७ वैशाख २०८१ शुक्रबार
शिक्षा

अनलाइन शुल्क संरचना प्रकाशनको माग गर्दै इन्जिनियरिङका विद्यार्थी अनसनमा

पैसा नतिरे परीक्षाबाट बन्चित गर्ने कलेज प्रशासनको दबाब

त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन प्राप्त इन्जिनियरिङ कलेजहरुले कोरोना महामारीमा समेत विद्यार्थीसँग सेवा सुविधा नै नदिएको शिर्षकमा शुल्क असुली गर्न थालेपछि त्यसको विरोध गर्दै विद्यार्थीहरु अनसनमा बसेका छन्।  

कोरोना महामारीमा कलेजहरुले विद्यार्थीलाई कुनै पनि किसिमका व्यवहारिक ज्ञान, शैक्षिक भ्रमण, कलेजका उपकरणहरु प्रयोग र कुनै पनि विषयको प्रयोगात्मक क्रियाकलाप नगराएको भएपनि यी शिर्षकहरुमा शुल्क लिएको विद्यार्थीको गुनासो छ। मनोमानी रुपमा कलेजहरुले शुल्क तिर्न विद्यार्थीलाई दबाब दिएपछि देशभरिका त्रिवि अन्तर्गतका इन्जिनियरिङ कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रेको हिमालय कलेज अफ इन्जिनियरिङका विद्यार्थीहरुले बताए। यो कलेजका विद्यार्थीहरु साउन १७ गतेदेखि नै चरणबद्ध आन्दोलन गरिरहेका छन् भने तीन दिनदेखि रिले अनसनमा छन्।  

कलेजहरुले विद्यार्थी तथा अभिभावकलाई दिनहुँ म्याासेज गरेर साउन मसान्तसम्म पूरा रकम तिर्नुपर्ने दबाब दिरहेका छन्। रकम नतिरे भदौं २८ गतेदेखि हुने परीक्षामा बन्चित गरिने चेतावनीसहितको धम्की कलेजले दिँदै आएको विद्यार्थी तथा अभिभावकको गुनासो छ।  

हिमालय कलेज ललितपुमा हाल विद्यार्थीहरु तीन दिनदेखि रिले अनसनमा बसेका छन्। सिभिल इन्जिनियरिङ चौथो वर्षका सातौं सेमेस्टरका विवेक ज्ञवालीले कोरोना कहरका कारण अभिभावकको आर्थिक अवस्था कमजोर भएको समयमा समेत कलेजले सेवा नै नदिएको शिर्षकहरुमा शुल्क तिर्न दबाब दिएपछि आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको बताए।

‘कलेजले हामी विद्यार्थीहरुमाथि प्रहरी लगाएर दमन गर्न खोजेको छ,’ विवेकले भने, ‘हामी विद्यार्थीहरु अनलाइन कक्षामा मात्र सहभागिता जनाएका छौं। तर कलेजले भने शैक्षिक भ्रमण, प्रयाेगात्मक उपकरण प्रयोग गरेको, ल्याब लगाएत विभिन्न शिर्षकमा शुल्क तिर्न दबाब दिइरहेको छ।’ उनले थपे ‘हामीले कलेजसँग अनलाइन शुल्क संरचना सार्वजनिक गर्नुपर्ने, अनलाइन कक्षा संचालनको मात्र शुल्क लिन माग गरेका छौं।’

साउन १७ गतेदेखि देशभरिका इन्जिनियरिङ कलेजका विद्यार्थीहरु निजी कलेजको दादागिरीविरुद्ध आन्दोलनमा उत्रे पनि कलेज प्रशासन र त्रिविले कुनै चासो नदेखाएको आर्जन प्याकुरेलले बताए। आर्जन पनि हिमालय कलेजका सातौं सेमेस्टरका विद्यार्थी हुन्।  

हाल एड्भान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, क्याथफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्याजेजमेन्ट, जनकपुर इन्जिनियरिङ कलेज जनकपुर, कान्तिपुर इन्जिनियरिङ कलेज, नेसनल इन्जिनियरिङ कलेज, काठमाडौं इन्जिनियरिङ कलेज लगाएत त्रिविका सबै सम्बन्धन प्राप्त निजी कलेजका विद्यार्थीहरु कलेजमा तालाबन्दी गरेर कलेजका मनोमानी शुल्क असुलीविरुद्ध आन्दोलनमा उत्रेको एड्भान्स इन्जिनियरिङ कलेजका विद्यार्थी सुदीप न्यौपानेले बताए।  

‘कोरोना महामारीका कारण गत वर्षदेखि नै भौतिक उपस्थितमा पढाइ भएकै छैन। तर हाम्रो एड्भान्स कलेजले भने प्रयोग नगरेको शैक्षिक सामग्री, शैक्षिक भ्रमण र ल्याब शिर्षकको शुल्क लगायत अन्य थुप्रै शिर्षकमा समेत शुल्क तिर्न दबाब दिइरहेका छ,’ सुदीपले गुनासो गरे, ‘भदौं २८ गतेदेखि हाम्रो परीक्षा छ। हामीलाई मानसिक तनाव छ। अर्कोतर्फ हाम्रा अभिभावकलाई कलेजले साउन ३२ गते रकम चुक्ता नगरे परीक्षाबाट बन्चित गर्ने चेतावनी दिइरहेको छ।’ आफ्नो मनोदशा ब्यक्त गर्दै भने, ‘हामी निमुखा विद्यार्थीको पक्षमा बोलिदिने कोही छैन।’

इन्जिनियरिङ अध्ययन संस्थानका डिन शशिधर जोशीले डिन कार्यालयले ०६६ सालमा निजी कलेजहरुको शुल्क तोकेको र सोहि अनुसार कलेजले शुल्क लिए नलिएको अनुगमन गर्ने काम डिन कार्यालयको रहेको जनाए। उनले निजी कलेजले हाल कोरोना महामारीमा अनलाइनबाट पढाइरहेको तर शुल्क भने भौतिक उपस्थितमै सेवा सुविधा लिएको गुनासो विद्यार्थीले गरेको बताए। यस विषयमा डिन कार्यालयले कलेजका संचालक र विद्यार्थीसँग कुरा गरिरहेको समेत जनाए। 

‘निजी कलेजहरुले आफूले दिएको सुविधा अनुसार शुल्क लिने गरेका छन्’, जोशीले भने, ‘यसमा विद्यार्थी र कलेजबीच मात्र सम्बन्ध हुन्छ। हाम्रो खासै भूमिका हुँदैन।’ उनले थपे, ‘तर पनि डिन अभिभावकको भूमिका निभाएर समस्या समाधान गर्न पहल गर्नेछ।’

यता कलेज संचालकहरु भने आफूहरुले कोरोना महामारीमा समेत शिक्षक कर्मचारीलाई पूरै तलब दिनुपर्ने भएकाले विद्यार्थीसँग पूरा शुल्क लिनुपरेको बताउँछन्।  

‘अनलाइन कक्षा भएपनि हामीले शिक्षक, कर्मचारी र घर भाडा पूरै तिर्नु परेको छ। हामीलाई कुनै छुट छैन’,एड्भान्स कलेजका निर्देशक कपिलदेब रेग्मीले भने, ‘अहिले अनलाइन कक्षा संचाल भएपनि पछि हामीले विद्यार्थीलाई भौतिक उपस्थित जस्तै सबै कृयाकलाप गराउने छौं।’ उनले थपे, ‘हाल सबै कलेजहरुमा विद्यार्थी आन्दोलनमा छन्। हामीहरुले कोरोना महामारीको कारण केही छुट दिनेबारे विद्यार्थीसँग छलफल गरिरहेका छौं।’

प्रकाशित: ३० श्रावण २०७८ ०७:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App