छौं,’ रञ्जुले भनिन्, ‘त्यो समय शिक्षालय प्रशासनले मिलाइदिनु पर्यो। 

हामी शिक्षालयमा सुरक्षित बस्छौं। स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्छौं। तर कोभिडले थलिएको पठनपाठन उकास्न चाहन्छौं।’

गत वैशाखदेखि ठप्प भएको कर्णाली प्राविधिक शिक्षालय भदौ तेस्रो सातादेखि खुल्यो। शिक्षालय प्रमुख टेकेन्द्र थापा कोरोनाले विद्यार्थीको पठनपाठन असर पुगेको बताउँछन्। ‘कोभिडको पहिलो लहर र दोस्रो लहर गरेर झण्डै डेढ वर्ष शिक्षालय चल्न सकेन। 

जोखिम उत्तिकै थियो,’ उनले भने। कोरोना कहरमा अनलाइन कक्षा, रेडियो कक्षा जे भने पनि प्रभावकारी हुन सकेन। प्रमुख थापाले थपे, ‘विद्यार्थीको भौतिक उपस्थितीमा हुने पठनपाठन मात्र प्रभावकारी हुनेरहेछ भन्ने सिकाइ भयो। ’ उनले दसैं र तिहारको बीचको समयमा नियमित पठनपाठन गर्न शिक्षकसँग आग्रह गर्ने बताए। 

कर्णाली प्राविधिक शिक्षालयमा डिप्लोमा तर्फ डिप्लोमा इन सिभिल इन्जिनियर, फरेष्ट्री, एग्रीकल्चर र फार्मेसी विषयमा पठनपाठन हुन्छ। अहिले अधिकांश विद्यार्थी शिक्षालयमा नियमित आउने गरेको बताइएको छ।

अहिले सबै शिक्षकले कोरोना खोप लगाइसकेका छन्। दुई/चार जनाले दोस्रो डोज खोप लगाउन बाँकी रहेको बताइएको छ। २५० बढी विद्यार्थीले समेत खोप लगाएका छन्। केही विद्यार्थी घरमै खोप लगाएको कार्ड बोकेर आएका थिए।

यहाँका सबै विद्यार्थीलाई खोप लगाउन पहल भइरहेको शिक्षालयले जनाएको छ। उनले मास्क, सेनिटाइजरको प्रयोग भएपनि भौतिक दूरी कायम गर्न समस्या भएको प्रमुख थापाले बताए। शिक्षकहरू गत साउन १ देखि शिक्षालयमा पुगेका थिए।

शिक्षालय प्रमुख थापाले पहिलो खोप शिक्षक र विद्यार्थीलाई दिएर विद्यालय खुलाउनु पर्ने वातावरण बनाउनु पर्नेमा त्यसो हुन नसकेको भन्दै दुःख व्यक्त गरे। पहिलेको अवस्थामा फर्काउन केही समय लाग्ने देखिएको शिक्षकहरू बताउँछन्। यो वर्ष अनलाइन कक्षमा पढेको आधारमा विद्यार्थी परीक्षामा सामेल हुनुपर्ने अवस्था देखिएको छ। 

प्रकाशित: ६ आश्विन २०७८ ०२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App