१६ चैत्र २०८० शुक्रबार
शिक्षा

भक्तपुरका विद्यालय अब छिटै चल्ने

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नगरभित्रका विद्यालयहरु छिटै नै भौतिक रुपमा सञ्चालन हुने जनाएकी छिन्। लामो समयदेखि बन्द शैक्षिक संस्थाहरु सुरक्षित ढंगले भौतिक रुपमा सञ्चालन गर्ने तयारीमा नगरपालिका जुटिरहेको उनले बताएकी छिन्। तर कहिलेबाट सञ्चालनमा आउँंछ त्यो मिति भने उनले खुलाएनन्।  

राष्ट्रिय बाल दिवसको अवसरमा भक्तपुर नगरपालिका वडा नं. ९ को आयोजनामा मंगलबार भएको प्रवचन कार्यक्रममा उनले बालबालिकाको हक, हित संरक्षण र संवद्र्धन गर्नका लागि तीनै तहका सरकार, अभिभावक, विद्यालय र समग्र समाजको भूमिका अपरिहार्य भएको बताइन्।

आधुनिकता सँगसँगै मौलिकतालाई पनि जोगाउँदै लानुपर्छ भन्ने उद्देश्यले भक्तपुर नगरपालिकाले सबै विद्यालयहरुमा स्थानीय पाठ्यक्रम लागू गर्दै आइरहेको अवगत गराउँदै उनले सामुदायिक विद्यालयको स्तरोन्नति र स्तर वृद्धिमा नगरपालिकाले विशेष ध्यान दिइरहेको छ भनिन्।

उपप्रमुख जोशीले सामाजिक गतिविधिहरुमा बालबालिकाहरुको सक्रिय भूमिकाको आवश्यकता औंल्याउँदै सांस्कृतिक नगर भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्य नगरपालिकाको रहेको बताइन्।

भक्तपुर नगरपालिकाले कोभिड महामारीबीच जनताको सहयोगमा ख्वप अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरी नगरवासीहरुलाई निःशुल्क वितरण पनि गर्दै आइरहेको जानकारी गराइन्।

भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले नयाँनयाँ प्रविधिको प्रयोगले बालबालिकाहरुमा नकारात्मक असर परेकोतर्फ सचेत गराउँदै प्रविधिको सही उपयोग गर्न आग्रह गरे।

कार्यक्रममा ख्वप अस्पतालका डाक्टर बालकृष्ण चाँगुभारीले कोभिडको परिचय, लक्षण र कोभिडबाट बच्ने उपायहरुबारे अवगत गराउँदै कोभिड संक्रमितहरुको पहिचानको लागि ख्वप अस्पतालले शनिबार बाहेक प्रत्येक दिन १ देखि २ बजेसम्म निःशुल्क अन्टिजेन परीक्षणलाई चालु राखेको बताए। भक्तपुर नपाका कार्यपालिका सदस्य छोरीमैंयाँ सुजखुको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा सिद्धि शारदा आधारभूत विद्यालयका प्रअ धनेशराज राजोपाध्याय र बागीश्वेरी माविका प्रअ कृष्णप्रसाद धन्छा र भक्तपुर नपाका शाखा अधिकृत दिपेन्द्र प्रजापतिले पनि स्कुल सञ्चालनबारे आआफ्नो धारणा राखेका थिए।

कार्यक्रममा ९ वडाका विभिन्न विद्यालयका विद्यार्थीहरु प्रकाश रोक्का, निपुन प्रजापति, लोकेश रन्जित, सन्जिला प्रजापति, आस्था गोमान्जु र निश्चल छुकांले बाल दिवस र कोभिड शीर्षकमा कविता वाचन गरेका थिए। साथै सोही अवसरमा बागीश्वरी माविको आयोजनामा भएको विभिन्न प्रतियोगिताका विजयीहरुलाई प्रमुख अतिथि जोशीले पुरस्कार वितरण गरिन्।

प्रकाशित: २९ भाद्र २०७८ १२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App