coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

कोरोना संक्रमणको त्रासबीच पठनपाठन सुचारु गराउँदै स्थानीय तह

कोभिड–१९ को संक्रमणका कारण शैक्षिक–सत्र सुरु भएको चार महिना बित्दासमेत अधिकांश शैक्षिक संस्था ठप्प छन्। लामो समयसम्म पठन–पाठन नहुँदा शैक्षिक क्यालेण्डर प्रभावित भएको छ भने कतिपय विद्यार्थीमा लेखपढ गर्ने बानी नै छुट्न थालेको अभिभावक बताउँछन्।

कोभिड–१९ को कारण भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने अवस्था नहुँदा कतिपय विद्यालयले भर्चुअल कक्षा सञ्चालनको प्रयास गरेका छन्। तर, हरेक ठाउँमा इन्टरनेटको सहज पहुँच नभएका कारण भर्चुअल कक्षाले सीमित विद्यार्थीलाई मात्र समेटेको छ। पछिल्लो समय कोभिड–१९ को संक्रमणदर केही कम हुँदै गएपछि खोटाङका स्थानीय तहले अवरुद्ध पठन–पाठन सुचारु गराउन थालेका छन्।  

जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये खोटेहाङ गाउँपालिकाले पठन–पाठन सुचारु गराएको छ। पछिल्लो समय कोभिड–१९ को संक्रमण दर केही कम हुँदैगएपछि अवरुद्ध पठन–पाठन बिहिबारदेखि सुचारु गराइएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए। ९ वडा रहेको गाउँपालिकाभित्रका ९ मावि, १० आधारभुत र ३० प्राविमा विहान र दिउँसोको सिफ्ट बनाएर पठनपाठन सुचारु गरिएको हो।

शिक्षक संख्या पर्याप्त भएको विद्यालयमा बाल शिक्षा केन्द्रदेखि कक्षादेखि कक्षा ५ सम्मको पठनपाठन विहान ७ बजेदेखि १० बजेसम्म तथा कक्षा ६ देखि कक्षा १० सम्मको पठन–पाठन विहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन सुरु गरिएको छ।  

यस्तै, शिक्षक संख्या र विद्यार्थी संख्या न्यून भएको विद्यालयमा बाल शिक्षा केन्द्रदेखि कक्षा ८ सम्मको पठनपाठन विहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। तर, कक्षा ६ देखि कक्षा ८ तथा कक्षा ९ र कक्षा १० को पठनपाठन भने विद्यालयको अनूकुलमा हप्तामा तीन दिन मात्र सञ्चालन गर्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष राईले बताए।

विद्यार्थी सिकाई निरन्तरताका लागि शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमीबाट प्राप्त पत्र एवं विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७८ को दफा ५ को उपदफा ४ अनुसार गाउँशिक्षा समितिको भदौ ८ गतेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै÷गराउँदै पठन–पाठन सुचारु गर्नका लागि गाउँपालिकामा सिफारिस गरेको थियो। गाउँशिक्षा समितिको सोही सिफारिसलाई भदौ १३ गते बसेको गाउँ कार्यपालिकाको बैठकबाट अनुमोदन गरेर अवरुद्ध पठनपाठनलाई सुचारु गराइएको गाउँपालिकाले जनाएको छ। प्रत्येक बेञ्चमा दुई जनामात्र विद्यार्थी राख्ने र दैनिक दुई वा तीन विषयको मात्र सिकाई सहजीकरण गर्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष राईले बताए।  

गाउँपालिकाले प्रअलाई दैनिक कक्षा निरीक्षण गर्ने, सहजीकरण गरिएका विषयमा अस्पष्टता भए सियूजी वा इन्टरनेटका माध्यमबाट शिक्षक–विद्यार्थीबीचमा अन्तरक्रिया गर्ने, हरेक हप्ता शिक्षक तथा विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने, विद्यार्थीको स्वास्थ्यमा समस्या देखिए तत्काल अभिभावकलाई खबर गर्ने वा अन्य निकायलाई जानकारी दिने, सिकाई सहजीकरणलगायत सियूजी सेवाको प्रयोग र प्रभावकारिता लगायतका विषयमा विव्यस, विद्यालय प्रशासन र अभिभावकबीचमा अन्तरक्रिया गर्ने व्यवस्थाका लागि वडा शिक्षा समितिलाई निर्देशन दिएको छ।

गाउँपालिकाको निर्देशनअनुसार विद्यार्थी सिकाई सहजीकरणका लागि हरेक वडा शिक्षा समितिले भदौ १५ गते बैठक राखेको थियो। वडा शिक्षा समितिको बैठकले गाउँमा कोही बिरामी भएको सूचना विद्यार्थीमार्फत् लिने, कोभिड–१९ को संक्रमणबाट बच्न र बचाउनका लागि विद्यालयमा सचेतता अपनाउने लगायतका निर्णय गरेको जनाएको छ।

खोटेहाङ गाउँपालिकामा ४९ सामुदायिक विद्यालयबाहेक खोटाङ क्याम्पस र सिमपानी क्याम्पस, ४ वटा स्वअध्ययन केन्द्र तथा २ वटा संस्थागत विद्यालय छन्।  

यस्तै, हलेसी तुवाचुङ नगरपालिकाले पाँचवटा माविमा अनलाइन कक्षा सुरु गरेको छ। गत साउन ३१ गतेको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार भदौ पहिलो साताबाट दुर्छिम मावि दुर्छिम, महेन्द्रोद्धय मावि हलेसी, सरस्वती मावि अर्खौले, बुलापन्थे मावि धितुङ र जनता मावि सल्लेमा अनलाईन कक्षा सुरु गरिएको नगर शिक्षा शाखाका संयोजक पदम कार्कीले बताए।

अनलाईन कक्षा सञ्चालन गरिरहेका विद्यालयका ६० प्रतिशत विद्यार्थी अनलाईन कक्षामा समेटिएको दावी गरिएको छ। ती विद्यालयले विद्यार्थीलाई सियूजी सिम वितरण गर्नु अगावै अनलाईन कक्षा सुरु गरेको हो।  

अन्य नगरका विद्यालयलाई अनलाईन कक्षा सञ्चालनबारे तालिम दिइए पनि कक्षा सुरु गर्न भने बाँकी रहेको संयोजक कार्कीले बताए। ११ वडा रहेको नगरपालिकामा १२ वटा मावि, १३ वटा आधारभूत, ६४ वटा प्रावि, ४ वटा संस्थागत र २ वटा सार्वजनिक शैक्षिक गुठी सञ्चालनमा छन्। यस्तै, जन्तेढुंगा गाउँपालिकाले आगामी भदौ २७ गतेदेखि पठन–पाठन सुचारु गराउने तयारी गरेको छ। कोभिड–१९ को संक्रमणदर केही कम भएको निष्कर्षसहित भदौ १७ गते बसेको गाउँ शिक्षा समितिको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

अवरुद्ध पठनपाठन सुचारु गराउनका लागि भदौ २५ गतेभित्र वडाभित्रका विद्यालयका प्रअ, विव्यस र शिक्षक अभिभावक संघसँग छलफल गरी आवश्यक तयारी गर्न सम्पूर्ण वडा कार्यालयलाई पत्राचार गरिएको गाउँपालिकाले जनाएको छ। 

प्रकाशित: १८ भाद्र २०७८ ०८:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App