६ आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

पठनपाठनका लागि विकल्प खोज्दै जुम्लाकोट विद्यालय

जुम्लाको तिला गाउँपालिका ८ मा रहेको देउराली माबि जुम्लाकोटले कोरोना कहरकोबीचमा वैकल्पिक विधिबाट पठनपाठन गर्न घरदैलो गरेको छ। गाउँमा शिक्षकहरु खटिएर अभिभावकलाई रेडियो,अनलाईन,टेलिभिजनबाट हुने शिक्षण सिकाई क्रियाकलापमा संलग्न गराउन आग्रह गरेका हुन्। अहिले विद्यार्थीको भौतिक उपस्थिती गराएर पठनपाठन गर्ने अवस्था छैन, प्रधानाध्यापक रामभजन यादवले भने, ’यो अवस्थामा वैकल्पिक शिक्षण विधिको प्रयोग गर्नुको विकल्प छैन। त्यसैले रेडियो,टेलिभिजन र अनलाइनको पहुँचमा रहेका विद्यार्थीले समय मिलाएर पठनपाठन गराउन अभिभावकलाई सुझाव दिइयो।’

दुरशिक्षा, श्रव्यदृश्य सामाग्री प्रशारण हुने समय तालिका अभिभावक र विद्यार्थीलाई दिइएको छ। रेडियोको पहुँच संग जोडिएका विद्यार्थीले रेडियो सुन्नु पर्ने भयो। टिभीको पहुँचमा रहेका विद्यार्थीले टिभी हेर्नु पर्ने भयो। अनलाइनको पहुँच हुनेले अनलाइनबाट शिक्षण सिकाइ क्रियाकलापमा सहभागि हुनु पर्ने भयो,प्रधानाध्यपक यादवले भने,‘यो सबै विधि र समयका बारेमा अभिभावकलाई जानकारी दियौँ। अभिभावक पनि जिम्मेवारी पुर्ण तरिकाले प्रस्तुत भएका छन्। आशा गरौँ यो विधिबाट विद्यार्थीको शिक्षण सिकाई क्रियाकलाप प्रभावकारी बन्नेछ। ’

कोरोनाले पढाई चौपट भइसक्यो। घरमा पढ्ने वातावरण विद्यार्थीलाई छैन। घरको काममै व्यस्त हुन्छन। गाउँमा भेला गराएर पठनपाठन पनि गर्नुछैन,उनले भने,‘यी बिषयमा अभिभावकलाई सुझाव दिएका छौँ। अभिभावक पनि बालबालिकाको पठनपाठन प्रभावित भएको प्रति चिन्तित छन्। शिक्षकको घरदैलोलाई गम्भीर चासोको रुपमा हेरेका छन्।’

भौतिक उपस्थितीमा शिक्षण सिकाई क्रियाकलाप गर्न नसक्ने अवस्थामा शिक्षण सिकाइ क्रियाकलापलाई कसरी निरन्तरमा दिने भन्ने बिषयमा विद्यालय निकै चिन्तित छ। प्रधानाध्यापक यादवले भने,‘अहिले भौतिक उपस्थितीको विकल्पमा के गर्न सकिन्छ भन्ने बिषयमा पनि विभिन्न विधि अपनाउन थालिएको छ।

उनले शिक्षक पटक पटक घरदैलोमा गएर विद्यार्थीका समस्या बुझ्ने र समस्या समाधानका लागि पहल गर्ने गरिरहेको बताए। हरेक विद्यार्थी र अभिभावकलाई बिषयगत शिक्षकको मोवाइल नम्बर उपलब्ध गरिएको छ। उनीहरुले फोनबाट पनि समस्य राख्न सक्नेछन्। विद्यार्थीले फोन गरेको खण्डमा उनीहरुले चाहेको समय शिक्षकले दिने व्यवस्था मिलाइएको छ। शिक्षकलाई विद्यार्थीले फोन गरेर पढ्न चाहेमा घरको काम छोडेर पनि समय उपलब्ध गराउन निर्देशन गरिएको प्रधानाध्यापक यादव बताउँछन्।

घरदैलोमा पुग्दा अभिभावकले शिक्षकले दिएका सुझाव कार्यन्वयन गर्ने बचन दिएका छन। विद्यालयको कार्यक्षेत्र भित्र पर्ने पुरु गाउँ र जुम्लाकोटको तल,माथिबाडामा शिक्षकले घरदैलो गरेका छन्। शिक्षक घरदैलोमा पुगेर विद्यार्थीको भविष्य माथि चिन्ता व्यक्त गर्न थालेपछि अभिभावक पनि विद्यार्थीलाई वैकल्पिक विधिबाट पठनपाठन गराउन तयार भएका छन्।

कोभिड १९ का कारण स्वास्थ्यको दृष्टिकोणले प्रतिकुल स्थिती सिर्जना भएको छ। विद्यार्थीको भौतिक उपस्थितीमा कक्ष शिक्षण क्रियाकलाप सञ्चालन गर्न सक्ने अवस्था छैन। प्रधानाध्यापक यादवले भने,’‘वैकल्पिक विधिको अवलम्बन गरेर भएपनि शिक्षण सिकाई क्रियालकपलाई प्रभावकारी हिसावले सञ्चालन गर्न शिक्षक लागि परेका छौँ। पटक पटक वैकल्पिक विधिबाट गरिएको शिक्षण सिकाई क्रियाकलापको शिक्षकले अनुगमन समेत गर्नेछन्।

प्रकाशित: ३१ श्रावण २०७८ ०७:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App